आवाज संवाददाता     १६ मंसिर २०७३, बिहीबार

आज मंसिर १६ गते । नेपाली राजनितिभित्रका इमान्दारिता र निष्ठाका धरोहर स्वर्गीय भीमबहादुर तामाङको चौथो स्मृति दिवस ! २०६९ साल आजकै दिन राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा तामाङको निधन भए लगत्तै कांग्रेस नेताहरुले एउटा उद्घोष गरे । ‘नेपालको राजनीतिमा यति निष्ठा र त्याग बोकेका आदर्श पुरुष कमै पाइन्छ, त्यसैले उहाँको मार्गदर्शन र विचारलाई जीवन्त राख्ने गरी विभिन्न कामहरु गरिनेछ ।’
लगत्तै कांग्रेस केन्द्रीय समितिले वीपीपुत्र एवम् हालका महामन्त्री सशांक कोइरालाको संयोजकत्वमा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठान गठन गरियो । उनको नाममा राजमार्ग नामाकरण गर्ने, केन्द्रीय कार्यालयमा सभाहल, पुस्तकालय निर्माण गर्ने बनाउने, शालिक निर्माण गर्ने, गृह गाउँमा उनका विकास सपना पूरा गर्न कलेज, अस्पताल स्थापना गर्ने लगायत थुप्रै आश्वासन बाँडिए ।
तर कोइरालाको संयोजकत्वमा गठित प्रतिष्ठान तीन वर्षदेखि अलपत्र छ । कांग्रेस नेताहरुका अनुसार काठमाडौ जिल्ला प्रशासनमा दर्ता भएको प्रतिष्ठान ३ बर्ष देखि नवीकरण समेत भएको छैन । यस्तै राजधानीस्थित तामाङको समाधिस्थलमा छोर्तन र शालिक बनाउन सरकारले ४ आना जग्गा दिए पनि शालिक र छोर्तेन निर्माणको काम समेत अघि बढ्न नसकेको भन्दै कार्यकर्ताले गुनासो गरेका छन् । उनको गृह गाउँ झुलेमा तामाङको नाममा विकासका पूर्वाधार निर्माण गरिने केन्द्रीय नेतृत्वको आश्वासन समेत त्यत्तिकै थाँती रह्यो ।
तामाङलाई केन्द्रीय कांग्रेसले भुलिरहँदा जिल्लाबासीले भने बिभिन्न कार्यक्रम गरी उनको सम्झना गरेको छ । सदरमुकाम चरिकोटमा बिहिबार उनको सम्झनामा भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्रले भीमबहादुर तामाङ स्मृति भलिबल प्रतियोगिता आयोजना गर्यो ।
पार्टीको जिल्ला कार्यालयमा नेता कार्यकर्ताले बिहानैदेखि तामाङको तस्विर राखेर माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे । गृह गाउँ झुलेमा समेत गाउँबासीले तामाङको सम्झना गरे । राजधानीको स्वयम्भुस्थित तामाङको समाधिस्थलमा नेपाल तामाङ संघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न गरिएको तामाङ संघका महासचिव एवम कांग्रेसका जिल्ला नेता बर्मा लामाले जानकारी दिए ।

15268062_707530269423857_2202692671812757322_n

 

जिल्लामा पुरुष भलिबल प्रतियोगिता

सदरमुकाम चरिकोटमा बिहिबार दिउँसो तामाङको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता कांग्रेसका पूर्व महामन्त्री एवम केन्द्रीय सदस्य प्रकाशमान सिंहले उद्घाटन गरे ।
उद्घाटन समारोहमा सिहंले स्वर्गीय भीमबहादुर तामाङलाई सरल जीवन उच्च विचारका धनी नेताको रुपमा आफूले चिनेको बताए । प्रजातन्त्रका लागि संघर्षरत भीमबहादुर तामाङ आफू राजनीतिक फाइदाका लागि कहिल्यै नलागेको र देश र जनतालाई सार्वभौम तुल्याउन जीवनभर लागेको उनले बताए ।

img_2928
उपसभापति सिंहले संविधानलाई प्रभावकारी कार्यान्वयन गर्न र राजनीतिक अस्थीरता हटाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताए । उनले नयाँ संविधानअनुसार ३ तहको निर्वाचन गराउने वातावरण बनाउन र विकास निर्माण कार्य अघि बढाउन संविधान संशोधन प्रस्ताव दर्ता भएको जिकिर गरे ।

img_2920
गाविसस्तरीय प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार रुपैयाँ, शील्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले ३० हजार र तेस्रो हुने टिमले २० हजार रुपैयाँसहित शील्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा जिल्लाका १५ टिमको सहभागिता रहेको छ ।

img_2897
भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्र चरिकोटले प्रतियोगिताको आयोजना गरेको हो । केन्द्रका अध्यक्ष नानीकाजी तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, नेपाली कांग्रेस दोलखाका नेता ईश्वरनारायण मानन्धर, जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष हीरा थोकर, नेविसंघ दोलखाका पूर्व अध्यक्ष राकेश श्रेष्ठ लगायतले स्वर्गीय नेता भीमबहादुर तामाङको योगदानको चर्चा गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF