सुनखानीमा जीप दुर्घटना हुँदा ८ घाइते

 आवाज संवाददाता     ३ कार्तिक २०७३, बुधबार

सुनखानीमा जीप (बोलेरो गाडी) दुर्घटना हुँदा चालक सहित ८ जना घाईते भएका छन् । दुर्घटनामा परी गम्भिर घाइते भएका ३ जनाको चरिकोटको अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ । गम्भिर घाइते हुनेहरुमा बाबरे ६ का ३० बर्षिय  भास्कर पाण्डे, सोही स्थानका बर्ष ३५ का बाणसुर पाण्डे र जीप चालक नाम्दू ७ का कृष्णप्रसाद घिमिरे रहेका छन् ।

दोलखाको बाबरेबाट चरीकोट आउदै गरेको बा १५ च १०१३ नम्वरको जीप सुनखानी २ मिलडाँडा नजिकै दुर्घटनामा परी सडकभन्दा २५ फिट तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख नयनबहादुर भण्डारीले जानकारी दिए । गाडीमा १५ जनाभन्दा बढी यात्रु रहेको स्थानीयले बताए ।  सामान्य घाइते भएका अन्य यात्रुहरुभने उपचारपछि घर फर्किएका छन् ।
निजी गाडीलाई भाडामा यात्रु नबोक्न कडाइ गरे तापनि ग्रामीण क्षेत्रमा प्रहरीको आँखा छलेर भाडामा क्षमताभन्दा बढी यात्रु बोकी रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।