‘रोड टनेल’ निर्माणपछि आयोजना लयमा फर्किएको छः आयोजना प्रमुख

 आवाज संवाददाता     १७ मंसिर २०७३, शुक्रबार


माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणाधीन जलविद्युत् आयोजनाहरु मध्ये मुलुककै सबैभन्दा ठूलो हो । आयोजनाको कुल जडित क्षमता ४५६ मेगावाट रहेको छ । यो स्वदेशी लगानीमा निर्माणाधीन आयोजना हो । यसबाट वार्षिक २ अर्ब ४५ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान छ । यो क्षमता अहिले विद्युत् प्राधिकरणको जडित क्षमताको आधाभन्दा बढी हो । नियमित गतिमा काम हुँदा २०७३ साउनमा उत्पादन गर्ने लक्ष्य थियो । तर २०७२ बैशाख १२ को विनासकारी भूकम्प र नाकाबन्दीले थला परेर यो २ वर्ष पर धकेलिएको छ । भूकम्पले प्रवेशमार्ग क्षतविक्षत भएपछि वैकल्पिक रुपमा सुरुङमार्ग निर्माण सुरु गरेको थियो । त्यो सुरुङमार्ग ३ सय ३७ मिटरको बुधबार मात्र पूरा भएको छ । सुरुङमार्ग पूरा भएपछि आयोजनाको गतिमा उत्साह थपिएको छ । हालसम्म आयोजनाको ८३ प्रतिशत भौतिक प्रगति भएको छ ।

यसै सन्दर्भमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठसँग गरिएको कुराकानी ।

  • २०७३ साउनमा पूरा गर्ने लक्ष्य राखेको आयोजना अब २०७५ को असारसम्म पूरा गर्ने संशोधित तालिका बनाएका छौँ ।
  • बढेको २ वर्षको प्रशासनिक खर्च, निर्माण सामाग्रीको बढेको बजार मूल्य, बढेको समयको ऋणको व्याज, डलरको मूल्य वृद्धि भए अनुसारको खर्च नै बढ्ने हो ।
  • बढेको लागत ऋण थप गरेर वा इक्विटी थप गरेर पनि यसको व्यवस्थापन गर्न सकिन्छ ।
  • सेयरको व्यवस्थापन पनि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ ले व्यवस्था गरे अनुसार हामीलाई पनि सहज गरिदिएको छ ।
  • निर्णय छिटो हुने भएकैले पनि यसको काम छिटो भएको हो ।
  • डाइभर्सनको सुरुङ बनाउनु नै थियो त्यहाँ २५ मेगावाटको पावर हाउस बनाउँदा सुरुङ उपहार जस्तै आउँछ ।
  • २०७५/७६ देखि सेयर हाल्नेले प्रतिफल पाउँछन् ।

