दसैं लक्षित गरी रोल्वालिङ यातायातको १० करोड लगानी

 आवाज संवाददाता     २१ आश्विन २०७३, शुक्रबार

दसैं लक्षित गरी रोल्वालिङ यातायात सहकारी संस्थाले बस र जिप सेवामा १० करोड लगानी गरेको छ । दसैंमा यात्रुको चाप धान्नका लागि १५ वटा नयाँ बस थप गरेको छ भने १० वटा टाटा सुमो सञ्चालमा ल्याएको छ ।
रोल्वालिङले लोकल भाडामै सञ्चालन हुने गरी डिलक्स स्तरीय बस थप गरेको रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । एउटा बस तयार हुन ४५ देखि ५० लाख लागेको छ । त्यसका लागि बसमा मात्र रोल्वालिङ यातायात सहकारीमा आवद्ध व्यवसायीले ७ करोड बढी लगानी गरेका छन् ।
त्यसैगरी यात्रुको माग र आवश्यकतालाई ध्यानमा राखेर दसैंकै सिजनमा १० वटा टाटा सुमो सञ्चालन गरेको उनले बताए । टाटासुमोमा व्यवसायीहरुको साँढे ३ करोड लगानी छ । टाटासुमो तत्कालका लागि १० वटाबाट सेवा सुरु गरे तापनि आवश्यकता अनुसार थप हुँदै जाने बताए ।
देशभर दसैंमा टिकट नपाएको गुनासो आए तापनि आफ्नो काउण्टरमा आएर टिकट काट्नेहरु खाली हात फर्कनु पर्ने अवस्था नभएको बताए । अहिले रोल्वालिङले काठमाण्डौंबाट लामाबगर, बाबरे, सिंगटी, लादुक, गुरुम्फी लापिलाङ, भेड्पू, झुले, जिरी, चरिकोट लगायतका स्थानमा ६० वटा बस सञ्चालनमा छन् । त्यस्तै गरी चरिकोटदेखि बर्दिबाससम्म पनि बस सेवा सञ्चालन गर्दै आएको छ । टाटा सुमो भने काठमाडौंबाट चरिकोटसम्म मात्र सञ्चालन गरेको बताए ।
लामो समयदेखि एक छत्र यातायात सञ्चालन गरेको अरनिको यातायातले पनि काठमाडौंबाट जिल्लाभर बस सेवा सञ्चालन गरेको छ । दसैंका लागि दैनिक ८० वटासम्म बस सञ्चालन भएको समितिले जनाएको छ । दोलखाका लागि मात्र ११ वटा टाटा सुमो सञ्चालनमा छ ।
यातायात ऐन अनुसार डिलक्स सुविधा भएका बसमा सरकारले तोकेको भाडादर भन्दा थप २० प्रतिशतसम्म भाडा लिन पाउने भए तापनि अरनिकोले भने सामान्य बसमा सुपरका नाममा १० वर्षदेखि बढी भाडा असुली रहेको यात्रुहरुको गुनासो छ । अरनिको यातायात सेवा समितिका अध्यक्ष श्याम लामाले आफ्ना सुपर नामका नयाँ बस भएकाले बढी भाडा लिंदै आएको बताए । अरनिकोले दसैंका लागि यात्रुको सेवाका लागि रात्री सेवा समेत सुचारु गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।