एकै महिनामा डेढ लाख बढी ट्राफिक राजश्व संकलन

 आवाज संवाददाता     ४ मंसिर २०७३, शनिबार

जिल्ला ट्राफिक प्रहरी कार्यालय चरिकोटले एकै महिनामा डेढ लाख बढी राजश्व संकलन गरेको छ । ट्राफिक नियम उलंघन गर्ने सवारी साधनहरुबाट एकै महिनामा ४ लाख ९१ हजार राजश्व संकलन गरेको हो । यो रकम अहिलेसम्मकै सबैभन्दा बढी हो ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाएको, कागजपत्र नभएको, सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक अनुमति पत्र नभएका जस्ता विषयमा कारबाही गरेको हो । ट्राफिक चेक जाँच कडा हुँदै गएपछि छतमा यात्रु राखेर यात्रा गराउने करिब अन्य हुँदै गएको छ ।
ट्राफिक प्रहरीले कार्तिक महिनामा मात्र ६ सय ४२ वटा सवारीलाई कारबाही गरेको थियो । कार्तिक महिनामा संकलन गरेको राजश्व अघिल्लो महिनाको तुलनामा डेढ लाख बढी हो । ट्राफिक प्रहरी असोज महिनामा ३ लाख ३९ हजार राजश्व संकलन गरेको थियो ।
ट्राफिक चेकजाँच नियमित गर्न थालेपछि दुर्घटना समेत घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख नयन भण्डारीले जानकारी दिए । उनका अनुसार एक महिनाको बीचमा एउटा मात्र दुर्घटना भएको बताए ।
यसरी चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १३ लाख ६३ हजार ट्राफिक राजश्व संकलन भएको छ । जुन रकम आर्थिक वर्ष २०७०÷०७१ को वर्षभरीको जम्मा राजश्वभन्दा पनि बढी हो । ट्राफिक प्रहरीले आ.व ०७०÷७१ मा ७ लाख ५१ हजार ८ सय राजश्व संकलन भएको थियो । आ.व. २०७१÷०७२ मा १४ लाख ३० हजार ९ सय राजश्व संकलन भएको थियो भने २०७२÷०७३ मा १७ लाख १६ हजार राजश्व संकलन भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF