विप्लवका कार्यकर्ता छाड्न मालेको माग

 आवाज संवाददाता     १२ मंसिर २०७३, आईतवार

दोलखा, मंसिर १२/नेकपा माले दोखलाले जिल्ला प्रहरी कार्यालयद्वारा पक्राउ गरिएका नेकपा माओवादी विप्लवका नेता कार्यकर्ता रिहाईको माग गरेको छ ।
नेकपा माले जिल्ला कमिटी दोलखाले आज प्रेस विज्ञप्ति प्रकाशित गरी गत कात्तिक २८ गते विहान २ बजे चरिघ्याङस्थित शुभेच्छा होटलसँगै तीनवटा गाडीमा आगजनी भएको घटनालाई लिएर पक्राउ गरिएका विप्लव माओवादी नेता कार्यकर्ता रिहाइ गर्न माग गरेको हो ।
विप्लव माओवादीले गत कात्तिक २८ गते बन्दको आयोजना गरेकोमा सोही राती जिल्ला विकास समिति र गुणराज पोखरेलको एकएकवटा मोटरसाइकल र दोखला उद्योग वाणिज्य संघका महासचिव इन्द्र श्रेष्ठको गाडी जलेर क्षति भएको थियो । विप्लव माओवादीले भने सो घटनामा आफूहरुको संलग्नता नभएको बताउँदै आएको छ । यस घटनालाई लिएर दोलखा प्रहरीले माओवादी विप्लवका यादव दाहाल र कमलकान्त ओलीलाई पक्राउ गरेको थियो । यादव र ओलीलाई भेट्न गएका पार्टी जिल्ला सक्रेटरी र सचिवालय सदस्य राम ढुङ्गेललाई प्रहरीले पक्राउ गरेपछि नेकपा माले दोलखाले आज विज्ञप्तिमार्फत उनीहरुको रिहाईको माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एक राजनीतिक दलले आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा भएको घटनाको बन्द आयोजक दलले जिम्मेवारी नलिनु तथा प्रशासनले सोही दलका नेताकार्यकर्तामाथि गिरफ्तारी थाल्नुले स्थितिलाई अन्योलग्रस्त बनाएको छ ।’ घटना उक्त दलबाट योजनाबद्ध ढंगले घटाइएको पुष्टि हुने आधार भए तिनलाई सार्वजनिक गर्न आग्रह गरिएको छ । तर विज्ञप्तिमा कतै पनि माओवादी विप्लवको नाम उल्लेख गरिएको छैन ।
कुन पनि सरकारी कार्यालयमा भइरहेको राज्यका स्रोतसाधनहरुको दुरुपयोग र सुरक्षामाथि बढ्दो हेलचक्¥याइँ तत्काल बन्द गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला पार्टीको यो बैठक पीडितलाई क्षतिपूर्ति र राजनीतिक गिरफ्तारीको यथाशीघ्र रिहाइको माग गर्दछ ।’

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF