माथिल्लो तामाकोशीमा गाडी दुर्घटना भई चालकको मृत्युपछि अवरुद्ध यातायात खुल्यो

 आवाज संवाददाता     १९ कार्तिक २०७३, शुक्रबार

दोलखा, कात्तिक १९/माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य सुरुङमा गाडी दुर्घटना भई बोच ९ का गोपी बस्नेतको मृत्यु भएपछि आज विहानैदेखि अवरुद्ध भएको यातायात सेवा साँझबाट खुलेको छ ।
दुर्घटनाको तथ्य छानविन गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीयले बोच कृषिमा आज विहानैदेखि यातायात अवरुद्ध गरेका थिए । आउँदो २२ गते सोमवार फेरि छलफलमा बस्नेगरी यातायात खुलाउन बन्दकर्ताहरु सहमत भएकाे जिल्ला प्रहरी कार्यालय दाेलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए ।
यातायात अवरुद्ध भएपछि दोलखा, रामेछाप लगायतका क्षेत्रबाट काठमाडौँ जाने र काठमाडौँबाट दोलखा, रामेछाप जाने यात्रुहरु दिनभर अलपत्र परेका थिए । बेलुका अबेरसम्म यातायात नखुलेपछि अरनिको यातायात र रोल्वालिङ यातायातका सवारी साधानहरु रामेछाप–खुर्कोट हुँदै काठमाडौँ गएका थिए ।
बिहिवार दिउँसो माथिल्लो तामाकोशी आयोजनाको मुख्य सुरुङभित्र सिमेन्ट, गिटी र बालुवाको मिक्स लिएर जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा बोच ९ का गोपी बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो भने लामाबगर ६ का सिम्बा तामाङ र एक चीनीया नागरिक घाइते भएका छन् । उनीहरुको काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार भैरहेको छ । आयोजनाका अनुसार उनीहरुको अवस्था सामान्य रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।