संविधान कार्यान्वयनमा सबैलाई समेटेको हेर्न चाहन्छुः मुखर्जी

 आवाज संवाददाता     १८ कार्तिक २०७३, बिहीबार

१८ कात्तिक, काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाल र भारत जस्तो सम्बन्ध भएका दुई सार्बभौम राष्ट्रहरु संसारमै नभएको बताएका छन् । संविधान कार्यान्वयनको क्रममा सबै पक्षलाई समेटेर अघि बढेको हेर्न भारतले चाहेको पनि उनले बताए ।

काठमाडौं महानगरपालिकाले राष्ट्रियसभा गृहमा विहीबार आयोजना गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मुखर्जीले भने, ‘नेपालले संविधान बनाएर कार्यान्वयन गरिरहँदा सबै पक्षलाई समेटेर अघि बढेको हेर्न चाहन्छु ।’

उनले नेपाल भ्रमणमा आफूले पाएको आतिथ्यताप्रति आभार व्यक्त पनि गरे । हिमालयको काखमा रहेको काठमाडौं शहर नेपालको राजधानीमात्र नभएर हिन्दु धर्मावलम्बीहरुको आध्यात्मिक केन्द्र पनि भएको मुखर्जीले बताए ।

भारतको स्वतन्त्रता संग्राममा नेपालीहरुले मद्दत गरेको स्मरण गर्दै उनले भारतको उदयीमान अर्थतन्त्रबाट लाभ लिन नेपाललाई सुझाव दिए ।

नेपाल र भारतबीच विकास साझेदारी १९५१ देखि सुरु भएको भन्दै उनले अहिले पुलपुलेसा, बाटोघाटो र उर्जा क्षेत्रमा धेरै प्रगति गर्दै गएको देख्दा खुसी लागेको बताए ।

भारतको बनारश र काठमाडौंबीच भगिनी सहर स्थापना भएदेखि दुई सहरबीच साँस्कृतिक आदान प्रदानका थप्रै कार्यक्रमहरु सुरु भएको उनले बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले महानगरको साँचो राष्ट्रपति मुखर्जीलाई हस्तान्तरण गरे । साथै राष्ट्रपति मुखर्जीलाई अभिनन्दन पत्र, कलात्मक काठको झ्याल र मञ्जुश्रीको मूर्ति पनि प्रदान गरिएको छ ।

अनलाइनखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।