पानीजहाज, बयलगाडा र केपी ओली

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार

– रोहित भण्डारी

केही वर्ष अघि केपी शर्मा ओलीले भनेका थिए–नेपालमा गणतन्त्र ल्याउँन खोज्नु भनेको बयलगाडा चढेर अमेरिका पुग्नु सरह हो । उनले असम्भव ठानेको गणतन्त्र नेपालमा आयो । उतिबेला उनले जे कुरालाई असम्भव ठानेका थिए देशले त्यो प्राप्त ग¥यो । हुन त तात्कालिन समयमा आफूले उठाएको बयलगाडा सन्दर्भको गलत ब्याख्या भएको उनले पटक पटक बताएका छन् । तर, उनले जति नै प्रष्टिकरण दिएपनि सर्वसाधारण त्यो सन्दर्भलाई परिमार्जित रुपमा बुझ्न आवश्यक ठान्दैनन् । केपी ओलीले जीवनमा असम्भव देखेको एउटा महत्वपूर्ण सवाल सायद त्यही थियो होला । जुन सम्भव भयो ।
गणतन्त्र त देशमा सम्भव भयो भने अरु के नहोला ? सायद केपी ओली यही सोच्दा हुन् रत भन्दा हुन् – हिन्द र प्रशान्त महासागरमा नेपालको झण्डावाल पानीजहाज, हावाबाट बिजुली, घर घरमा पाइपबाट ग्याँस आदी आदी । केपी ओलीले जे भनिरहेका छन् ती असम्भव होइनन् । तर, उनले जुन समयमा यी अपत्यारिला लाग्ने भनाईहरु सार्वजनिक गरिरहेका छन् यो चाहिँ उपयुक्त समय होइन । हो, भुपरिवेष्ठित मुलुकले ती महासागरहरुमा आफ्नै पानीजहाज सञ्चालन गर्न पाउँछ । गर्ने हो भने हावाबाट बिजुली पनि निकाल्न सकिन्छ र घर घरमा पाइपबाट ग्याँस पनि पु¥याउँन सकिन्छ । तर, त्यसका लागि काम गर्नुपर्छ गफले मात्रै हुँदैन ।
काममा सिन्को नभाँच्ने तर, गुड्डी दिनहुँ हाँक्ने यो शैलीले न हावाबाट बिजुली निस्कन्छ न हिन्द र पशान्त महासागरमा पानीजहाँज नै । हो, केपी ओलीले गर्नै नसकिने योजना सार्वजनिक गरिरहेका छैनन् । उनले न चन्द्रमामा नेपाली बस्ती बसाल्ने कुरा गरेका छन् न त खेतबारीमा हेलिकोप्टरबाट बिऊ छर्ने कुरा नै । तैपनि सर्वसाधारण उनका कुरा किन पत्याइरहेका छैनन् भने उनको ध्याउन्न काममा भन्दा पनि बकम्फुसे योजना सार्वजनिक गर्नमा केन्द्रित छ । प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक गरेका योजनालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने भन्दा पनि त्यो भन्दा अझ अनौठा योजना कसरी सार्वजनिक गर्न सकिन्छ भन्ने सोचाईमा तल्लिन छन् । उनको सम्पूर्ण शक्ति बकम्फुसे योजना निर्माणमा नै केन्द्रित छ । नयाँ काम होइन नयाँ कुरा । उनको मानस्पटलमा नै यही छ अहिले । त्यहीभएर दिनहुँ नयाँ नयाँ गफ सुनिन्छन् ।
देशमा गणतन्त्र आउँनु उतिबेला केपी ओलीलाई जति असम्भव लाग्थ्यो अहिले सर्वसाधारणलाई त्यति नै असम्भव र हावादारी लागिरहेको छ–केपी ओलीबाट हिन्द र प्रशान्त महासागरमा नेपाली पानी जहाँज चलाउँने अनि हावाबाट बिजुली निकालिने कुरा । केही काम गरेर देखाएका भए केपी ओलीले भनेका कुरामा मान्छेले विश्वास गर्थे होलान् । हो, केपी ओलीले बोलेको पु¥याउँछन् भन्थे होलान् । तर, उनले सामान्य काम पनि गर्न सकेनन् । जनता ग्याँस नपाएर कैयन दिन भोकभोकै बसे तर, उनी पाइपबाट घर घरमा ग्याँस भन्ने हावादारी गफमा ब्यस्त भए । एक सिलिण्डर ग्याँसका लागि १० हजार सम्म तिर्नुपरेको तितो यथार्थ जनतासँग छ । तर, प्रधानमन्त्री पाइपबाट चुलैमा ग्याँस पु¥याइदिने गफ दिन्छन् । ग्याँस मात्र होइन हरेक चिजमा कालाबजारीको साम्राज्य खडा भयो । तर, त्यो नियन्त्रण गर्नेतर्फ उनका पहलकदमी फिक्का सावित भए । जनता घण्टौंको लोडसेडिङ भोग्न बाध्य छन । तर, सिंहदरबार छिरेको दिनदेखि एक वर्षमा लोडसेडिङ अन्त्य हुन्छ भन्न थालेका प्रधानमन्त्री ९ महिना बित्न लागिसक्दा पनि उही भाषण दोहो¥याइरहन्छन् । उनलाई हेक्का हुनुपर्ने हो, प्रतिबद्धता अनुसार लोडसेडिङ अन्त्य गर्न अब ३ महिना मात्र बाँकी छ भन्ने कुरा । तर, त्यसमा बाल मतलब । त्यसैले हो, देशमा गणतन्त्र आउला भन्ने कुरामा केपी शर्मा ओलीलाई जति विश्वास थिएन अहिले जनतालाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीबाट भने अनुसारका काम हुन्छन् भन्नेमा विश्वास छ्र्र्रैन । त्यसैले यसो भन्दा फरक पर्दैन– बरु बयलगाडा चढेर अमेरिका पुगिएला तर………..

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।