विप्लव माओवादीको दोलखा बन्द फिर्ता

 आवाज संवाददाता     १२ मंसिर २०७३, आईतवार

दोलखा, मंसिर १२/नेकपा माओवादी विप्लवले आव्हान गरेको चक्काजाम र दोलखा बन्द कार्यक्रम फिर्ता लिएको छ । माओवादीले आफ्ना नेता पक्राउ परेको विरोधमा मंसिर १३ गते चक्काजाम र मंसिर १६ गते दोलखा बन्दको आव्हान गरेको थियो ।
समय र परिस्थितिका कारण अहिले तत्कालका लागि चक्काजाम र बन्दका कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी विप्लव समूहका दोलखा सचिवालय सदस्य राजन धनुकेले जानकारी दिए । बन्दले जनतालाई पनि कष्ट हुने र सरकारी पक्षबाट आफ्ना पक्राउ परेका नेताका बारेमा सकारात्मक सन्देश आएकाले संघर्षका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बताए ।
विप्लव माओवादीले गत कात्तिक २८ गते बन्दको आयोजना गरेकोमा सोही राती जिल्ला विकास समिति र गुणराज पोखरेलको एकएकवटा मोटरसाइकल र दोखला उद्योग वाणिज्य संघका महासचिव इन्द्र श्रेष्ठको गाडी जलेर क्षति भएको थियो । विप्लव माओवादीले भने सो घटनामा आफूहरुको संलग्नता नभएको बताउँदै आएको छ । यस घटनालाई लिएर दोलखा प्रहरीले माओवादी विप्लवका यादव दाहाल र कमलकान्त ओलीलाई पक्राउ गरेको थियो । यादव र ओलीलाई भेट्न गएका पार्टी जिल्ला सक्रेटरी अर्जुन योगी र सचिवालय सदस्य राम ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF