मंसिर १६देखि चर्नावती खोला जलविद्युत आयोजनाको स्थानीयलाई सेयर

 आवाज संवाददाता     १६ मंसिर २०७३, बिहीबार

चर्नावती खोला जलविद्युत आयोजनाको प्रबद्र्धक नेपाल हाइड्रो डेभलपर लिमिटेडले दोलखाका आयोजना प्रभावितका लागि दुई लाख ६० हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ । प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यमा कम्पनीले दोलखाको भिमेश्वर ८, ९ र ११, मागपौवा ५ र काटाकुटी ६ का बासिन्दाका लागि उक्त शेयर निष्काशन गरेको हो ।

३.५२ मेगावाट क्षमताको चर्नावती खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको कम्पनीले हाल अधिकृत पूँजी ६० करोड रहेको छ । १९ करोड ५० लाख रुपैंया चुक्ता पूँजी रहेको कम्पनीले शेयर निष्कान योग्य २६ करोडको १० प्रतिशतले हुने २ करोड ६० लाख रुपैंयाको शेयर आयोजना प्रभावितका लागि निष्काशन गरेको हो । आयोजना प्रभावितका लागि शेयर निष्काशन गरे पश्चात कम्पनीले सोही पूँजीको १५ प्रतिशत अर्थात तीन लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ । त्यस पछि कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

आयोजना प्रभावितहरुले हाइड्रोको प्राथमिक शेयरका लागि अरनिको डेभलपमेण्ट बैंक दोलखा, तथा चरिकोट शाखा, कालिञ्चोक डेभलपमेण्ट बैंकको चरिकोट तथा बाघखोर शाखामा सम्पर्क गर्नु पर्ने हुन्छ । लगानीकर्ताले डिम्याट खाता खालेर साधारण शेयरमा आवेदन दिएको खण्डमा पछि शेयर अभौतिकीकरण गराउने झण्झट नहुने भएकाले डिम्याट खाता हुनेले डिम्याट खाताको विबरण राखेर तथा नहुनेले डिम्याट खाता खोलेर विबरण सहित आवेदन दिन सक्नेछन् । मंसिर १६ गतेबाट निष्काशन भएको शेयरका लागि छिटोमा पुस १० तथा ढिलोमा माघ दुई गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ । यसको अर्थ कम्पनीको वित्तीयस अवस्थामा सामान्य मात्र रहेको बुझिन्छ । नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिको सभापति ज्ञानेन्द्रलाल प्रधान हाइड्रो पावरको अध्यक्ष छन् भने महासंघका अध्यक्ष पशुपति मुरारका, सांसद आनन्दप्रसाद पोखरेल लगायत सञ्चालक रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF