विप्लव माओवादी नेता विनासर्त रिहाइको माग

 आवाज संवाददाता     ११ मंसिर २०७३, शनिबार

नेकपा माओवादी विप्लवको दोलखा संगठन समितिले आफ्ना २ नेतालाई विनासर्त रिहाइको माग गरेको छ । जिल्ला सचिवालय सदस्य राजन धनुकेले शनिबार एक विज्ञप्ती जारी गर्दै आफ्ना २ नेतालाई रिहाइ नगरे संघर्षको कार्यक्रम गर्ने बताए ।
गत विहीबार पार्टीका जिल्ला सेक्रेटरी अर्जुन योगी र सचिवालय सदस्य राम ढुङ्गेललाई प्रहरीले पक्राऊ गरेको छ । गत कार्तिक २७ गते राती भीमेश्वर नगरपालिका १ चरिघ्याङमा बिक्रम कार्कीको घरमा पार्किङ गरी राखेको २ मोटरसाइकल र एक कार आगजानीको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । मोटरसाइकल जिविस दोलखा र गुणराज पोखरेलको साथै कार इन्द्र श्रेष्ठको रहेको छ ।
सोही आरोपमा पक्राउ परेका माओवादी नेताहरु यादव दाहाल र कमलकान्त ओलीलाई भेट्न पुगेका दुवै नेतालाई प्रहरीले कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । योगी र ढुङ्गेल पक्राऊ परेपछि यादव र ओली भने शुक्रबार रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालयमा नेकपा माओवादी विप्लवका ताम्सालिङ पूर्वी व्यूरो इन्चार्ज भरत बम रणवीर र मनिक लामा समेत साथमै आएका थिए ।
आफ्ना नेता पक्राऊको विरोधमा नेकपा माओवादी ताम्सालिङ पूर्वी व्यूरोका इन्चार्ज रणविरले समेत तत्काल रिहाइको माग गर्दै शुक्रबारै विज्ञप्ती जारी गरेका थिए । मोटरसाइकल र गाडी आगजानीमा आफ्नो पार्टी कुनै पनि संलग्नता नरहेको विप्लव माओवादीले दाबी गर्दै आएको छ । विप्लव माओवादीका नेता राजन धनुकेले घटनाको स्वतन्त्र छानविनका लागि समेत माग गरेका छन् ।

bip-banda

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF