सुस्ताउँदै गएको ह्याण्डबल खेलप्रति दोलखाली खेलाडी आकर्षित

 आवाज संवाददाता     २५ कार्तिक २०७३, बिहीबार

दोलखा, कात्तिक २५/केही वर्षदेखि सुस्ताएको ह्याण्डबल खेलले अहिले पुनर्जीवन पाउन थालेको छ । यसको उदाहरण बनेको छ, ‘दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रशिक्षणमा सहभागीहरुको उत्साह ।’
नेपाल ह्याण्डबल संघ दोलखाको आयोजना तथा नेपाल ह्याण्डबल महासंघको सहयोगमा दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित प्रशिक्षण कार्यक्रममा आयोजकले अपेक्षा गरेभन्दा निकै बढी सहभागी भएका छन् ।
आजदेखि सुरु भएको प्रशिक्षणमा जिल्लाका विभिन्न २५ विद्यालयका ४७ खेलशिक्षक, १ सय ५० विद्यार्थी र नेपाली सेनाको रणभीम गणका १० जवानहरुको सहभागिता छ । यति धेरै सहभागिता होला भन्ने अपेक्षा नगरेको महासंघका केन्द्रीय उपाध्यक्ष प्रवीण थोकर बताउँछन् । सहभागिताले आफू निकै उत्साही भएको उनले बताए । एउटै विद्यालयबाट २७ जनासम्म विद्यार्थीहरुले सहभागिता जनाएको उनले बताए ।

20161110142237_img_1656

२०५० सालसम्म अत्यन्त राम्रो लयमा रहेको ह्याण्डबल खेल नेतृत्वको अक्षमताका कारण त्यसपछिको एक दशकसम्म ठ्याक्कै बन्द भएको वरिष्ठ प्रशिक्षक हिमाल दाहाल सम्झन्छन् । २०६५ ताकाबाट केही तङ्ग्रिएको ह्याण्डबल खेल अहिले आशालाग्दो अवस्थामा पुगेको उनको ठम्याइ छ । अहिले दक्षिण एसियामा महिलातर्फ तेस्रो र पुरुषतर्फ चौथा वरियतामा रहेको वरिष्ठ प्रशिक्षक दाहालले बताए । १० वर्षपछिलाई लक्षित गर्दै अहिले विद्यालयविद्यालयमा आएको उनी बताउँछन् । ह्याण्डबल खेल ओलम्पिकको ‘अफिसियल’ खेल पनि हो । यो प्रशिक्षणको अर्को लक्ष्य आउँदो आलिम्पिक खेल पनि हो । रोजगारी र आकर्षणका हिसाबले अहिले राम्रो लयमा आउँदै गरेको उनको दावी छ ।
अहिले ह्याण्डबलका खेलाडी थोरै भएकोले थोरै मेहनतले राम्रो गर्ने खेलाडीहरुलाई पनि राम्रो अवसर हुने महासंघका केन्द्रीय उपाध्यक्ष थोकर बताउँछन् । यस खेलका लागि सानो ग्राउण्ड आवश्यक पर्ने भएकोले ग्रामीण क्षेत्र, पहाडी क्षेत्र जहाँ पनि खेलाउन सकिने भएकोले यस खेलको विकासको राम्रो सम्भावना भएको उनी बताउँछन् ।
दोलखामा अहिले १० जना राष्ट्रिय र ३ जना अन्तर्राष्ट्रिय खेलाडीहरु छन् । त्यसो भएर पनि यो प्रशिक्षण दोलखामा गरिएको केन्द्रीय उपाध्यक्ष थोकरको धारणा छ । अहिले वरिष्ठ प्रशिक्षकद्वय हिमाल दाहाल र प्रमुख रेफ्री विकास खनालले सदरमुकामस्थित कालिन्चोक माविको प्राङ्गणमा प्रशिक्षण दिइरहेका छन् । चौथो दिनदेखि हङ्गेरीका अन्तर्राष्ट्रिय प्रशिक्षकले ४ दिन प्रशिक्षण दिनेछन् ।

20161110142135_img_1650
यस वर्ष दोलखाका अतिरिक्त पोखरामा पनि महासंघले प्रशिक्षण दिनेछ । नेपाल ह्याण्डबल महासंघले आउँदो डेढ महिनाभित्र ह्याण्डबल प्रतियोगिता गर्ने लक्ष्य राखेको उपाध्यक्ष थोकरले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।