माघभित्र गर्जाङबाट ३ मेगावाट विद्युत थपिने

 आवाज संवाददाता     ७ मंसिर २०७३, मंगलवार

 

गर्जाङ उपत्यका हाइड्रोपावर कम्पनीले माघ भित्रै विद्युत उत्पादन गर्ने भएको छ । गर्जाङ उपत्यकाले प्रबद्र्धन गरेको २.८३ मेगावाटको चाके खोला साना जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना रामेछापको चुचुरे गाविसमा निर्माणाधिन छ ।
आयोजनाको हेडवक्सको बाँध, इन्टेक, बालुवा थिग्रयाउने पोखरी लगाएतको काम पूरा भएको छ । आयोजनाले इन्टेक चुचुरे ४ नयाँ बनबाट २ हजार ७ सय मिटर कुलो निर्माण गरी १ हजार ६ सय ५० मिटर पेनस्टक पाइपमार्फत पानी ल्याएर गर्जाङ बजार नजिकै विद्युत गृहमा खसाल्ने छ ।
गर्जाङ उपत्यका हाइड्रोपावर कम्पनीका अध्यक्ष रवि श्रेष्ठका अनुसार अहिले पेनस्टक पाइप जडान र विद्युत गृहमा उपकरण जडानको काम जारी छ । पेनस्टक पाइप जडानको काम ७० प्रतिशतभन्दा बढी पूरा भएको छ । उपकरण जडान र परीक्षणको लागि ९० दिन जति लाग्ने उनले बताए ।
आयोजनाले गर्जाङदेखि जिरीसम्मको १० किलोमिटर ३३ केभी प्रसारण लाइन समेत आफैंले निर्माण गरेको छ । खिम्ती–गर्जाङ १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि आयोजना आफैंले जिरीसम्मको प्रसारण लाइन निर्माण गरेको हो ।
एक वर्ष अघि आयोजनाको काम पूरा गर्ने लक्ष्य राखेर काम सुरु गरेको भएतापछि २०७२ सालको विनासकारी भुकम्प र नाकाबन्दीका कारण आयोजना एक वर्ष ढिला भएको हो । आयोजनामा नेपाल बैंक र प्रभु बैंकले ३० करोड ऋण लगानी गरेका छन् । आयोजना पूरा हुँदासम्म ५० करोड खर्च हुन सक्ने प्रबद्र्धक कम्पनीका अध्यक्ष श्रेष्ठले बताए ।
आयोजनाले स्थानीयका लागि र सर्वसाधारणका लागि शेयर समेत जारी गर्ने तयारी गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत अर्थात २ करोड बराबरको २ लाख कित्ता शेयर जारी गर्न लागेको हो । स्थानीयका लागि मंसिर भित्रै सूचना जारी हुने उनले बताए । त्यस्तै गरी दोस्रो चरणमा आम सर्वसाधारणका लागि ४ करोड बराबरको ४ लाख कित्ता शेयर जारी गर्ने तयारी छ । आयोजनाको शेयर पुँजी २० करोड रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।