‘प्रतिक्षालय’मा यसरी भएको थियो प्रचण्ड, मोदी र सी जिनपिङको भेट

 आवाज संवाददाता     १ कार्तिक २०७३, सोमबार

असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गोवामा भएको ‘त्रिपक्षीय भेट’ले काठमाडौंमा निकै बहस चलेको छ । र, यसमा भारतीय विदेश मन्त्रालयसमेत तानिएको छ ।

बि्रक्स सम्मेलनका क्रममा बिमस्टेक देशलाई पनि बोलाएपछि प्रधानमन्त्री प्रचण्ड गोवा पुगेका हुन् । यसक्रममा शनिबार साँझ प्रचण्ड र चिनियाँ राष्ट्रपति सीसँग औपचारिक रुपमा द्वीपक्षीय भेटवार्ता भएको थियो ।

लगत्तै प्रचण्ड, शी र मोदीबीच त्रिपक्षीय भेट भएको खबर आइतबार बिहानै आयो । प्रचण्डका स्वकीय सचिव एवं पुत्र प्रकाश दाहालमार्फत तस्वीरसहित यो समाचार सार्वजनिक भयो ।

नेपालका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच सम्वाद भइरहेका बेला आकस्मिकरुपमा भारतीय प्रधानमन्त्री मोदी प्रवेश गरेको र त्रिपक्षीय सम्वाद भएको प्रचण्ड पुत्रले फेसबुकमा समेत लेखे । त्यसैका आधारमा काठमाडौंमा अहिले बहस चलिरहेको छ ।

कतिपयले भारतलाई साक्षी राखेर चीनसँग वार्ता गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना गरेका छन् । त्यही बहसमा भाग लिँदै एमाले नेता शंकर पोखरेलले समेत मोदीको प्रवेशले द्वीपक्षीय वार्ता अवरुद्ध भयो होला भन्दै फेसबुकबाटै प्रश्न उठाएका छन् ।

तर, आइतबार साँझसम्म आइपुग्दा भारतीय विदेश मन्त्रालयले यसबारे मुख खोलेको छ ।

 भेटबारे के भन्यो भारतीय विदेश मन्त्रालयले ?बि्रक्स सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले प्रचण्ड, मोदी र सीको भेट कसरी भयो भनेर सुनाएका छन् ।

उनका अनुसार यसबारे धेरै प्रश्नहरु आएपछि उनले मोदीसँग यसबारेमा कुरा गरेका थिए ।

प्रवक्ता स्वरुपका अनुसार नेपालका प्रधानमन्त्री प्रचण्ड चिनियाँ राष्ट्रपति सीसँगको भेट सकेर होटल फर्कने तयारीमा थिए । प्रचण्ड र सीको भेट अनौपचारिक डिनरमा जानुपूर्व भएको थियो । र, यो पूर्वनिर्धारित नै थियो ।

भेट सकेर प्रधानमन्त्री प्रचण्ड आफू बसेको होटलमा जाने बेलामा ब्राजिलका राष्ट्रपतिको कारगेट चल्यो, जसले गर्दा प्रचण्ड केहीबेर रोकिए । त्यसपछि उनी ‘लिडर लाउञ्ज’ (नेताहरु आराम गर्ने कक्ष) मा गए । त्यहीँ चिनियाँ राष्ट्रपति पनि बसिरहेका थिए । राष्ट्रपति सी पनि अनौपचारिक डिनरमा जाने कारगेडकै प्रतिक्षामा थिए ।

आइतबार साँझ यसबारे पत्रकारलाई जानकारी दिँदै प्रवक्ता स्वरुपले भने, प्रधानमन्त्री मोदी पनि त्यही हुने नै भए । किनकि सबै नेताहरु त्यहीँबाट डिनरमा जानु थियो ।’

स्वरुपले अगाडि भने,- यो संयोयवश भएको मात्रै हो । एकै समयमा तीनै नेताहरु ‘लिडर लाउञ्ज’मा उपस्थित थिए, नेपाल र चीनको द्वीपक्षीय वार्ता पहिल्यै सकिसकेको थियो । मलाई थाहा छैन, मानिसहरु के आधारमा यसलाई त्रिपक्षीय वा अरु केही वार्ता भनिरहेका छन् !’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले यस्ता बैठकहरुमा नेताहरु ‘लाउञ्ज’मा भेटिनु स्वाभाविक भएको बताए । उनले – ‘भने, हाम्रो नेपाल र चीन दुबैसँग राम्रो सम्वन्ध छ, तीन नेता एक ठाउँमा हुँदा अलिअलि कुराकानी हुनु सामान्य हो ।’

वेइटिङ रुममै भेट भएको होः परराष्ट्रमन्त्री

गोवामा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले पनि चिनियाँ राष्ट्रपति सीसँगको भेटपछि फर्कन पर्खँदै गर्दा शी र मोदी ‘वेइटिङ रुम’मा आएको र संयोगले भेट भएको बताएका छन् । बीबीसी नेपाली सेवासँगको कुराकानीमा उनले भने, कुनै भेट्ने कार्यक्रम अन्तरगत नभएर संयोग मिलेको हो । यसरी छलफल गर्ने थप मौका मिल्नु राम्रो कुरा हो ।’

दुई ठूला छिमेकी देशका सर्वोच्च नेताहरुसँगै एकै पटक भएको भेट र कुराकानी राम्रो भएको बताए । नेपालले चीन र भारतसँग कनेक्टिभिटी चाहेको भन्दै उनले यसले त्रिदेशीय सहकार्यमा पुग्ने बताए ।
तर, प्रधानमन्त्री प्रचण्डको आधिकारिक वेवसाइटले भने यसलाई ‘त्रिपक्षीय वार्ता’ र निकै ठूलो उपलब्धि भनेको छ । र, प्रचण्डले भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई त्रिदेशीय साझेदारीबारे स्मरण गराएको उल्लेख छ । साथै त्रिदेशीय रणनीतिक साझेदारीमा भारत र चीन दुबै देश सहमत भएको समेत प्रचण्डलाई उधृत गर्दै बताइएको छ ।

अनलाइनखबरबाट

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।