शाहरुखलाई अर्को सकस, रिलिज नहुँदै संकटमा फिल्म

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार
दिलवाले’ र ‘फ्यान’ लगातार दुई फिल्मको असफलता भोगेका सुपरस्टार शाहरुख खान आफ्नो प्रदर्शनमै नआएको फिल्मका कारण कानुनी झमेलामा फँसेका छन् ।

फिल्मको असफलतापछि रामगोपाल वर्माजस्ता असफल निर्देशकको समेत उपदेश सुनिरहेका शाहरुख खानले निर्माण गरेको नयाँ फिल्म ‘रइस’ले उनलाई कानुनी झमेलामा पारेको हो । फिल्मको कथा आफ्ना पिताको कथाका आधारित भएको र यसले उनलाई गलत देखाउन खोजेको भन्दै कुनै जमानामा गुजरातमा कुख्यात भएका ग्याङ्स्टर अब्दुल लतिफका छोरा मुस्ताक अहमदले अहमदावाद अदालतमा मुद्दा दिएका हुन् ।

उनको मुद्दामा अदालतले शाहरुखको निर्माण कम्पनी रेड चिल्ली लगायतलाई जवाफ दिनु भन्दै नोटिस पठाएको छ । निवेदनमा मुस्ताकले फिल्मको प्रदर्शनमा रोक लगाउन पनि माग गरेका छन् ।

असीको दसकमा दाउद इब्राहिमको संरक्षणमा गुजारतमा अवैध रक्सी कारोबार गरेर स्थापित भएका अब्दुलको जीवनमाथि ‘रइस’ आधारित रहेको बताइएको छ । राहुल ढोलकियाले निर्देशन गरेको फिल्ममा शाहरुखका अलावा नवाजुद्दिन सिद्दिकी र माइरा खानले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।