ट्राफिक कारबाहीमा ३ महिनामा ८ लाख ७२ हजार

 आवाज संवाददाता     २ कार्तिक २०७३, मंगलवार

दसैं लागेपछि ट्राफिक प्रहरीले सवारी चेक जाँच कडा बनाउँदा ट्राफिक नियम उलंघन गर्नेहरुबाट दैनिक औसत ४५ हजार राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले दसैंयता घटस्थापनाको दिनदेखि नै सबैतिर ट्राफिक प्रहरी परिचालन गरेको हो ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाएको, कागजपत्र नभएको, सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक अनुमति पत्र नभएका जस्ता विषयमा कारबाही गरेको हो । ट्राफिक चेक जाँच कडा हुँदै गएपछि छतमा यात्रु राखेर यात्रा गराउने करिब अन्य हुँदै गएको छ ।
ट्राफिक प्रहरीले असोज महिनामा मात्र ४ सय १९ वटा सवारीलाई कारबाही गरी ३ लाख ३९ हजार राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख नयन भण्डारीले जानकारी दिए । घटस्थापना यता कोजाग्रत पूर्णिमासम्म दैनिक ४० देखि ६० हजारसम्म राजश्व संकलन भएको छ । यो रकम दोलखाको ट्राफिक प्रहरीले संकलन गरेको मासिक राजश्व हालसम्मकै बढी रहेको उनले बताए ।
ट्राफिक प्रहरीको लगातारको निगरानीका कारण यात्रुको चाप बढी हुने दसैंको समयमा समेत विगतको तुलनामा सवारी दुर्घटना अत्यन्तै न्यून रहेको उनले दाबी गरे । दसैंमा ३ वटा सवारी दुर्घटनामा ७ जना घाइते भएको उनले बताए । जबकी विगतका दसैंतिहारको समयमा दर्जन बढी सवारी दुर्घटनामा धेरै जना यात्रुहरुले ज्यान समेत गुमाउनु परेको थियो ।
त्यसैगरी ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउन महिनामा ३ सय २४ सवारी कारबाहीबाट २ लाख २१ हजार ५ सय राजश्व असुल भएको छ । भदौ महिनामा ४ सय ७ वटा सवारी कारबाहीमा पर्दा ३ लाख ११ हजार ५ सय राजश्व संकलन भएको छ ।
यसरी चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ८ लाख ७२ हजार ट्राफिक राजश्व संकलन भएको छ । जुन रकम आर्थिक वर्ष २०७०÷०७१ को वर्षभरीको जम्मा राजश्वभन्दा पनि बढी हो । ट्राफिक प्रहरीले आ.व ०७०÷७१ मा ७ लाख ५१ हजार ८ सय राजश्व संकलन भएको थियो । आ.व. २०७१÷०७२ मा १४ लाख ३० हजार ९ सय राजश्व संकलन भएको थियो भने २०७२÷०७३ मा १७ लाख १६ हजार राजश्व संकलन भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।