दोलखामा डेढ सय हेक्टरमा १० मेट्रिक टन किबी उत्पादन

 आवाज संवाददाता     ८ मंसिर २०७३, बुधबार

दोलखा, मंसिर ८ । दोलखामा यो वर्ष १० मेट्रिक टन किबी उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयले किबी उत्पादक किसानहरुसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उक्त जानकारी दिएको हो । दोलखामा १ सय ५० हेक्टरमा किबी खेती भइरहेको छ ।

img_2440
केही वर्षयता किसानहरु किबी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कृषि विकास कार्यालय दोलखाका प्रमुख नारायण कुमार श्रेष्ठका अनुसार दोलखालाई किबी र अलैंचीमा सरकारले समेत पकेट क्षेत्रको रुपमा राखेकाले यस तर्फ आकर्षित भएका हुन् । यसलाई थप विस्तारका लागि कार्यालयले पहल गरिरहेको उनले बताए ।
दोलखामा ५ सय किसान यसको व्यवसायिक खेतीमा लागेका छन् । जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत मनहर कडरियाले जिल्लाभर १० वटा नर्सरीबाट यस वर्ष ५० हजार विरुवा उत्पादन हुने जानकारी दिए । हिमाली आयोजनाले १५ जना किसानलाई सहयोग गरेको छ ।
दोलखाको बोचमा रहेको शीतोष्ण फलफुल रुटस्टक विकास केन्द्र्रलाई सरकारले किबीको स्रोत केन्द्र बनाएको छ । उसले ४ वर्षयता किबीको अनुसन्धान, परीक्षण, किसानहरुलाई तालिम र विरुवा उत्पादनको काम समेत गर्दै आएको छ । केन्द्रका प्रमुख शम्भुप्रसाद ढकालले किबीमा अरु फलहरुभन्दा बढी पौष्टिक गुणकारी र स्वास्थ्यवद्र्धक भएको बताए ।
संसारमा छोटो समयमा सबैभन्दा छिटो फैलिएको फल भएकाले बजार राम्रो भएको केन्द्रका प्रमुख दाहालले बताए । उनले देशका पहाडी भेगमा १० लाख हेक्टरमा किबी खेती गर्न सकिने बताए । केही वर्षसम्म काठमाडौंका सुपरमार्केटमा विदेशबाट ल्याएर किबी बिक्री हुँदै आएको थियो ।
कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख मिनबहादुर बुढाथोकीले किबीको बजार विश्वभर रहेकाले किसानहरुले चिन्ता लिनु नपर्ने बताए । केही अघि मात्र दुबईमा ८ टन किबीको माग आएको उल्लेख गर्दै गुणस्तरीय उत्पादन र व्यवसायिकतामा ध्यान दिन उनले किसानहरुलाई आग्रह गरे ।
नेपालमा ८ प्रकारका किबी खेती हुँदै आएको छ । हेवार्ड, ब्रुण, ऐलिसन, मन्टी, रेड किबी, गोल्डेन किबी, मिनी किवी र एबोड किबी रहेको छ ।

किबी उत्पादक किसान संघ गठन

किबी उत्पादक किसानहरु संगठित भएका छन् । भीमेश्वर नगरपालिका १० सिमपानीका किबी उत्पादक श्याम खड्काको अध्यक्षतामा दोलखाका किबी उत्पादक संघ गठन भएको हो । जिल्ला कृषि विकास कार्यालय दोलखाको पहलमा बुधबार गठन भएको संघको सचिवमा किरण खड्का, कोषाध्यक्षमा पासाङ तेन्जी शेर्पा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा गणेशकुमार श्रेष्ठ, लब खड्का, सकुन बुढाथोकी, मेनकाजी खड्का, रामकुमार गुरुङ र बलराम थापा रहेका छन् । नेपालमा किबी किसानहरुको यो नै पहिलो संगठन हो ।
त्यसैगरी वरिष्ठ कृषि विकास अधिकृत नारायणकुमार श्रेष्ठ, शीतोष्ण फलफुल रुटस्टक विकास केन्द्रका प्रमुख शम्भुप्रसाद दाहाल र वागवानी विकास अधिकृत मनहर कडरिया रहेको संघको सल्लाहकार समिति समेत गठन गरिएको छ ।
स्वीस नागरिक जेफ एफ मसीले २०४३ सालतिर श्यामकै घर छेउमा २ वटा किबीका विरुवा ल्याएर रोपेका थिए । त्यही नै नेपालको पहिलो पटक भित्रिएको किवी भएको अनुमान छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF