चरिकोट अस्पतालका सेवा २ हप्तापछि सुचारु

 आवाज संवाददाता     २१ आश्विन २०७३, शुक्रबार

साँढे २ वर्षे बालकको मृत्युपछि उत्पन्न परिस्थितिपछि अबरुद्ध भएको प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र)को २ हप्तापछि सेवा भएको छ । अस्पताल शुक्रबारदेखि ओपीडी सहितको सेवा नियमित भएको हो । व्यवस्थापन पक्ष, स्थानीय प्रशासन र दोलखाका नागरिक समाज पत्रकारहरु छलफलपछि अस्पतालका ओपीडी सेवा पनि सुचारु भएको हो ।
स्थानीय प्रशासनले अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षाको लागि पूर्ण प्रतिबद्धता गरेको थियो । अस्पताल शुक्रबार विहानैदेखि सुचारु भए तापनि विरामीको चाम न्यून छ । सुरक्षाका लागि भन्दै स्थानीय प्रशासनले प्रहरी राखेको छ ।
अस्पताल सञ्चालक न्याय हेल्थका सरकारी समन्वय निर्देशक बुषण प्रसाईले शुक्रबार विहानैदेखि स्वास्थ्यकर्मीहरु ओपीडी सेवामा खटिएको बताए । सबैको चाहना र प्रतिबद्धतापछि अस्पताल सञ्चालनको ढोका खुलेको उनले बताए ।
भीमेश्वर नगरपालिका १० चरिकोटका साँढे २ वर्षे बालक महादेव रिजालको असोज ७ गते उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको थियो । घटनापछि पनि अस्पतालको आकस्मिक सेवा सुचारु भए तापनि असोज १२ गते स्वास्थ्यकर्मीहरुले आफूहरुले माफि मागेको भिडियो सार्वजनिक भएको भन्दै विज्ञप्ती जारी गरेर ३ दिन आकस्मिक सेवा समेत बन्द गराएका थिए । हाल अस्पतालको आकस्मिक सेवा सुचारु भए तापनि विरामीको चाप कमै छ ।
अस्पतालमा पछिल्लो परिस्थितिपछि गृह मन्त्रालयले मध्यामाञ्चल क्षेत्रीय प्रशासकको संयोजकत्वमा बनेको छानविन समितिले समेत विहीबार साँझ गृहमन्त्री समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन मन्त्रालयले सार्वजनिक गरेको छैन । छानविन समितिले प्रतिवेदन बुझाएकाले पनि अस्पतालको सेवा नियमित गर्न सहयोग गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
बालकको मृत्यु हुनुमा पीडित पक्षले डाक्टरको लापारबाहीले मृत्यु भएको दाबी गरेको छ भने अस्पतालले उपचार गर्दागर्दै मृत्यु भएको दाबी गरेका छन् । घटनाको छानविनका लागि स्थानीय प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । अस्पतालमा स्वास्थ्यकर्मीले माफी मागेको भिडियो सार्वजनिक भएपछि स्वास्थ्यकर्मीहरुले असोज १२ देखि ३ दिन आकस्मिक सेवा समेत बन्द गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।