‘खेलको माध्यमबाट पर्यटन विकास गर्नुपर्छ’ – राखेप सदस्य बस्नेत

 आवाज संवाददाता     ९ कार्तिक २०७३, मंगलवार

दोलखा (जिरी), कात्तिक ९ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य शिवबहादुर बस्नेतले खेलको विकाससँगै खेलको माध्यमबाट पर्यटन विकास गर्नुपर्ने धारण ब्यक्त गरेका छन् ।
दोलखाको पर्यटकीय नगरी जिरीमा सञ्चालित जिरी च्याम्पियनसिप २०७३ को उद्घाटन समारोहमा  बोल्दै दोलखाको जिरी पर्यटकीय क्षेत्र भएको र जिल्लाको पर्यटन विकासमा अब खेलकुदको माध्यमबाट पर्यटकहरु भित्र्याउनुपर्ने बताएका हुन् ।
युवा सञ्जाल जिरीले आयोजना गरेको दोलखा रामेछाप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा राखेप सदस्य बस्नेतले खेलाडीहरु भनेको ठूलो युवा शक्ति भएको र युवाहरुमा देशलाई चिनाउने ताकत भएको कारण पछिल्लो समय नेपालले पनि खेलकुद जगतमा आफ्नो देशको नाम चम्काउन थालेको उल्लेख गरे । खेलाडीहरुमा अनुशासन, सहनशीलता र नेतृत्व विकासको क्षमता हुने भएकोले समाजलाई सकारात्मक परिवर्तन गर्न समेत खेलाडीहरुको भूमिका रहने उनले बताए ।
आजबाट सुरु भएको दोलखा रामेछाप खुल्ला पुरुष भलिबल प्रतियोगिता कात्तिक १३ गतेसम्म सञ्चालन हुने छ । ४ वर्षदेखि जिरीमा भलिबल खेल प्रतियोगित हुन सकेको थिएन । दोलखाको जिरीमा आयोजित सबैभन्दा ठूलो धनराशी पुरस्कार रहेको यो पहिलो प्रतियोगिता हो । खेलमा प्रथम हुने टिमलाई ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने क्रमश ः दोश्रो र तेश्रो हुने टिमलाई ३५ हजार र २० हजार रुपैयाँ नगदको साथमा शिल्ड, मेडल, र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा दोलखा र रामेछापका विभिन्न क्षेत्रबाट ११ समूहले सहभागी जनाएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।