माथिल्लो तामाकोशीको सुरुङमार्ग तीनसाताभित्रै ‘ब्रेक थ्रु’

 आवाज संवाददाता     २० कार्तिक २०७३, शनिबार

दोलखा, कात्तिक २०/माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लामाबगरस्थित बाँधस्थल पुग्ने पहुँचमार्गको लागि निर्माण हुँदै गरेको सुरुङमार्ग तीन साताभित्रै बनिसक्ने भएको छ ।
यो सुरुङमार्ग निर्माण सम्पन्न भएपछि बाँधस्थलसम्म पुग्ने पहुँचमार्ग खुल्नेछ भने २०७२ बैशाख १२ पछि रोकिएको लामाबगरस्थित बाँधस्थलको काम पुनः सुरु गर्न मार्गप्रशस्त हुनेछ ।
२०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पले प्रवेशमार्गको काभ्रेभिरक्षेत्रमा सडक भत्किएको थियो । भिर काटेर निर्माण गरिएको सडक भूकम्पले भत्किएर त्यही ठाउँबाट सडक लैजान अप्ठेरो भएपछि काब्रेभिरबाट सुरुङमार्ग निर्माण गर्न थालिएको हो । काभ्रेभिरमा सडक भत्किएर यातायात अवरुद्ध भएपछि अहिलेसम्म बाँधस्थलको काम हुन सकेको छैन । दोलखा बजारबाट लामाबगरसम्मको ६८ किलोमिटर पहुँचमार्ग मध्ये भोर्ले र काब्रे भीरमा सबैभन्दा बढी सडक क्षति भएको थियो ।

img_0956
तीन सातामा सुरुङमार्ग निर्माणसम्पन्न भएपछि बाँधस्थलसम्म यातायात सञ्चालन भै त्यसक्षेत्रका काम सुरु गर्न बाटो खुल्ने छ भने लामाबगर र लप्ची क्षेत्र जाने यात्रुहरुलाई आवतजावत गर्न समेत सहज हुनेछ । आयोजनाले काभ्रेभिरबाट ३ सय ६० मिटर सुरुङमार्फत यातायात सञ्चालन गर्ने वैकल्पिक उपाय अपनाएको हो । सोमध्ये शनिवारसम्म २ सय ६४ मिटर सुरुङ निर्माण भैसकेको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । उनले भने, ‘अब एक सय मिटरभन्दा कम बाँकी भएकोले कुनै समस्या नआए तीन साताभित्र सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुनेछ ।’ सुरुङमार्ग निर्माणको काम चौबीसै घण्टा भइरहेको छ । तथापि लामाबगरसम्म जाने यातायात अभावमा सुरुङमार्ग काब्रेभितिरबाट मात्रै खन्नु परेकोले यति ढिलो भएको हो ।

img_0960
इलेक्ट्रोमेकानिकल सामान ढुवानीमा ढिलाइ भएर पनि आयोजनाको काम ढिलो भएको हो । अत्यधिक भारका सामान ल्याउनका लागि सिन्धुपाल्चोकको खाडीचौरमा डाइभर्सन निर्माण गर्नुपर्छ । तर सुनकोशी नघटिसकेकोले डाइभर्सन निर्माणमा ढिलाइ भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए । उनका अनुसार पुसको तेस्रो सातासम्म सुनकोशीमा डाइभर्सन बनिसकेपछि इलेक्ट्रोमेकानिकल कामले पनि निरन्तरता पाउँछ ।
हेडरेस सुरुङको ३ किलोमिटरमा डेढ वर्षयता पानी भरिएको छ । सुरुङमा भरिएको पानी एकैपटक फ्याल्दा सुरुङ खुम्चिने भएकोले मिलाएर फ्याल्दा ३ महिनाभन्दा बढी समय लाग्ने आयोजनाको अनुमान छ । विद्युत् लाइन केही दिनमा बनिसक्ने र त्यसपछि सुरुङमा जमेको पानी फ्याल्ने काम सुरु हुने आयोजनाले जानकारी दिएको छ ।
आयोजनाको गोगरडाँडाबाट पनि हेडरेस सुरुङ निर्माणको तयारी भएको छ । ठाडो सुरुङको माथिल्लो भागसम्म पुग्ने ३ किलोमिटर पहुँचमार्ग पनि क्षतविक्षत भएकाले वैकल्पिकमार्ग बनाएर त्यहाँसम्म गाडी पुग्ने व्यवस्था भएको छ ।
आयोजनाको ठाडो सुरुङ निर्माणको काम पनि रोकिएको छ । प्रवक्ता न्यौपानेले केही दिनमै ठाडो सुरुङ निर्माणको का सुरु हुने जानकारी दिए । २ वटा ठाडो सुरुङमध्ये ३ सय ६० मिटरको तल्लो खण्ड २ वर्ष अघि नै पूरा भएको छ । माथिल्लो ३ सय १० मिटर मध्ये तलबाट १ सय ४० मिटर पनि पूरा भएको छ । बाँकी सुरुङ माथिबाट तल ‘डाउन दी होल’ विधिबाट खन्नुपर्ने अवस्था भएको उनले बताए । आयोजनाको विद्युत गृहको काम र प्रसारण लाइनको काम भुकम्प र नाकाबन्दीले ८ महिना जति रोकिए तापनि त्यसपछि निरन्तर जारी छ ।

img_0913

आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारण गर्न विद्युत्गृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकलमा टेक्सम्याको इण्डिया लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले काम गरिरहेका छन् । आयोजनाको काम करिब ८२ प्रतिशत काम पूरा भएको छ ।
निर्माण अवधिको व्याज बाहेक आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ (४४ करोड १० लाख अमेरिकी डलर) छ । यो लागत १ डलर बराबर ८० रुपैयाँलाई आधार मानेर तय गरिएको हो । हाल डलरको भाउ बढेर, १ वर्षजति काम ठप्प भएर र बजार मूल्य बृद्धिका कारण थप ८ अर्बभन्दा बढी आयोजनाको लागत अझ बढ्ने सम्भावना छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।