मिस नेपाललाई गृह जिल्लामा सम्मान

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार
यस वर्षकी मिस नेपाल अश्मी श्रेष्ठ बिहीबार गृहजिल्ला आएसँगै सम्मान थाप्न व्यस्त छिन् । शुक्रबार रत्ननगर नगरपालिकासहित रत्ननगर र सौराहामा रहेका लायन्स, जेसिज, लियो, रोट्राक्ट, रेवान, ह्यान लगायत झन्डै साढे दुई दर्जन संघसंस्थाले संयुक्त रूपमा उनलाई सम्मान गरे ।

रत्ननगर नगरपालिका २ स्थित सिनेमा हल रोडमा घर भएकी उनी बुवा चिरनकुमार, आमा ज्योति र भाइ अस्करको साथमा आएकी थिइन् । ‘प्रत्येक दसैंमा चितवन आउने गर्थें,’ उनले कान्तिपुरसँग भनिन्, ‘अहिले मिस नेपाल भएर आउँदा सबैतिरबाट माया पाएँ, मेरै नाममा कार्यक्रम गर्दा धेरै खुसी छु ।’ उनलाई घरबाट गाडीमा राखेर सम्मान गर्ने स्थान होटल गंगोत्री हाइवेसम्म पुर्‍याइएको थियो । ठूलो कार्यक्रम गरी सम्मान गर्दा मन छोएको उनले बताइन् ।

‘चितवन म जन्मेहुर्केको जिल्ला हो,’ उनले भनिन्, ‘यो जिल्ला प्रशस्त पर्यटकीय सम्भावना भएको जिल्ला हो, चितवन र समग्र देशको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्नसमेत सहयोग गर्नेछु ।’ चितवनमा जन्मन पाउँदा गौरव महसुस गरेको उनले सुनाइन् । त्यस्तै उनी शनिबार रत्ननगर उद्योग वाणिज्य संघबाट सम्मानित भएकी छन् । मिस नेपाल बनेर जिल्लाको शिर उचो पार्ने काम गरेको भन्दै उनलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको संघका महासचिव देवेन्द्रकुमार श्रेष्ठले बताए ।

रत्ननगर– १० स्थित मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रमा पुग्दा भने उनी आश्चर्य चकित बनिन् । त्यहाँ रहेका चेपाङ बालबालिकाले उनको ध्यान खिच्यो । ‘टाँडीबाट १५ किलोमिटरको दूरीमा चेपाङ बालबालिका राखेर पढाइएको रहेछ,’ उनले भनिन्, ‘उनीहरूको गीत सुनें, मन छोयो, आउने दिनमा केही सहयोग गर्ने सोच बनाएको छु ।’ उनले १ सय ५० जना चेपाङ बालबालिका ल्याएर पढाउने केन्द्रका अध्यक्ष केपी किरण शर्माको प्रशंसा गरिन् । उक्त अवसरमा बालबालिकालाई बिस्कुट र चकलेट दिएर उनले मन जितिन् ।

काठमाडौं बानेश्वर बस्ने २२ वर्षीया अश्मीले बीबीए सकिन् । कक्षा ८ पढेर थप अध्ययनका लागि काठमाडौं पुगेकी थिइन् । ‘मैले मेरो जिल्लालाई माया मारेको छैन,’ उनले भनिन्, ‘सधंै माया गरिरहने छु ।’ उनले अघिपछि समय मिल्दा वर्षमा २/३ पटकसम्म आउने गरेको बताइन् । भनिन्, ‘अब सबै मिलेर प्राकृतिक सुन्दरताले भरिपूर्ण हाम्रो देशको पर्यटन प्रवद्र्धन गर्न जुट्नुपर्छ ।’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।