bigyan2अस्ति मात्र ‘रोड टनेल’ ‘ब्रेक थ्रु’ भयो, यो सफलताले आयोजनामा कस्तो सञ्चार भएको छ ?
‘रोड टनेल’ आयोजनाको एक कोसेढुङ्गो हो । किनभने भूकम्पले काब्रेभिरमा रोडको ठूलो क्षति भयो । त्यसले आयोजनाको हेडवक्र्ससम्म जाने बाटो नै रहेन । त्यसले आयोजनाको हेडवक्सको काम सुरु गर्न सकेका थिएनौँ । अहिले वैकल्पिक उपायको रुपमा रोड टनेल खुलेको छ । अब
आयोजनाको हेडवक्र्स लगायतका सबै क्षेत्रको
काम अगाडि बढाउन सहज भएको छ ।
राष्ट्रिय गौरवका आयोजनामध्येकाे माथिल्लो तामाकोशी जलविद्युत् आयोजना भूकम्पले थलिएर उठेको छ, अब यसको कामले गति लिएकै हो ?
हाम्रो हिसावले भन्दा गति लिएकै हो । केही समस्या त छन् । साइडमा देखिने कन्ट्रक्सन वक्र्स मात्र हो । भूकम्प गएदेखि नै थप समस्या नहोस् भनेर नै ठेकेदार परिचालनमा ध्यान दिएका थियौँ । अहिले करिब पूर्ववत अवस्थामा फर्किएकाले अब यसले गति लिएकै मान्नुपर्छ ।
भूकम्पले आयोजनालाई मुख्य रुपमा के कति क्षति पु¥यायो ?
भूकम्पले मुख्य रुपमा प्रवेशमार्ग क्षति पु¥याएको हो । प्रवेशमार्गकै कारण अरु काम हामीले अगाडि बढाउन नसकेको हो । बाँध १९ सेन्टिमिटर धस्सियो । हामीले ३ महिनाभित्रै अमेरिकन विज्ञ टोलीलाई ल्याएर स्थलगत अध्ययन गरायौँ । उनीहरुबाट ‘धेरै ठूलो असर छैन व्यवस्थापन गर्न सकिन्छ’ भन्ने सुझाव आएको छ । त्यही अनुसार व्यवस्थापन गर्न सकिन्छ ।
भूकम्पले लागत त पक्कै बढ्यो होला, अब आयोजना पूरा हुँदा कति खर्च हुने प्रक्षेपण छ ?
भूकम्पले २ वर्ष त प्रत्यक्ष रुपमै समय बढ्यो । भूकम्प नगएको भए यो बेला हामीले आयोजना पूरा गरिसक्थ्यौँ । २०७३ साउनमा पूरा गर्ने लक्ष्य राखेको आयोजना अब २०७५ को असारसम्म पूरा गर्ने संशोधित तालिका बनाएका छौँ । समय बढेकाले पनि लागत बढ्छ । भूकम्पले पु¥याएको संरचनागत क्षति बिमाबाट आउँछ । त्यसबाहेकको खर्च २ वर्षको प्रशासनिक खर्च, निर्माण सामाग्रीको बढेको बजार मूल्य, बढेको समयको ऋणको व्याज, डलरको मूल्य वृद्धि भए अनुसारको खर्च नै बढ्ने हो । हामीले ४४० मिलियन अमेरिकी डलर अर्थात ३५ अर्ब २९ करोडमा पूरा गर्छौं भन्ने सुरुको प्रक्षेपण थियो । अब ४९० मिलियन डलर (४१ अर्ब रुपैंया) देखि ४५ अर्बसम्ममा पूरा गर्न सकिन्छ भन्ने प्रक्षेपण छ ।
बढेको लागत कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
अहिलेको मितिमा आयोजना पूरा हुँदा सुरुमा प्रक्षेपण गरेको लागत ३५ अर्ब २९ करोड हो । विदेशी विनिमयमा आएको परिवर्तनले ४१ अर्बसम्म पुग्ला भन्ने हो । त्यसलाई हामीले व्यवस्थापन गर्न सक्छौँ । त्यो भन्दा पनि बढेर ४५ अर्बसम्म पुग्ला भन्ने अहिले हाम्रो अनुमान छ । यदि त्यस्तो अवस्थामा यति काम गर्दासम्म हाम्रा ऋण लगानीकर्ताहरुले हामीलाई विश्वास गरेका छन् । बढेको लागत ऋण थप गरेर वा इक्विटी थप गरेर पनि यसको व्यवस्थापन गर्न सकिन्छ ।
स्थानीय बासिन्दालाई सेयर दिने मोडालिटीमा यो आयोजना बनेको हो । शेयरकै विषयमा स्थानीय र मजदुरहरुले आयोजनाको काममा पनि यसअघि केही समय अवरोध गरेका थिए । अब यसको व्यवस्थापन कसरी हुन्छ ?
हामीले जति पनि काम गर्ने भनेको देशको विद्यमान ऐन, नियम, कानुनलाई आधार मानेर गर्ने हो । यो सेयरको व्यवस्थापन पनि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ ले व्यवस्था गरे अनुसार हामीलाई पनि सहज गरिदिएको छ । त्यसैका आधारमा हामीले व्यवस्थापन गर्ने हो । नियमावलीमै आयोजना प्रभावितलाई कसरी जारी गर्ने, सर्वसाधारणलाई कसरी जारी गर्ने भन्ने स्पष्ट उल्लेख छ । त्यसमा हामी द्विविधा हुनुपर्ला जस्तो मलाई लाग्दैन ।

स्थानीय र सर्वसाधरणको सेयर सङ्कलनको काम बाँकी छ अब यो काम कहिलेबाट सुरु हुन्छ ?
त्यसकै लागि भनेर हामीले जिल्लामा हिजो (बिहिवार) मात्र राजनैतिक दलहरु, स्थानीय निकाय प्रशासनसँग छलफल ग¥यौँ । यसप्रति सबै सकारात्मक भएको मैले पाएँ । अब विद्यमान धितोपत्र नियमावली अनुसार प्रतिक्रिया अघि बढ्छ । विद्यमान ऐन नियम, हाम्रा तथ्याङ्क समेतलाई अध्ययन गरी के कसरी अघि बढ्ने भन्ने आयोजना र जिविसको एउटा कार्यदल बनेको छ । त्यसलेको गृहकार्य गरेर तथ्य सहितको प्रतिवेदन बुझाउँछ । त्यसका आधारमा नियम अनुसार पहिला स्थानीयको त्यसपछि सर्वसाधारणको सेयर सङ्कलनको काम सुरु हुन्छ ।
तर धितोपत्र नियमावली संशोधनमा नयाँ व्यवस्थाहरु आउनुमा तामाकोसी आयोजनाको ठूलो भूमिका छ । आयोजना प्रभावितलाई १० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था तामाकोसीदेखि नै राखेको हो । अहिले त्यही व्यवस्था धितोपत्र नियमावलीमा आयो । यस्ता केही महत्वपूर्ण विषयहरु छन् । तर स्थानीयलाई सेयर जारी गर्ने काम छिटो गर्नुपर्छ । किनकि फेरि राज्यका कानुन परिवर्तन हुन सक्छन् त्यसो भयो भने हाम्रो काम पनि ढिला हुन सक्छ ।
एक महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको स्थलगत भ्रमण हुँदा आयोजना निर्धारित मितिभन्दा ६ महिना पहिला पूरा भए सम्पूर्ण टिमलाई पुरस्कृत गर्ने उद्घोष गर्नुभएको थियो । के तपाईँहरु प्रधानमन्त्रीले भने जस्तै ६ महिनाअघि पूरा गर्न सक्नुहुन्छ ?
हामी कोसिस गर्छौँ । प्रधानमन्त्रीले जसरी हौसला दिनुभयो, यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । यसले गर्दा आयोजनालाई धेरै किसिमको सहयोग मिल्छ भन्नेमा पनि आशावादी छौं ।
त्यसो भए समस्या केके छन् त ?
केही समस्याहरु त हुन्छन् । त्यसलाई समाधान गर्दै जाने हो । तर हामी प्रयासरत हुन्छौं । आशावादी हुनुपर्छ । हामीले यति समय लाग्ला भनेर समय २०७५ असार मसान्त भनेर निर्धारण गरेका हौँ । सकेसम्म छिटो गर्ने हाम्रो प्रयास जारी रहन्छ ।

