संघीयतामा निजामती कर्मचारी संगठन व्यवस्थापनः एक वहस

 आवाज संवाददाता     २७ कार्तिक २०७३, शनिबार

-संजय नेपाल

नेपालमा स्थायी सरकारको रुपमा कार्यरत निजामती कर्मचारीहरुको पेशागत हकहितको लागि सामूहिक सौदावाजी, पीरमर्का गुनासो सुुनुवाइ् तथा गर्न र सरकारी उच्च नेतृत्वसँग पुलको काम गर्न निजामती ऐन २०४९ तथा नियमावलीमा नै कर्मचारी संगठनहरु रहने र त्यसबाट आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने भन्ने व्यवस्था भए अनुरुप भर्खरै ट्रेड युनियन निर्वाचन सम्पन्न भई त्यसले प्रारम्भिक कार्यसञ्चालन सुरु गरेको अवस्था छ । निजामती सेवाभित्र विभिन्न ७ वटा ट्रेड युनियन अस्तित्वमा रहेकोमा सवैभन्दा ठुलो संगठनको रुपमा नेपाल निजामती कर्मचारी संगठन रहेको छ । यो संगठन लामो इतिहास भएको र निजामती कर्मचारीहरुले धेरै दुःख, पसिना खर्चेर, जागिरको माया मारेर निर्माण र विकास गरेको संगठन हो भन्दा अतिशयोक्ति नहोला । देश संघीयतामा जाने तर्खरमा रहेको हालको अवस्थामा अव जनताको सेवक, स्थायी सरकार, सरकारी नीति तथा कार्यक्रमको कार्यान्वयनकर्ता भनेर चिनिने कर्मचारीतन्त्रभित्र नेतृत्व गर्ने प्रमुख संगठनको संगठन–संरचना र व्यवहार पनि संविधानले निर्दिष्ट गरेको मार्ग बमोजिम हुनुपर्छ भन्ने मान्यताका साथ तथा कर्मचारी संगठनका अग्रज संगठकहरुसँगको निरन्तरको छलफल र विचार विमर्सको सारांशको रुपमा यो लेख लेख्दैछु ।
हाल नेपाल निजामती कर्मचारी संगठनमा केन्द«ीय, क्षेत्रीय, अञ्चल, जिल्ला र विभागीय कार्यसमितिहरु कार्यरत छन् । केन्द्रीय संगठनमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ५ विकास क्षेत्र हेर्ने ५ उपाध्यक्ष, समावेशी उपाध्यक्षहरु, १ महासचिव, २ समावेशी सहित ६ सचिव, १ कोषाध्यक्ष, १ कार्यालय सचिव गरी केन्द्रीय लेखा आयोगका संयोजक तथा सदस्य र एकीकरण भई आएका पदाधिकारीहरु समेत गरी २४ जनाको सचिवालय सहित १२० जनाको जम्वो केन्द्रीय कार्यसमिति छ । संघीयतामा यो भन्दा बढी संख्यामा केन्द्रीय सदस्य बनाईनुपर्छ भन्ने वर्तमान नेतृत्वमा रहेका संगठक मित्रहरुबाट सुझाव आइरहेको सन्दर्भमा यसको पुन–संरचना मा बहस गरिनुपर्छ । देशको विधायिका नै २७५ सदस्यीय कायम भइसकेको सन्दर्भमा ८६ हजार जना निजामती कर्मचारीको एउटा प्रमुख हाँगो नेपाल निजामती कर्मचारी संगठनको नेतृत्व एकसय जना भन्दा बढी सदस्य भएको शोभनीय देखिँदैन । त्यसै पनि संगठनको केन्द्रीय नेतृत्वमा रहेका अधिकांश कर्मचारीहरु कार्यालय नवस्ने, जिम्मेवारी नलिने, कर्मचारीको काम गर्ने भन्दै दलीय राजनीतिमा लाग्ने, आकर्षक भनिएको कार्यालयमा मात्र बस्ने, दुर्गममा सरुवा भई जान नमान्ने, आफूमाथिका प्रशासकलाई पदोनुकुल व्यवहार प्रदर्शन नगर्ने तथा जनताप्रति सेवाभाव राखी कार्य गर्ने भन्दा मन्त्रालय÷विभागको प्रमुखलाई अनावश्यक दवाव र प्रभाव दिन मात्र सक्रिय रहेको भनी पत्रकारजगत, राजनैतिक दल र उच्च पदस्थ कर्मचारीहरुको गुनासो रहेको सन्दर्भमा अवको निजामती कर्मचारी संगठन यी सव कमी कमजोरीहरुलाई सच्याउँदै संघ केन्द्रित भन्दा प्रदेश र गाउँ केन्द्रित हुनु जरुरी छ । कम्तीमा नेपाल निजामती कर्मचारी संगठनको लोगो लगाएर हिँडेको कर्मचारीलाई आमजनताले कार्यालयमा देखेर आफ्नो काम सुम्पदा यथा समयमा मुस्कान सहितको सेवा पाउने ग्यारेन्टी हुन सक्यो भने संगठनको विश्वसनीयता बृद्धि र सरकारको सु–सासनको परिपालना हुन्छ ।
जनता अव जागरुक भइसकेका छन्, कार्यालय प्रविधिमैत्री हँुदैछन्, नयाँ पुस्ता निजामती सेवामा प्रवेश गर्दैछ , अव पुरानो ढर्रा र ढिलासुस्तीले कर्मचारीतन्त्र र यसको नेतृृत्व चल्नेवाला छैन । यस्तोमा योग्य र सक्षम केन्द्रीय नेतृत्व आउनको लागि संगठनको केन्द्रीय संरचना चुस्त छरितो र सानो हुनु जरुरी छ । केन्द्रीय नेतृत्वमा रहेका कतिपय पदहरुले उचित जिम्मेवारी नपाइरहेको वर्तमान अवस्थामा संगठनको नेतृत्वमा ६७ जिल्लामा सञ्चालनमा रहेको सहकारी र हालसालैबाट सुरु भएको संगठक विमा योजनालाई हेर्ने गरी केन्द्रीय नेतृत्वका साथीहरुलाई जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।
