चरिकोट अस्पताल सञ्चालनमा

 आवाज संवाददाता     १६ आश्विन २०७३, आईतवार

 

 

दोलखा, १५ असोज/प्रस्तावित चरिकोट अस्पताल आजवाट सञ्चालनमा आएको छ । चरिकोटका अढाई वर्षे बालकको उपचारको क्रममा मृत्यु भएपछि उत्पन्न विवादका कारण प्रस्तावित चरिकोट अस्पतालले दिँदै आएको सबै स्वास्थ्यसेवा बन्द गरेको थियो ।
गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयवाट आएको छुट्टछुट्टै छानविन टोलीसंग भएको वार्ता पछि अस्पतालले शनिवार विहानवाटै आकश्मिक स्वास्थ्य सेवा सञ्चालन गरेको थियो । अस्पताल सञ्चालनको जिम्मा लिएको न्याय हेल्थ संस्थाले आफुलाई सेवा सञ्चालनमा स्थानीय नागरिक र स्थानीय प्रशासनवाट सहयोग भईरहेको तर सरकारी स्वास्थ्यकर्मी संघले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई काम नगर्न भनेपछि सेवा बन्द गर्नु परेको बताएको थियो ।
अनुगमनको लागि आएको सरकारी स्वास्थ्यकर्मी संघको टोलीले प्रस्तावित चरिकोट अस्पतालमा कार्यरत चिकित्सकहरुलाई आन्दोलनको लागि भन्दै काठमाडौँ लिएर गएपछि अस्पतालको आकस्मिक सेवा समेत बन्द भएको हो । असोज ७ गते शुक्रवार अस्पतालमा भीमेश्वर नपा १० घर भएका अढाई वर्षीय बालक महादेव रिजाललाई पेट दुख्ने समस्या भएपछि उपचारका लागि चरिकोट अस्पताल लगिएकोमा उनको मृत्यु भएको थियो ।
अस्पतालका सबै सेवा बन्द भएपछि गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयवाट आएको घटना छानविनका प्रतिनिधिसंग जिल्लास्थित राजनीतिक दल, स्थानीय प्रशासन, जिल्ला स्वास्थ्य कार्यालय, मृतकका आफन्त, पत्रकार र अस्पताल सञ्चालनको जिम्मा लिएको न्याय हेल्थसंग छलफल भएको थियो । छलफल पश्चात तत्काल अस्पताल सञ्चालन गर्ने सहमति भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF