तामाकोसीको सेयर वितरण अध्ययनका लागि कार्यदल बन्यो

 आवाज संवाददाता     १६ मंसिर २०७३, बिहीबार

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थानीयलाई सेयर जारी गर्नका लागि ३ सदस्यीय कार्यदल बनेको छ । आयोजना सहयोगका लागि बनेको जिल्लास्तरीय समन्वय समितिको विहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यदलमा संयोजक आयोजनाका प्रवक्ता तथा वातावरण विभाग प्रमुख डा. गणेश न्यौपाने र सदस्यहरुमा जिविस दोलखाका वरिष्ठ आलेप अधिकृत जगदीश अर्यालय र इन्जिनियर नारायण शिवाकोटी रहेका छन् ।
कार्यदलले दोलखाबासीका लागि वितरण गर्ने १० प्रतिशत सेयरलाई कुन मोडेलमा वितरण गर्ने भन्ने अघिल्लो तथ्याङ्क समेत विश्लेषण गरी अध्ययन गर्ने छ । कार्यदलको अध्ययन प्रतिवेदनकै आधारमा सेयर जारी गर्ने प्रक्रिया सुरु गर्ने अपर तामाकोसी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत समेत रहेका आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले संशोधिन धितोपत्र नियमावली २०७३ को आधारमा जारी गर्ने बताए । कार्यदललाई आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदनको प्रभावितलाई समेत आधार मानेर अध्ययन गर्न अख्तियारी दिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धक नागरिक लगानी कोषले चालु आर्थिक वर्षभित्र स्थानीय दोलखाबासीलाई सेयर जारी गर्ने लक्ष्य राखेको छ । दोलखाबासीलाई सयेर जारी गरेपछि सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्कासन हुने छ ।
दोलखाबासीले १ अर्ब ६ करोड र दोलखाबाहेकका सर्वसाधारणले १ अर्ब ५८ करोड बराबरको तामाकोसीको सेयर पाउँछन् । यस अघि आम सञ्चयकर्ता, आयोजना र विद्युत प्राधिकरणका कर्मचारी, ऋण लगानी गर्ने कम्पनीका कर्मचारीहरुको सेयर संकलन भइसकेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।