चरिकोट अस्पतालमा इमरजेन्सी सेवा पनि बन्द

 आवाज संवाददाता     १३ आश्विन २०७३, बिहीबार

दोलखा, १३ असोज/चरिकोटका अढाई वर्षे बालकको उपचारको क्रममा मृत्यु भएपछि उत्पन्न विवादका कारण प्रस्तावित चरिकोट अस्पतालले दिँदै आएको सबै स्वास्थ्यसेवा आजबाट बन्द गरेको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले हिजो एक विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सबै सेवाहरु बन्द भएको जनाएका थिए । तर आजबाट उनीहरुले आकस्मिक सेवा समेत बन्द गराएका छन् ।
अनुगमनको लागि हिजो आएको सरकारी स्वास्थ्यकर्मी संघको टोलीले प्रस्तावित चरिकोट अस्पतालमा कार्यरत चिकित्सकहरुलाई आन्दोलनको लागि भन्दै आज काठमाडौँ लिएर गएपछि अस्पतालको आकस्मिक सेवा समेत बन्द भएको हो । गत शुक्रवार सो अस्पतालमा भीमेश्वर १० घर भएका अढाई वर्षीय बालक महादेव रिजाललाई पेट दुख्ने समस्या भएपछि उपचारका लागि लगिएकोमा उनको मृत्यु भएको थियो ।
अस्पतालका सबै सेवा बन्द भएपछि जिल्लास्थित राजनीतिक दल, स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य कार्यालय दोलखाबीच स्वास्थ्य संस्था सञ्चालनका विषयमा जिल्ला स्वास्थ्य कार्यालयमा छलफल भइरहेको छ । सोही विषयको बारेमा जानकारी लिन स्वास्थ्य मन्त्रालयको तीन सदस्यीय टोली आज नै चरिकोट आउँदै गरेको बुझिएको छ ।
मृतकका आफन्तले अस्पताल व्यवस्थापन पक्षसँग घटनाबारे यथार्थ स्थिति माग गर्दै सबै स्वास्थ्यकर्मीहरुलाई स्थानीय प्रशासनसमेतको रोहबरमा माफी माग्न लगाएपछि विवाद भएको थियो । मृतकका आफन्तको दवावमा अस्पतालका सबै स्वास्थ्यकर्मी तथा व्यवस्थापकहरुले स्थानीय प्रशासन तथा सुरक्षाकर्मीसमेतका सामु माफी माग्न बाध्य बनाएका थिए । माफी माग्न बाध्य पारिएको भिडियो समेत सामाजिक सञ्चालमार्फत सार्वजनिक भएपछि स्वास्थ्यकर्मीहरु आक्रोसित भई हिजोदेखि आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेका थिए ।
लापरबाहीका कारण बालक रिजालको मृत्यु भएको आफन्तहरुको आरोप छ भने लापरबाहीले मृत्यु नभएको दावी स्वास्थ्यकर्मीहरुको छ ।
स्वास्थ्यकर्मीहरुले उक्त विषयमा आफुहरुको अपमान भएको तथा सुरक्षा प्रत्याभूति नभएको भन्दै हिजो प्रेस विज्ञप्ति प्रकाशित गरी आकस्मिकबाहेकको सेवा बन्द गरेको थिए । उक्त विषयको छानविनको लागि जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेको संयोजकत्वमा एक समिति समेत गठन भएको थियो । छानविन समितिको प्रतिवेदन भने आउन बाँकी छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF