समृद्धि बहसका दुई धार

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार
– – केशव दाहाल
नेपाली राजनीतिमा समृद्धिको बहस सुरु भएको छ । यो निकै सुखद कुरा हो । यसका दुई खाले प्रवृत्तिहरू छन् । पहिलो प्रवृत्तिको नेतृत्वमा छन्, प्रधानमन्त्री खड्गप्रसाद ओली ।

दोस्रो धारको अगाडि छन्, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई । यी दुईधारका फरक शैली र चिन्तन पद्धति छन् । जनतालाई रोमाञ्चित गर्ने यी दुई प्रवृत्तिका बलिया पक्ष र अवरोधहरू के–के छन्, छलफल आवश्यक देखिन्छ ।

ओलीको उडान
खड्गप्रसाद ओली सपनाको उडानमा छन् । उनीसँग यतिबेला शक्ति छ । त्यहीशक्तिको बेलगाम घोडामा सवार छन्, ओलीका सपनाहरू । ओलीका समर्थकहरू पनि धेरै छन् । उनीहरूसँग सिंगो राज्य छ । नेकपा एमालेको शक्तिशाली संस्थापन छ । यी सबै ओलीका सपनाहरूप्रति तीव्र प्रेमभाव राख्छन् ।

ओली बोल्छन् नै यति सजिलोसँग कि विरोधीहरू पनि रमाउँछन् । तिखो बोली र झर्रो शब्द ओलीका विशेषता हुन् ।

श्रोताहरू ताली बजाउँछन् र ओली हौसिँदै ठोक्छन्, ‘घर—घरमा ग्यासको पाइप, आफ्नै पेट्रोल, प्रशान्त महासागरमा पानीजहाज र पूर्व—पश्चिम रेलगाडी’ । उनका सपनाहरू उनकै मुखबाट सुन्दा निकै आनन्द आउँछ । त्यही आनन्दले हर्षतिरेक हुँदै उनका समर्थकहरू सामाजिक सञ्जालमा लेख्छन्, ‘म ओलीको पक्षमा छु’ ।

ओलीका आलोचकहरू पनि कमजोर छैनन् । उनीहरूका गम्भीर प्रश्न छन्, ‘ओलीका सपनाहरू पुरा हुने आधार के छन्? के समृद्धि स्वौरकल्पना मात्र हो? उनीहरूको कथन छ कि ‘ओलीसँग आधारहरू छैनन् । बरु उनी स्वयं भएका आधारहरू पनि भत्काउदैछन् ।’

आशंका छ, उनको यो स्वप्निल उडान आकस्मिक हो कि उनी जनता भुल्याउन चालबाजी गर्दैछन्? ओलीमाथि आलोचना हुनुका केही कारणहरू छन् । पहिलो,संविधान कार्यान्वयनमा ‘ओली अलमल ।’ हामीसँग नयाँ संविधान छ ।

योसँगै प्रादेशिक सिमानाहरूको असन्तुष्टि छ । मधेसको आन्दोलन छ । अतस् संविधानको कार्यान्वयन र असन्तुष्टिहरूको निराकरण अहिलेको मुख्य राजनीतिक विषय हो । तर दुर्भाग्य हाम्रा प्रधानमन्त्री नत राजनीतिक सहमतिका लागि उदात्त छन्, न सहकार्यका लागि तयार ।

उनमा संविधान कार्यान्वयनको कुनै तदारुकता छैन । दोस्रो, ओलीको एकलकाँटे राष्ट्रवाद । ओली यस्तो राष्ट्रवादलाई प्रोत्साहित गर्छन्, जसले हाम्रो विविधतालाई एकीकृत गर्दैन ।

मधेसी, जनजाति र थारुहरूको पछिल्लो आन्दोलनले राष्ट्रिय एकताको माग गर्छ ।

यो कुरा व्यवहारतस् ओलीले स्वीकार गरेको देखिँदैन । त्यसोत ओलीले आफ्ना दुई छिमेकीहरूसँगको सम्बन्धलाई पनि सन्तुलित गर्न सकेनन् ।

विकासविद्हरूको तर्क छ, ‘विकास र समृद्धिको विज्ञान हुन्छ । समृद्धिका लागि योजनाबद्ध प्रयत्न आवश्यक हुन्छ ।’ यो तथ्यबाट हेर्दा ओलीको बोलीमा नत संगति छ, न विज्ञान । ओली ठूलठूला परियोजनाहरूको सपना त बाँड्दै हिँड्छन् । तर नाकै अगाडिका मसिना तगाराहरू देख्दैनन् ।

सडकका खाल्डाहरू पुर्न नसक्ने सरकारले रेलगाडीको कुरा गर्नु वास्तवमै हास्यास्पद छ । ओली सपनाको घरमा ग्यासका पाइप त जोड्छन्, तर भूकम्प पीडितहरूका चिसा त्रिपालको तथ्यमा बेपर्वाह छन् । जनताका आधारभूत मागहरूलाई नदेख्नु र उडन्ते सपनाको राजनीतिगर्नु ओलीको सबैभन्दा कमजोर पक्ष हो ।

बाबुरामको बहस
डा। बाबुराम भट्टराई अप्ठ्यारा छन् । उनी ओलीजस्तो रमाइलो मान्छे होइनन् । नजिकबाट चिन्नेहरू भन्छन्, ‘उनी न हाँस्न जान्दछन्, नत रमाउन ।’ उनले सदैव राजनीतिको अप्ठ्यारो बाटो रोजे । अक्करको बाटो ।

अहिले उनीसँग पुरानो पार्टी छैन, पद छैन र चलनचल्तीको शक्ति छैन । उनका समर्थकहरू भन्छन्, ‘उनीसँग सपना छ र त्यही सपनाले उनलाई ६२ वर्षमा पनि निदाउन दिएको छैन ।’

भट्टराईका विरोधीहरू भन्छन्, ‘उनी हठी छन् । उनमा बौद्धिक घमन्ड छ । उनी माओवादीका पूर्वनेता हुन् । पुराना दोषहरू नपखाली उनलाई विश्वास गर्न सकिँदैन ।’ यसर्थ भट्टराई अपेक्षा र आशंकाको बीचमा छन् । उनको प्रयत्न भने केही नयाँ गर्नमा केन्द्रित छ । त्यसैले उनले लालझण्डा, लालचिन्तन र लालकमरेडहरूलाई उतै छोडे ।

उनी अहिले वाम–लोकतान्त्रिक पार्टी निर्माणको अभियानमा छन्,जसलाई उनले नेपाली राजनीतिको वैकल्पिक धार भनेका छन् । यद्यपि ओलीको जति सजिलो बाटो भट्टराईसँग छैन ।

किनभने उनी मूलबाटोको नभई अलगधारको रेखांकन गर्दैछन् । आज सडकमा महिलाहरूको आवाज छ । उनीहरू अधिकार मागिरहेका छन् । दलितहरूमाथिको छोइछिटो हटेको छैन । कर्णालीका दुस्खहरू उस्तै छन् । मधेसका मान्छेहरू भन्छन्, ‘हाम्रो अधिकार र पहिचान देऊ ।’ भट्टराई यस्ता प्रश्नहरूमाथि गम्भीर विमर्श गर्न चाहन्छन् ।

उनको भनाइमा ‘समृद्धिको पहिलो सर्त हो, सबैलाई समान पहिचान, अधिकार र एकता ।’ भट्टराई अहिलेकै राजनीति, संगठन र शैलीबाट समृद्धि असम्भव ठान्छन् ।

व्यक्ति दुई, प्रवृत्ति दुई
समृद्धि जादु जस्तो हुँदैन । यसका लागि राजनीतिक व्यवस्थापन, सुशासन र सबल नेतृत्व आवश्यक हुन्छ । समृद्धिका लागि राष्ट्रिय एकता चाहिन्छ । समृद्धि रणनीतिक प्रयत्न हो । यो हावामा महल बनाएजस्तो सजिलो हुँदैन । समृद्धि राजनीतिक अठोट हो । तर यस्ता विषयहरूमाथि ओलीको कुनै लगाव छैन ।

यता भट्टराई समृद्धिको सिद्धान्तमा त सचेत छन्, तर उनको संगठित प्रयत्न भर्खर सुरुहुँदैछ । भट्टराईको विगतको राजनीतिक संलग्नता र जनयुद्धका प्रश्नहरूबाट घेरिएका छन् ।

यी प्रश्हरूको जवाफ उनले कसरी देलान्, समयले बताउँछ ।
राजनीतिक रूपमा ओली र भट्टराईबीच निकैठूलो अन्तर छ । ओली औपचारिक लोकतन्त्र र पुरानो समाजवादको ‘विरोधाभाष’मा छन् ।

भट्टराई आजको लोकतन्त्रलाई पुरानो लोकतन्त्र मान्छन् । उनी समृद्धिकालागि सहभागितामूलक लोकतन्त्र आवश्यक ठान्छन् ।

भट्टराई समृद्ध समाजवादको पक्षमा छन् । यो राज्यनियन्त्रित समाजवाद होइन । ओलीको परम्परागत राष्ट्रियताको विपरीत भट्टराईले मुख्य जातीय ‘क्लष्टर’को एकतासहितको राष्ट्रियताको कुरा उठाएका छन् । सायद ओली र भट्टराईका सपनाहरूलाई विभाजन गर्ने मुख्य तत्त्व यही नै हो ।

