भूकम्पपीडित १५ बालबालिकालाई निजी स्रोतबाट छात्रवृत्ति

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार

 

 

दोलखा, ८ असार÷गत वर्षको विनासकारी भूकम्पमा परी बाबुआमा गुमाएका १५ बालबालिकाहरुलाई दोलखा सुनखानीका समाजसेवी कुलप्रसाद शिवाकोटी (कृष्ण) ले छात्रवृत्ति प्रदान गरेका छन् ।
जिल्लाको सुनखानी गाविस १ का कृष्णले आफ्नो निजी खर्चबाट दोलखाका विभिन्न विद्यालयका विभिन्न कक्षामा अध्ययन गरिरहेका १५ जना बालबालिकाहरुलाई जनही १० हजारका दरले छात्रवृत्ति दिएका हुन् । उनले ती सबै बालबालिकाहरुलाई एसएलसीसम्म अध्ययन गर्न आवश्यक पर्ने सम्पूर्ण खर्च व्यहोरिदिने प्रतिवद्धतासमेत गरेका छन् ।
छात्रवृत्ति पाउनेमा जफे ४ का उज्ज्वल महत र उदीक्षा महत छन् । स्थानीय हिमालय एकेडेमीमा कक्षा यूकेजी र नर्सरीमा अध्ययनरत उनीहरुले गत बैशाख १२ गते बाबु, आमा, हजुरबा र भाइ गुमाएका थिए । अहिले उनीहरु हजुरआमा र फुपुको आश्रयमा बसिरहेका छन् । उनीहरुका फुपुको मासिक ३ हजार आम्दानीबाट परिवारको गुजारा गरिरहेका छन् ।
त्यसैगरी लापिलाङ ५ का डिकबहादुर थामीका छोराहरु रमेश, दिनेश, दिपेश र विशेषले पनि छत्रवृत्ति पाएका छन् । उनीहरुको बाबु डिकबहादुर थामीको विनासकारी भूकम्पमा परी ज्यान गएको थियो भने आमा त्यसपछि अर्कैसँग गएकी थिइन् । अहिले उनीहरु ८३ वर्षकी हजुरआमाको आश्रयमा बसिरहेका छन् । उनीहरुको पठनपाठन तथा पालनपोषणका लागि कालीनाग उच्च मावि, सिँगटीले बालबालिका सहायता कोष खडा गरिदिएको र त्यही कोषमा जम्मा भएको रकमबाट उनीहरुको खर्च टारी दिने गरेको प्रधानाध्यापक दाताराम नेपालले बताए ।
त्यस्तै गत वर्षको विनासकारी भूकम्पमा बाबु गुमाएकी लामाीडाँडा ५ की देवी पाठक, आमा गुमाएका लामीडाँडा ५ कै श्रेजन श्रेष्ठ, बाबु गुमाएका लामीडाँडा ६ का भीमकुमार थामी, बाबुआमा नै गुमाएका भीमेश्वर नगरपालिका ५ का लक्ष्मी चौलागाईँ, कैलाश चौलागाईँ, मुनाल बस्नेत र मनिका बस्नेतले पनि जनही १० हजार छात्रवृत्ति पाएका छन् ।
उनीहरुलाई नगद छात्रवृत्ति दिँदै कृष्णले रकमको सदुपयोग गर्न आग्रह गरे । उनले आफू स्कुल जाने बेला भएको आर्थिक अभाव सम्झँदै पढाइका लागि कुनै खर्चको अभाव भए आफूलाई नहिच्किचाइ भन्न पनि आग्रह गरे । उनीहरुलाई एसएलसीसम्म अध्ययनका लागि लाग्ने पोषाक, स्टशेनरी, फी सबै खर्च आफूले गरिदिने उद्घोष पनि गरे । छात्रवृत्ति वितरणको लागि हुराडेक नेपालले संयोजन गरेको थियो ।
गत फागुन अन्तिम साता सुनखानीका ३८ विपन्न परिवार र छिमेकी सुन्द्रावतीका १७ परिवार गरी जम्मा ५५ परिवारलाई निजी आवास निर्माणका लागि कृष्णले निजी स्रोतबाट २० लाख रुपैयाँ वितरण गरेका थिए । त्यसैगरी उनले सुनखानीका नौ विद्यालय र सुन्द्रावतीका एक विद्यालय गरी १० विद्यालयका एक सय १५ विद्यार्थीहरुलाई एक हजारका दरले एक लाख १५ हजार रुपैयाँ छात्रवृत्ति बाँडेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।