हालको केन्द्रीय संरचनालाई १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष १ महासचिव, २ उपमहासचिव, ४ सचिव १ कोषाध्यक्ष गरी सचिवालय जम्मा १३ सदस्यीय बनाइनुपर्छ । विकास क्षेत्रका उपाध्यक्षहरुलाई घटाई संगठन, सहकारी र विमा हेर्ने गरी ३ उपाध्यक्षलाई जिम्मेवारी दिइनुपर्छ । सोही बमोजिम संगठन, सहकारी र विमा अनि १ कार्यालय सञ्चालन हेर्ने गरी सचिवले तत्तत् उपाध्यक्षको अधिनमा रही कार्य गर्ने व्यवस्था बनाइनुपर्छ भने उपमहासचिवहरुले संगठन र आधिकारिक ट्रेड युनियन हेर्ने गरी व्यवस्था गरिनुपर्छ । बाँकी ३८ जना केन्द्रीय सदस्य नेपालको संविधान २०७२ बमोजिम पूर्ण समानुपातिक समावेशी हुनेगरी ५१ सदस्यीय केन्द्रीय समिति निर्माण गरिनुपर्छ । सचिवालयमा आरक्षण प्रदान गरिएको अहिलेको अवस्थामा साथीहरुले ऐन र संविधानको मर्म बमोजिम कार्य गर्न नसकेको कर्मचारीहरुले नै बताइरहको हुँदा सचिवालयमा आरक्षण हटाई केन्द्रीय सदस्य पूर्ण समानुपातिक समावेशी गरिनुपर्छ । यसरी ५१ सदस्यीय केन्द्रीय कार्यसमितिमा सातवटा प्रदेशका प्रदेश अध्यक्षहरु पदेन केन्द्रीय सदस्यहरु हुन सक्नेछन् भने जिल्ला, विभागीय कार्यसमिति छनौटको अहिलेको झण्झटिलो र खर्चिलो प्रक्रिया पनि परिपर्वन गरिनुपर्ने देखिएको छ ।
एउटा जिल्ला÷विभागीय अधिवेशन सम्पन गर्न लाखौँ रुपैयाँ आवश्यक पर्छ यो पैसा कसैले त्यसै दिने त होइन ? संगठक मित्रहरुको योगदान र कार्यागतरुपमा सहयोग मागेर हालसम्म चलिरहेको छ ? यसरी सधैँ मागेर र विना बजेट विनियोजन गरिने खर्चले पारदर्शिता र सशासन बृद्धि नहुने हुँदा अहिलेको जिल्ला तथा विभागीय कार्यसमितिको निर्वाचन गर्ने प्रक्रियालाई परिष्कृत गर्दै कार्यालयगत इकाइ बनाई सोही इकाइबाट १ वा २ जना प्रतिनिधि छनौट भई आएका व्यक्तिहरुको निर्णयबाट जिल्ला कार्यसमिति बन्ने र सोही कार्यसमितिले १ केन्द्रीय र ५ जना प्रदेश प्रतिनिधि छनौट गरी पठाउने व्यवस्था गरिनुपर्छ । सोही गरी एक प्रदेशबाट निस्चित संख्या जस्तो १० जना केन्द्रीय प्रतिनिधि पठाउने व्यवस्था गर्न सकियो भने हालको अव्यवस्थीत प्रचलनलाई हटाई बढी व्यवस्थित र समावेशी प्रतिनिधित्व पठाउन सकिन्छ । यसरी हालको साविक ७५ जिल्ला र मन्त्रालय, विभागगत कार्यसमिति गरी ११४ र ७ प्रदेशबाट बढीमा ७० गरी १८४ र वाँकी मनोनित गरी दुई सय जनाको प्रतिनिधित्व भएको महाधिवेशनले केन्द्रीय नेतृत्व चुन्ने व्यवस्था गरिनुपर्छ । हालको एक जिल्लामा कार्यरत संगठक अर्को जिल्लामा सरुवा भई जाँदा संगठनको शुरु विन्दुबाट काम सुरु गर्नुपर्ने जुन अचम्मको अवस्था छ त्यसमा पनि यो व्यवस्थाले सुधार गर्छ ।
आधिकारिक ट्रेड युनियनमा निर्वाचित भएका व्यक्तिहरु सवै कर्मचारीहरुको साझा नेतृत्व भएको मनन गरिनुपर्छ र आगामी दिनमा त्यस्ता आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुलाई संगठनको केन्द्रीय प्रतिनिधि मनोनित गरिनुहुँदैन । ठुलो संरचना बनाएर अव्यवस्थित बनाउनु भन्दा सानो र छरितो संगठन बनाई परिवर्तित सन्दर्भमा एकजुट भई पेशागत हकहितमा कृयाशील हुन, तटस्थ भई सरकारको नीति तथा कार्यक्रमलाई जनतामा पु¥याउने कार्यमा दत्तचीत्त भई लाग्न र निजामती कर्मचारीप्रति आम नागरिकमा देखिएको वितृष्णा, निराशा र असन्तोषलाई हटाउन नेपाल निजामती कर्मचारीको आगामी मंसिरमा हुने महाधिवेशनले यो बाटो पहल गर्नेछ भन्ने आशा गर्न सकिन्छ ।

(लेखक नेपाल निजामती कर्मचारी संगठन दोलखाको सल्लाहकार हुन् ।)

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।