भेड्पूबासीले आफ्नै पालामा लालपूर्जा पाउने मन्त्री पाण्डेको दावी

 आवाज संवाददाता     २४ कार्तिक २०७३, बुधबार

राजन शिवाकोटी
भेड्पू, २४ कार्तिक

लालपूर्जा विहीन भेड्पू गाविसमा भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे पुगेर आफ्नै पालामा सबैको हातमा लालपूर्जा पाउने विश्वास दिलाउने कोसिस गरे । सामाजिक सुधार संस्था भेड्पूले आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले आफूले लालपूर्जा विहीन भेड्पूबासीलाई लालपूर्जा उपलब्ध गराउने गरी काम थाल्ने आश्वासन दिए ।
‘वर्षौंदेखि भेड्पूको समस्या लिएर जनता सिंहदरबार धाउनु भयो’, उनले भने ‘यो बीचमा मन्त्री र सरकार धेरै फेरिए जनताको समस्या जहींको त्यही भए पनि अब यो समस्या लिएर अर्को मन्त्री पर्खनु नपर्ने बनाउँछु ।’ लालपूर्जा विहीन जनताको समस्यामा धेरै नेताले राजनीति गरे पनि समाधान नभएको समस्या जसरी पनि समाधान गर्ने प्रतिबद्धता गरे । भेड्पूको गुठीको नाममा बसेका पनि फरक समस्या भएकाले यो समस्या तत्काल क्याविनेट बैठकमा राख्ने बताए ।
भीमेश्वर गुठीको नामा जग्गा भए तापनि गुठीको व्यवस्थापन र नागरिकको नाममा जग्गा उपलब्ध हुने गरी २ विकल्प सहित स्थानीयस्तरबाट राजनैतिक दलहरुको सहमति लिएर आउन समेत स्थानीयलाई आग्रह गरे । स्थानीयले आफ्नो समस्या राख्ने गरी बोलाएको कार्यक्रममा केही मान्छेले कालो झण्डा र मोसो समेत दल्ने जस्ता धम्की दिंदै फोन समेत गरेकाले आफू झन उत्साहित भएर यहाँ आएको बताए ।
स्थानीयका तर्फबाट मन्त्री पाण्डेलाई वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा हालसम्म नापी नहुँदा भुकम्पले भत्काएको घर पुनः निर्माणमा समेत समस्या परेकाले समाधानका लागि आग्रह गरेका थिए । उनीहरुले भीमेश्वर गुठीका नाममा जग्गा रहेकाले त्यसको व्यवस्थापन गरी घर बनाएर बस्ने वातावरण मिलाइदिने आग्रह गरे ।
करिब १ हजार ८ सय भेड्पुका बासिन्दा लालपुर्जा विहीन छन् । प्राधिकरणको नियमावलीको मुख्य प्राव्धान लालपुर्जा नै छ । लालपुर्जा नभएपछि आवास निर्माणबाट बञ्चित हुने देखिएकाले उनीहरु चिन्तित बनेका बताउँछन् । भेड्पूको करिब १८ हेक्टर जमिन छ । आवास पुनः निर्माणका लागि जिल्लाभरका भुकम्प पीडितहरुले पहिलो किस्ता ५० हजार लिए तापनि लालपूर्जा नहुँदा भेड्पूबासीसँग सम्झौता समेत हुन सकेको छैन ।
भेड्पु–४ का ७८ वर्षीय डम्बर बहादुर गोलेसँग जग्गाको लालपुर्जा छैन । उनका कैयौँ पुस्ता पनि लालपुर्जाविना नै बिते । “देसमा परिवर्तन आए पनि आप्mनो पुरानो रोग यथावत रहेकाले अहिले आवास बनाउन नपाइने भयो” उनले भने “यसै मरिन्छ कि के हो भन्ने चिन्ताले सताए छ ।”
लामो समयदेखि अग्रसर रहेको जग्गा नापी सङ्घर्ष समिति संयोजक तथा गाविस पूर्व अध्यक्ष नरबहादुर श्रेष्ठका अनुसार भीमेश्वर गुठीलाई यहाँका बासिन्दाले कुत बुझाई जग्गा कमाइ खाँदै आएका छन् । २ दशक अघि नै यहाँका दुई नगरपालिका र ४७ गाविसमा नापी भइसकेको छ । गुठी र मोहीबीच विवाद भएपछि यहाँ नापी हुन सकेन र लालपुर्जाबाट विहीन बन्नु परको हो ।
नागरिकता छ, भूकम्प पीडित कार्ड प्राप्त छ । लालपुर्जा नभएकै कारण आवास निर्माण सुविधा नपाउनुले भूकम्पले लगाएको घाउमा नुन चूक छरिदिए झै हुने उनको तर्क रहेको छ ।
पुनःनिर्माण प्राधिकरणले भुकम्प गुठीको जग्गामा बसेका भुकम्प पीडितका समस्या समाधानका लागि नियमावली बने तापनि त्यसले भेड्पूबासीलाई समेटेको छैन ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता ताराबहादुर कोइराला, बर्मा लामा, राप्रपाका कार्यबाहक अध्यक्ष बलबहादुर तामाङ र नयाँ शक्ति नेपाल दोलखाका सहसंयोजक भक्त थोकरले नागरिकलाई सुरक्षित आवास निर्माणमा सघाउन आग्रह गरे ।
दोलखाको भेड्पू आउनु अघि मन्त्री पाण्डेले रामेछाप नापी कार्यालयको सिलान्यास गरेका थिए । सिलान्यासका क्रममा रामेछाप भएका भुमीहिनको समस्या समाधानको लागि पहल गर्ने बताए ।

bikram-pande

खास समस्या के हो ?
भेड्पूको करिब १८ हेक्टर जग्गा छ । जुन वि.सं. १९५० मा तत्कालिन राजा रणबहादुर शाहको पालामा गुठी अधिनस्त, रैता नम्बरी, बिर्ता र रैकर भन्ने प्रथा अन्र्तगत भेड्पू सिंगो गाविस भीमेश्वर मन्दिर गुठीको नाममा राखिएको हो । पूर्व गाविस अध्यक्ष श्रेष्ठका अनुसार त्यही बेला देखि भेड्पूका जग्गामा बस्नेहरुले वार्षिक रुपमा २ सय २९ मुरी धान कुतदान १७ पाथी ४ माना तेल घिउ र ३४ बोका र ७ वटा राँगा दसैंको बेला बुझाउनु पथ्र्यो ।
भेड्पू २ का ७५ वर्षिय गोविन्द अधिकारीका अनुसार २०३४ सालसम्म आफूहरुले गुठीमा तोके अनुसार नै बुझाएको बताए । सधैं गुठियारकोमा दसैं जस्तो चाडबाडमा धाउनु पर्ने भएपछि विद्रोह स्वरुप कुत बुझाउन छाडेको उनले बताए । कुनै बेला दसैंको बेला गुठीयारलाई बोका बुझाउन जाँदा खोलाले समेत बगाएको उनले सुनाए ।
२०४६ सालको राजनैतिक परिवर्तनपछि समस्या समाधानका लागि पहल भए पनि सफल नभएको उनले बताए । पछिल्लो पटक सर्वोच्च अदालतले गुठी, अधिनस्त र रैता नंम्बरी जग्गालाई दर्ता नगर्नु भन्ने आदेश दिएपछि भेड्पूबासी झन् समस्यामा परेका छन् । २०४७ सालमा प्रतिमुरी रु ६० कुतबाली गुठी संस्थान धुलीखेलले बुझे तापनि पछिल्लो वर्ष पनि बुझाउँन जाँदा नबुझेपछि सिंगो गाविस नापी नभएको बताए । अहिले स्थानीय स्तरमा आफ्नो आन्तरिक स्वामित्वको रुपमा जग्गा भए पनि कुनै पनि किनबेच हुँदैन ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।