दोलखालाई ९ पालिका बनाउने सहमति (पालिकाको तालिका सहित)

 आवाज संवाददाता     १३ कार्तिक २०७३, शनिबार

दोलखा जिल्लालाई ९ वटा गाउँपालिका तथा नगरपालिका बनाउने गरी राजनैतिक दलहरुको सहमति भएको छ । जिल्लास्तरीय प्राविधिक समितिको आयोजनामा शुक्रबार साँझ बसेको बैठकले स्थानीय निकाय पुनर्संरचना आयोगलाई ९ वटा पालिका सिफारिस गर्ने सहमति गरेको हो ।
स्थानीय निकाय पुनर्संरचना जिल्ला प्राविधिक समितिमा भदौ २६ गते सहमति गरेको साझा प्रस्तावकै आधारमा सहमति गर्ने गरी प्राविधिक समितिलाई काम अघि बढाउन दलहरुले आग्रह गरेको प्राविधिक समितिका सदस्य समेत रहेको इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए ।
दलहरुले अधिकतम सहमति गरेर दोलखाबाट आयोगलाई सकारात्मक सन्देश दिने निर्णय गरेका छन् । दोलखाको क्षमता अनुसार ९ वटा पालिका नै उपयुक्त हुने ठम्याइ दलहरु बीच पनि भएको उनले बताए । ९ वटा पालिका भित्र सिमाना, वडा र पालिका केन्द्रको विषयमा दलहरु भित्र थप छलफल गरी सुझाव समेत लिएर कार्तिक १९ गते निर्णायक बैठक बस्ने सहमति समेत भएको उनले जानकारी दिए ।
यस अघि आयोगले तोकेको ७ वटा नगरपालिका तथा गाउँपालिकाको संख्यामा राजनैतिक दलहरुको सहमति बन्न नसकेपछि जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सबैको सहमतिमा ९ संख्या सिफारिस गरेको थियो। आयोगले पछिल्लो निर्देशन अनुसार ७ देखि ११ वटासम्म पालिका हुने गरी स्थानीय निकायको संख्यामा सिफारिस गर्न निर्देशन दिएको छ ।
बैठकमा सहभागी एक नेताले स्थानीय निकाय पुनः संरचनाको विषयमा आफूहरु अत्यन्तै नजिक पुगेको प्रतिक्रिया दिए । दलहरु बीच छैन । संख्या र सिमानामा विगतमै अधिकाँश सहमति भएकाले केही नमिलेका विषयमा छलफल गरेर मिलाउने उनले बताए ।
९ वटा पालिका सिफारिस गर्न दलहरुबीच भएको सहमतिमा शैलुङ्गेश्वर र लाँकुरीडाँडा गाविसलाई मात्र कुन गाउँपालिकामा राख्ने भन्ने विवाद कायमै थियो । शैलुङ्गेश्वरलाई अधिकांशले पवटीसँग छुट्याउन नहुन सुझाव दिएका छन् । लाँकुरीडाँडालाई वडा विभाजन गरेर भए पनि मिलाउनुपर्ने सुझाव आएको छ । आयोगले जिल्ला प्राविधिक समितिलाई कार्तिक २० गतेसम्म सिफारिस गर्न निर्देशन दिएको छ ।

भदौ २६ गते दलहरु बीच सहमति भएका ९ पालिका नक्साIMG_20160911_143318

कुन गाविस कुन पालिकामा परे ?

गौरीशंकर गाउँपालिकाः केन्द्र जामुने वा गुरुम्फी
गाविसहरुः गौरीशंकर, खारे, चंखू, मार्बू, सुरी, झ्याँकू र जुँगू

जिरी गाउँपालिकाः केन्द्र जिरी
गाविसहरुः श्यामा, माली, जिरी र ठूलोपातल

हनुमन्तेश्वर गाउँपालिकाः केन्द्र डाँडागाउँ वा सिम्बारी
गाविसहरुः क्षेत्रपा, काब्रे, नाम्दू, मिर्गे र गैरीमुदी

तामाकोसी गाउँपालिकाः केन्द्र सिम्पाखा मालू
गाविसहरुः भीरकोट, झुले, जफे, मालू, सहरे, च्यामा र हावा

शैलुङ गाउँपालिकाः केन्द्र भञ्याँङ
गाविसहरुः मेलुङ, डाँडाखर्क, भेड्पू, घ्याङसुकाठोकर, पवटी र (शैलुङ्गेश्वर)

चर्नावती वा देउराली गाउँपालिकाः केन्द्र फोक्टे (काटाकुटी)
गाविसहरुः फस्कू, काटाकुटी, मागापौवा, ताम्चेतदुधपोखरी, भुषाफेदा र (लाँकुरीडाँडा)

भीमेश्वर नगरपालिकाः केन्द्र चरिकोट
गाविस/नपाः बोच, भीमेश्वर नगरपालिका, सुस्पाक्षमावती र (लाँकुरीडाँडा)

कालिञ्चोक गाउँपालिकाः केन्द्र आहाले
गाविसहरुः सुन्द्रावती, सुनखानी, लापिलाङ, लामिडाँडा, बाबरे र कालिञ्चोक

लामाबगर गाउँपालिकाः केन्द्र मल्दुङ
गाविसहरुः विगू, आलम्पू, खोपाचागू, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामाबगर

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।