लोकमानविरुद्धको महाअभियोगले आज संसदमा प्रवेश पाउने

 आवाज संवाददाता     ७ कार्तिक २०७३, आईतवार

७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले आज व्यवस्थापिका संसदमा प्रवेश पाउने भएको छ ।

संसदको बैठक विहान ११ बजे बोलाइएको छ । र, आजको बैठकमा महाअभियोग प्रस्तावले प्रवेश पाउने संसद सचिवालय स्रोतले बताएको छ । आजको बैठकमा सभामुख ओनसरी घर्ती मगरले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने कार्यसूची छ ।

यसअघि बिहीबारकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने योजना थियो । तर, प्रमुख दलहरुले छलफलका लागि समय भागेको भन्दै संसद बैठक स्थगित गरिएको थियो ।

संसद सचिवालयका अधिकारीहरुका अनुसार सभामुखले भोलि/पर्सीबाटै छलफल गराउन सक्नेछिन् ।

प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि महाअभियोग सिफारिस समितिमा पठाइनेछ, जुन हालै गठन भएको छ ।

यो समितिले अख्तियार प्रमुख कार्कीसँग बयान लिनुका साथै उनलाई आफूलाई निर्दोष सावित गर्ने मौका दिनेछ । यो समितिले अध्ययन पश्चात महाअभियोग लगाउन उपयुक्त भएको रायसहितको प्रतिवेदन दिएपछि संसदमा प्रस्तुत हुन्छ र दुई तिहाईले पास भए कार्की स्वतः पदमुक्त हुन्छन् ।

सत्तारुढ माओवादी र प्रमुख विपक्षी एमालेका १५७ सांसदले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने यसबारे धारणा बनाइसकेको छैन । उसको केन्द्रीय समिति बैठकमा युवा नेताहरुले महाअभियोग प्रस्तावको पक्षमा उभिन नेतृत्वलाई दबाव दिएका छन् ।

तर, कुनै निर्णय नगरी सोमबारसम्मका लागि बैठक स्थगित गरिएको छ । कांग्रेसको नेतृत्वले अख्तियार प्रमुख कार्कीलाई राजीनामा गराउने मध्यमार्गी विकल्पबारे समेत छलफल गरेका छन् ।  माओवादीले यसबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई दिएको छ ।

एमालेले संस्थागत निर्णय नगरेपनि महाअभियोगको पक्षमा उभिएको छ । मधेस केन्द्रीय दलहरुले भने यसलाई संविधान संशोधनको आफ्नो मागलाई ओझेलमा पर्ने प्रयासका रुपमा हेरेका छन् ।

अनलाइनखबरमा समाचार छ

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।