बाबुरामले चीनबाटै प्रचण्डलाई सोधे- देश कंगाल बनाएर के को बिदा ?

 आवाज संवाददाता     १२ कार्तिक २०७३, शुक्रबार

चीन भ्रमणमा रहेका नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रचण्ड नेतृत्वको सरकारले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका दिन सार्वजनिक विदा दिन गरेको निर्णयको विरोध गरेका छन् ।

उनले ट्वीटरमार्फत् पाहुनाको सत्कार गर्नुपर्ने तर विदा गरेर, काम छोडेर र देशलाई अरुकंगाल बनाएर बिदा दिनु नहुने तर्क गरेका हुन् ।  बिहीबार मन्त्रिपरिषद्ले गरेको निर्णयको विरोध गर्दै उनले भिक्षापात्र थापेर मात्र असल मित्र खुसी नहुने तर्क गरेका छन् ।

भट्टराईले ट्वीटमा लेखेका छन्, ‘विदेशी पाहुनाको सत्कार हुनुपर्छ तर विदा गरेर, काम छोडेर, देशलाई अरुकंगाल पारेर, भिक्षापात्र थापेर हाम्रा सच्चामित्रहरु खुशी हुनुहोला र ? सोचौं है !’

विदेशीपाहुनाको सत्कार हुनुपर्छ!तर विदा गरेर/काम छोडेर/देशलाई अरूकंगाल पारेर/भिक्षापात्र थापेर हाम्रा सच्चामित्रहरू खुशी हुनुहोला र?सोचौं है!

बैठकले चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

भारतीय राष्ट्रपति मुखर्जी नेपालको औपचारिक भ्रमणमा आगामी कात्तिक १७ गते आउँदैछन् भने चिनियाँ राष्ट्रपति जिन पिङको नेपाल भ्रमणको मिति भने अझै तय भएको छैन । सरकारले चिनियाँ राष्ट्रपति आउने मिति नतोकिए पनि सार्वजनिक विदा घोषणा गरिसकेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF