तल्लो खारे खोला एक हप्तापछि सुचारु हुने

 आवाज संवाददाता     २ मंसिर २०७३, बिहीबार

सिभिल निर्माणको काम सुरु गरेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजनाको काम एक हप्तापछि सुचारु हुने भएको छ । स्थानीयसँगको विवादका कारण खारेको काम सुचारु हुन नसकेको हो । स्थानीय र आयोजना बीचको छलफलपछि आउँदो बुधबारबाट आयोजनाको काम सुचारु गर्ने सहमति भएको हो ।

तल्लो खारे खोलाको भौतिक पूर्वाधार अन्र्तगत बाँध क्षेत्र र आवास निर्माणको काम सुरु गरेको थियो । स्थानीयहरु बीच आयोजनाको काम लिने र कसरी गर्ने भन्नेमा विवादका साथै आयोजनाले समेत आयोजनाको बारेमा प्रष्ट जानकारी नगराएको भन्दै काम रोकिएको थियो ।
आयोजना व्यवस्थापन पक्ष र स्थानीय सरोकार समितिको संयुक्त पहलमा बुधबार गुरुम्फिमा आयोजनाको पक्षमा सार्वजनिक सुनुवाइ भए तापनि काम सुचारु गर्न अझै एक हप्ता पर्खन स्थानीयले समय मागेका छन् । स्थानीयले पनि सार्वजनिक सुनुवाइ नाममात्रको गर्न खोजेको आरोप लगाए । स्थानीयले प्रवेशमार्ग सुधार, मुआव्जा व्यवस्थापन लगायतका माग राखेका छन् ।khare
स्थानीय सरोकार समितिका अध्यक्ष मिङ्गुर शेर्पाले आयोजना र स्थानीय बीच समन्वयको काम सरोकार समितिले गरेको बताए । यस क्षेत्रमा अन्य आयोजनाहरुसँग पनि समन्वयसँगै आयोजना पक्ष र स्थानीय बीचमा काम र रोजगारी लगायतका विषयमा छलफलबाटै समस्या समाधान हुने उनले बताए ।
युनिभर्सन पावर कम्पनीको लगानीमा निर्माणाधिन आयोजनाको काम २ हप्ता अघि सुरु भएको हो । आयोजनाको हेडवक्सको काम निर्माण कम्पनी एटलस हाइड्रो कन्सोरटिएमले सुरु गरेको हो । आयोजनाका सह प्रबन्धक अनुप थापाले ठूला काम ठूला निर्माण व्यवसायीलाई दिने भए तापनि साना काम स्थानीयलाई नै दिने तयारी भएको बताए ।
आयोजना चंखू–६ दुम्सिदिङमा बाँध बाँधेर ३ दशमलब ३ किलोमिटर स्टिल पेनस्टक पाइप मार्फत पानी ल्याएर सुरी–८ सुरीदोभानमा विद्युत गृह निर्माण गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । आयोजनाको ग्रस हेड १ सय ४० मिटर रहेको छ । आयोजनाबाट चंखू, खारे र सुरी गाविस प्रभावित हुने छन् । आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक वातावरणीय प्रभाव न्यूनीकरणका लागि ८८ लाख खर्च गर्ने योजना भएको उनले जानकारी दिए ।

khare-2
आयोजनाबाट सुख्खा मौसममा १ करोड १५ लाख २७ हजार २ सय किलोवाट र वर्षातको मौसममा ५ करोड १२ लाख ४ हजार ५ सय ५१ किलोवाट गरी कुल ६ करोड २७ लाख ३१ हजार ७ सय ५१ किलोवाट वार्षिक विद्युत उत्पादन गर्ने प्रबद्र्धक कम्पनीको लक्ष्य छ । आयोजनाबाट उत्पादित विद्युत ५ किलोमिटर टाढा रहेको विद्युत प्राधिकरणको सव स्टेशनमा जोड्ने योजना छ । आयोजनामा बैंक अफ काठमाडौं लुम्बिनीको नेतृत्वमा ऋण लगानी रहेको छ । आयोजना २०७६ असारसम्म पूरा गर्ने लक्ष्य रहेको थापाले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF