अमेरिकी राष्ट्रपति निर्वाचनःइमेल काण्डपछि ट्रम्प अगाडि

 आवाज संवाददाता     १८ कार्तिक २०७३, बिहीबार

काठमाडौँ, कात्तिक १८/बोस्टन अमेरिकाः

निर्वाचनको ११ दिनअघि अमेरिकी अनुसन्धान ब्युरो (एफबीआई) ले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनका शंकास्पद इमेलबारे फेरि अनुसन्धान सुरु गरेपछि त्यसको पाँच दिनमै राष्ट्रिय मत सर्वेक्षणहरूमा रिपब्लिकन उम्मेदवार ट्रम्प झिनो अन्तरले अगाडि देखिन थालेका छन् ।

वासिङ्टन पोस्ट र एबीसी न्युजले संयुक्त रूपमा गरेको पछिल्लो मत सर्वेक्षणमा इमेल काण्डको पुनरावृत्तिपछि क्लिन्टनका समर्थकहरू निराश बनेको स्पष्ट देखिएको छ । सर्वेक्षणमा ५३ प्रतिशत ट्रम्पका समर्थकहरूले आफू ‘धेरै उत्साही’ भएको उल्लेख गरेका छन् भने क्लिन्टनका ४३ प्रतिशत समर्थकमात्र चुनावबारे ‘धेरै उत्साही’ छन् ।

राष्ट्रिय मतदाताबीच गरिएको सर्वेक्षणमा क्लिन्टनले ४५ प्रतिशत मतदाताको समर्थन पाएकी छन् भने ट्रम्पलाई ४६ प्रतिशत मतदाताले रुचाएका छन् । वासिङ्टन पोस्ट÷एबीसीको बुधबारको सर्वेक्षणमा भने ट्रम्प र हिलारी ४६/४६ प्रतिशतका साथ बराबरी स्थानमा छन् ।

लिबर्टेरियन पार्टीका उम्मेदवार ग्यारी जोन्सनले ३ प्रतिशत मत पाएका छन् भने ग्रिन पार्टीका उम्मेदवार जिल स्टेनले २ प्रतिशत मत पाएका छन् । त्यस्तै, एलए टाइम्स र यूएससीले सोमबार सार्वजनिक गरेको अर्को सर्वेक्षणमा ट्रम्प क्लिन्टनभन्दा ४ प्रतिशतले अघि देखिएका छन् । क्लिन्टनले ४३ प्रतिशत मतदाताको समर्थन पाएकी छन् भने ट्रम्प ४७ प्रतिशतसाथ अगाडि छन् ।

यसअघि राष्ट्रिय मिडियाले गरेका अधिकांश सर्वेक्षणमा अगाडि देखिएकी क्लिन्टन शुक्रबारको एफबीआई छानबिनयता पछाडि देखिन थालेकी हुन् । यसअघि निर्वाचनका मत सर्वेक्षणलाई आलोचना गरिरहेका ट्रम्पले पनि मंगलबार सामाजिक सञ्जालमार्फत यसबारे आफ्नो प्रसन्नता सार्वजनिक गरेका थिए ।

बोस्टनका प्रतिष्ठित मत सर्वेक्षक तथा प्राध्यापक स्पेन्सर किम्बल पछिल्ला सर्वेक्षणहरूमा क्लिन्टन र ट्रम्पको मतान्तर कम हुँदै गएको स्वीकार गर्छन् । ‘यद्यपि इमेल काण्डकै कारण ट्रम्प सर्वेक्षणमा अगाडि बढ्दै गरेको भन्नसक्ने आधारचाहिँ छैन’, हिलारीका समर्थक किम्बल भन्छन् ।

उनका विचारमा इमेल काण्डबारे अमेरिकी मतदातालाई यसअघि नै थाहा भइसकेकाले एफबीआईको नयाँ छानबिनले मतदातामाझ उल्लेख्य फरक पार्दैन । वासिङ्टन पोस्ट/एबीसी सर्वेक्षण गरेका ग्यारी ल्यांगर भन्छन्, ‘पछिल्लो परिणामले दुवै उम्मेदवारलाई सँगसँगै उभ्याएको छ ।’

एफबीआई छानबिनका अतिरिक्त राष्ट्रपति बाराक ओबामाले सुरु गरेको अमेरिकी स्वास्थ्य नीति ओबामा केयरबारे पत्रपत्रिकामा आएका आलोचनात्मक टिप्पणी र क्लिन्टन फाउन्डेसनबारे विकिलिक्सले सार्वजनिक गरेको ताजा इमेलले सर्वेक्षणहरूमा क्लिन्टनको लोकप्रियता घटेको हो ।

निर्वाचनका लागि ६ दिनमात्र बाँकी रहँदा एफबीआईले नोभेम्बर ८ अघि इमेल अनुसन्धानको परिणाम सार्वजनिक गर्ने सम्भावना पातलिँदै गएको छ जसले क्लिन्टन र उनका समर्थकलाई झनै चिन्तित बनाएको छ ।
ह्वाइट हाउसको कुर्सीमा क्लिन्टनको सम्भावनालाई अस्वीकार गर्नसक्ने आधार भने अझै बनेको छैन । मेन, न्युह्याम्सायर, ओहायो, जर्जिया, फ्लोरिडा, नर्थ क्यारोलिना, आयोवा, नेभाडा, कोलोराडो र एरिजोनाजस्ता अनिर्णीत राज्यहरूको भूमिका निर्णायक हुने देखिएको छ ।

अमेरिकाका ५० राज्यमा गरेर ५ सय ३८ इलेक्टोरल मतमध्ये ह्वाइट हाउस प्रवेशका लागि २ सय ७० मत प्राप्त गर्नुपर्छ । अमेरिकामा पश्चिमी र पूर्वी तटका धेरै इलेक्टोरल मत भएका अधिकांश राज्य डेमोक्र्याटिक समर्थक छन् भने मध्य अमेरिकाका कम इलेक्टोरल मत भएका राज्यहरू रिपब्लिकन समर्थक छन् ।

सन् २००९ देखि २०१३ सम्म विदेशमन्त्री छँदा क्लिन्टनले न्युयोर्कस्थित आफ्नो घरबाट व्यक्तिगत सर्बरबाट इमेल आदानप्रदान गरेको केही महिनाअघि खुलेपछि उनले आफ्नो गल्ती स्वीकार गरिसकेकी थिइन् । एफबीआईले क्लिन्टनको व्यवहार ‘अत्यन्त लापरबाहीपूर्ण’ भए पनि यो कुनै ‘आपराधिक गतिविधि’ नभएको बताउँदै उनलाई गत जुलाईमा सफाइ दिएको थियो ।

गत शुक्रबार क्लिन्टनले पठाएका नयाँ इमेल पूर्वकंग्रेस सदस्य तथा यौन दुव्र्यवहारका आरोपी एन्थोनी वेइनरको ल्यापटपमा भेटिएको भन्दै एफबीआईले अनुसन्धान सुरु गरेपछि अमेरिकी राष्ट्रपति निर्वाचन यही विषयमा केन्द्रित भएको छ ।

अन्नपूर्णपोष्टमा मनोज दाहालले लेखेका छन्

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।