जलविद्युतमा जिरेलहरूद्वारा ४९ प्रतिशत सेयर माग

 आवाज संवाददाता     १ कार्तिक २०७३, सोमबार

निर्माणाधिन जलविद्युत आयोजनामा स्थानीयले ४९ प्रतिशतसम्म सेयर माग गरेका छन् । जिरी बजार नजिक निर्माणाधीन ६ सय किलोवाट क्षमताको द्रोणञ्चल लघु जलविद्युत आयोजनामा स्थानीयले यति धेरै सेयर माग गर्दै जिल्ला प्रशासन लगायतका निकाय गुहारेका हुन् ।
जिरी नगरपालिका ५ र ६ का २४ जना जिरेलहरुले हस्ताक्षर गरी आइएलओ १६९ अनुसार आफूहरुलाई सेयर सहितको क्षतिपूर्ती आयोजनाले उपलब्ध गराउनु पर्ने माग गरे । स्थानीयको तर्फबाट अगुवा गण जिरेलले आयोजनासँग विगतमा गरेको सम्झौता अनुसार आफूहरुले सेयर माग गरेको बताए । उनले ४९ प्रतिशत सेयरलाई सय प्रतिशत मानि ६० प्रतिशत लगानी सेयर, २० प्रतिशत फ्रि सेयर र २० प्रतिशत संस्थागत सेयर आयोजना आफैं धितो जमानीमा दिनुपर्ने माग छ ।
माग पत्रमा १० लाखको छुट्टै कोष बनाउनु पर्ने वर्षेनी ५ जनालाई प्राविधिक उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिनुपर्ने लगायतका माग छन् । उनीहरुले आयोजना क्षेत्रभित्रका ५ सय मिटर आसपासको जग्गाको समेत मुआव्जा माग गरेका छन् । स्थानीय गण जिरेलले आफ्ना माग विपरित आयोजना पक्षले जबरजस्ती गरेको आरोप समेत लगाए ।
आयोजना प्रबद्र्धक द्रोणाञ्चल हाइड्रोपावर कम्पनीका निर्देशक कमल साहले आयोजनालाई आवश्यक जग्गा उचित मुआव्जा तिरेर आयोजना बनाएको बताए । स्थानीय धेरैले आयोजनाको पक्षमा सहयोग गरे तापनि केही व्यक्तिले आयोजनालाई मागि खाने भाँडो बनाएको आरोप लगाए ।
जिरीको लिंकन बजार नजिकै निर्माणाधिन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना तिहार अगाडी नै उत्पादन सुरु गर्ने तयारी भएको निर्देशक साहले जानकारी दिए । जिरी बजारभन्दा माथि निर्माण भएको आयोजनाको उत्पादित विद्युत १ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको सव स्टेशनमा जोड्ने छ । आयोजनामा १२ करोड खर्च भएको छ । जर्मन नागरिक अर्मिन मियरको लगानी रहेको आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको ५० प्रतिशत ऋण लगानी छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।