माथिल्लो तामाकोशीको सुरुङमार्ग खुल्यो, लामाबगर आवतजावत सहज हुने

 आवाज संवाददाता     १५ मंसिर २०७३, बुधबार

दोलखा, मंसिर १५ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लामाबगरस्थित बाँधस्थल पुग्ने पहुँचमार्गको लागि निर्माण भइरहेको सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ भएको छ ।
काब्रेभिरबाट ३ सय ३७ मिटरको सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज भए पनि सवारी सञ्चालन भने ३ दिनपछि मात्रै हुने आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । ‘प्रोट्क्सन’ को काम गर्न दुईतीन दिन लाग्ने भएकोले त्यसपछि मात्रै यातायात चलाउन सकिने प्रवक्ता न्यौपानेले बताए ।

road-tunnel-2
यो सुरुङमार्ग निर्माणसँगै बाँधस्थलसम्म पुग्ने पहुँचमार्ग खुलेको छ भने २०७२ बैशाख १२ पछि रोकिएको लामाबगरस्थित बाँधस्थलको काम पुनः सुरु गर्न मार्गप्रशस्त भएको छ ।
गत २०७२ बैशाख १२ को विनासकारी भूकम्पले गोँगर–लामाबगर खण्डको काब्रेभिर क्षेत्रमा सडक भत्किएपछि सुरुङमार्ग निर्माण गरिएको हो । भिर काटेर निर्माण गरिएको सडक भूकम्पले भत्किएर त्यही ठाउँबाट सडक लैजान कठिन भएपछि काब्रेभिरबाट सुरुङमार्ग निर्माण गरिएको हो । सडक भत्किएर यातायात अवरुद्ध भएपछि अहिलेसम्म बाँधस्थलको काम हुन सुरु हुन सकेको छैन ।

road-tunnel

सुरुङमार्ग निर्माणसँगै यातायात सञ्चालन भै बाँधस्थलको काम सुरु गर्न बाटो खलेको छ भने लामाबगर र लप्चीका स्थानीय बासिन्दालाई आवागमन पनि सहज भएको छ

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।