लोकमानको घरमा सर्वोच्चलाई म्याद टाँस्न दिइएन

 आवाज संवाददाता     १ कार्तिक २०७३, सोमबार

काठमाडौं, कात्तिक १

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई त्यहाँ उपस्थित करिब १ दर्जन युवाहरूको समूहले म्याद टाँस्न दिएन। सोमबार पुरानो बानेश्वरस्थित उनको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका दुई तामेलदार म्याद नटाँसी फर्किएका छन्।

कार्कीको घरमा बस्ने एकजनाले सो घर स्यामसुङ कम्पनीले भाडामा लिएकाले त्यहाँ म्याद टाँस्न नदिने अडान लिए। म्याद टाँस्न तामेलदारहरू लोकमानको घर पुग्दा त्यहाँ करिब एक दर्जन युवा भेला भएका थिए। उनीहरूले म्याद टाँस्ने भए लोकमानकै कार्यालयमा गएर टाँस्नु भन्दै तामेलदारहरूलाई निरुत्साहित गरेका थिए।

म्याद टाँस्न  असपफल भएपछि वडा सचिवको सहयोग लिन  वडा कार्यालय गएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै अदालतमा दर्ता भएको पुरानो मुद्धाको पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीलाई अदालतमा उपस्थित हुन म्याद टाँस्न लागिएको हो।

अख्तियार प्रमुख कार्की देशबाहिर रहेकाले अदालतमा उपस्थितिका लागि उनको पुरानो बानेश्वरमा रहेको घरमा म्याद टाँस्न सर्वोच्चले तामेलदारलाई खटाएको थियो।

अधिवक्ता ओममप्रकाश अर्यालले दायर गरेको कार्कीविरुद्धको मुद्धा सर्वोच्च अदालतले पहिले खारेज गरेको थियो।  एक महिनाअघि प्रधानन्यायाधीश सुशिला कार्कीसहितको इजलाशले लोकमानको मुद्धा पुनरावलोकन गर्ने निर्णय गरेको थियो।
पुनरावलोकनको निर्णयलगत्तै अख्तियार प्रमुख कार्की आफ्नो पूर्वनिर्धारित भ्रमणमा क्यानडा गएका थिए। सरकारी भ्रमण सकिएपछि उनी विदा लिएर पछिल्लो एक महिनादेखि क्यानडामै बसिरहेका छन्।

उनको घरमा म्याद टाँस्ने सर्वोच्चको प्रयास बारम्बार असफल हुँदै आएको छ। यसअघि म्याद टाँस्न सर्वोच्चले पठाएका तामेलदार म्याद नटाँसी दुई हप्तासम्म सर्वोच्चको सम्पर्कबाहिर बसेपछि अदालतले सोमबार अर्का दुई तामेलदारलाई म्याद टाँस्न पठाएको थियो।

सेताेपाटीमा शाेभा शर्माले लेखेकी छन् 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।