समृद्धि सम्भव छ
के समृद्धि सम्भव छ? विश्वअनुभवले भन्छ, समृद्धि सम्भव छ । केही अगाडि चीन बारेको एक प्रसंगमा टाइम पत्रिकाकी हन्ना बिच लेख्छिन्, ‘सन् १९८९ मा चीनको कुल गाहथ्र्य उत्पादन गरिब अफ्रिकी मुलुक गिनी बिसो बराबर थियो ।

आज चीन संसारको पहिलो ठूलो अर्थतन्त्र हो ।’ दोस्रोविश्वयुद्ध सकिँदासम्ममा लिटिल ब्वाइहरूले हिरोसिमा र नागासाकी खरानी बनाएका थिए । तर त्यही खरानीको जगमा बीसवर्षभित्रै जापानले आफ्नो अर्थतन्त्र पुनर्निर्माण गर्‍यो ।

मोहमद महाथिरको मलेसिया केही दशक अगाडिसम्म साम्राज्यवादको हस्तक्षेप, आन्तरिक युद्ध र गरिबीको तीव्र चपेटामा थियो । तर महाथिरको सपनाले २० वर्षमा आकार लियो ।

तिनै महाथिरले २०७० सालको अन्त्यमा काठमाडौंको एक कार्यक्रममा प्रवचन दिँदै भने, ‘राजनीतिक स्थायित्व मूल कुरा हो ।’ स्वराज प्राप्तगरेको २० वर्षमै भारत विश्वको महत्त्वपूर्ण आर्थिक शक्ति बनेको थियो ।

सन् १९६५ पछिको गरिब, कमजोर र परित्यक्त सिंगापुर आज एसियाको शानदार देश बनेको छ । यसर्थ निष्कर्ष बन्छ, समृद्धि सम्भव छ । तर यसकालागि संगठित राजनीतिक प्रयत्न चाहिन्छ । हावादारी कुरागरेर सपनामा रमाउन त सकिन्छ, तर समृद्धि बन्दैन ।

हामी लोकतान्त्रिक मुलुकमा छौं । हाम्रो समृद्धिको सर्त हो, व्यक्तिको आर्थिक स्वतन्त्रता र उसको चलायमान प्रयत्नलाई अनवरत प्रोत्साहन । यसकालागि उत्पादन वृद्धि, समाजिक सुरक्षा र न्यायपूर्ण वितरणमा राज्यको ध्यान जानुपर्छ । हाम्रो सन्दर्भमा समृद्धि विकासको समानुपातिक र समावेशी पद्धति हो ।

अन्यथा घर—घरमा ग्यासको पाइप त आउला, तर कसको घरमा? हामीसँग प्रशान्त महासागरमा पानीजहाज त होला, तर त्यसको के अर्थ यदि हजारौं भूकम्प पीडित पालमै छोडिएभने । ध्यान दिनुपर्ने कुरा हाम्रो समृद्धिको ‘फोकस’ कहाँ हुन्छ? मुख्यतस् छोटो अवधिमै हाम्रो गरिबीलाई १० प्रतिशतमा झार्नुपर्छ । आम्दानीलाई दुईअंकमा बढाउनुपर्छ ।

यसका लागितीव्र रोजगारी सिर्जना, उत्पादन वृद्धि र पूर्वाधारहरूको विकास आधारभूत सर्तहरू हुन् । वार्षिक २ लाख मान्छेहरूलाई गुणस्तरीय रोजगारी दिने परियोजना चाहिन्छ । यसैगरी आयात घटाउने र निर्यात बढाउने उपाय खोज्नुपर्छ ।

अबको ५ वर्षमा ५००० मेगावाट विद्युत उत्पादन, पूर्व—पश्चिम तीनवटा समानान्तर सडक, द्रुतमार्ग, अन्तर्राष्ट्रिय एयरपोर्ट र रेलसेवाले हामीलाई समृद्धिको पूर्वाधार दिन्छ । कृषि उत्पादन र पर्यटनमा राज्यको सहयोग जनताले खोजेका छन् ।

तर यो सबै गर्न अझ धेरै लोकतन्त्र, सुशासन, सबैको एकता र राजनीतिक शुद्धता सर्तहरू हुन् । किनभने सपनाहरू निस्सर्त पुरा हुँदैनन् । राजनीतिले सपनाहरू पुरा गर्ने आधार बनाउनुपर्छ ।

हामीसँग थोरै जनसंख्या छ । अपार प्राकृतिक स्रोत छ । पानी छ । हिमाल छ । पर्यटन छ । मिहेनती जनता र श्रमको सञ्चिती हाम्रो शक्ति हो । तर त्यसको सदुपयोगगर्ने राज्य र राजनीति हामीसँग भएन । यसैकालागि सायद भट्टराईले वैकल्पिक राजनीतिको कुरा गरेका हुन् ।

यस्ता विषयमा ओली महोदय र उनका समर्थकहरू कसरी सोचिरहेका छन् ? समयले उत्तर खोजेको छ ।

साभारः इकान्तिपुर

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।