राष्ट्रिय गौरवका आयोजनाको सूचीमा त सरकारी डेढ दर्जन बढी आयोजना छन् तर अरुभन्दा बढी प्रगति यसले हाँसिल गरेको छ । यसको पछाडि के कारण छ ?
अरु राष्ट्रिय गौरवका आयोजनाहरुमा पव्लिक सहभागिता छैन । यसमा पब्लिक सहभागिता छ । पीपीपी मोडेल भनिन्छ, त्यसै अनुसार बनेको आयोजना हो यो । त्यसैले यसमा सबैको उत्तिकै उत्तरदायित्व छ । यसले पनि काम गर्न यहाँ छिटो भएको हो । यो स्वायत्त कम्पनी हो । यहाँ निर्णय छिटो हुन्छ । निर्णय छिटो हुने भएकैले पनि यसको काम छिटो भएको हो ।
विद्युत् प्राधिकरण आफैँले निर्माण गरेका अन्य आयोजनाहरुमा समय र लागत अत्याधिक बढ्ने तर तपाईँसहित प्राधिकरणबाटै आएको टिम कम्पनीमा आउँदा चाहिँ आयोजनामा लागत र समय पनि कम हुने ! यसको कारण के हो ?
काम व्यक्तिले गर्ने होइन । सिस्टमले गर्ने हो । यहाँ छिटो निर्णय गर्ने सिस्टम छ त्यही भएर काम छिटो भएको हो । प्राधिकरणमा प्रक्रियागत कारणले निर्णय ढिलो हुन्छ । तामाकोसीमा मात्र होइन, प्राधिकरण अन्र्तगतकै चिलिमे कम्पनीले बनाएका आयोजनाहरु पनि राम्रै छन् । त्यहाँ पनि निर्णय चाँडो भएर हो । तुलनात्मक रुपमा हेर्ने हो भने कम्पनीमा भन्दा प्राधिकरणमा निर्णय ढिलो नै हुन्छ ।
तपाईँको नेतृत्वमा यो आयोजना सफल भएपछि अब यो भन्दो ठुलो आयोजनाका लागि पनि पक्कै पनि आँट आएको होला नि ?
त्यो त पक्कै हुन्छ । चिलिमेले स्वदेशी लगानीमै २० मेगावाटको आयोजना बनाउँदा त्यसैको आँटले अहिले २७० मेगावाटको आयोजना त्यही कम्पनीले बनाउँदै छ । अन्य आयोजनाहरुको पनि अध्ययन जारी छ । त्यसैको निरन्तरता स्वरुपमा यो ४५६ मेगावाटको तामाकोसी आएको हो । यसको सफलताले यो भन्दा ठूला र अरु आयोजना बनाउन आत्मबल मिल्छ । तर हामी आशावादी हुनुपर्छ, निराशावादी हुनुहुन्न ।
तामाकोसीको सफल निर्माण गरिरहेको कम्पनीले यो आयोजना पूरा हुने वित्तिकै अर्को आयोजना अगाडि बढाउने कुनै गृहकार्य पनि भएको छ कि ?
हाम्रो मुख्य ध्यान भनेको यो आयोजना कसरी पूरा गर्ने भन्ने मै छ । योसँगै सुख्खा याममा ऊर्जा बढाउन रोल्वालिङ डाइभर्सनको काम हुन्छ । रोल्वालिङ डाइभर्सनबाट हिउँदमा मात्र १ सय ७० गिवावाट ऊर्जा बढ्छ । त्यो पनि अत्यन्तै सुख्खा मौसममा हो । त्यो भनेको कुलेखानी १ जतिकै क्षमताको हो । हाम्रो ध्यान अहिले यसमा मात्र छ । रोल्वालिङ डाइभर्सन गर्दा छोटो सुरुङमा २ सय मिटर हेड हुने रहेछ । त्यसमा अर्को २५ मेगावाटको पावर हाउस बनाएर अर्को आयोजना बनाउन लाइसेन्स पनि आवेदन गरेका छौँ । रोल्वालिङ डाइभर्सनको सुरुङ बनाउनु नै थियो, त्यहाँ २५ मेगावाटको पावर हाउस बनाउँदा सुरुङ उपहार जस्तै आउँछ । यो आयोजना पनि अत्यन्तै सस्तो हुन्छ । ४५६ मेगावाटपछिको आयोजनामा त्यसलाई राखेका छौँ । यो भन्दा ठूलो किन नसोचेको भन्दा मुख्य कुरा ४५६ मेगावाटको आयोजनामा ध्यान हो । अन्त ध्यान दिँदा यही पनि चिप्लिएला भन्ने हो । त्यसपछि कम्पनी चुप लागेर बस्दैन । अरु आयोजना बनाउँछ, योजनामा छ ।
भूकम्पले थलिएकोमा अहिले आयोजनाको काम लयमा आएको छ । अब ठ्याक्कै बत्ती चाहिँ कहिले बल्छ ?
हाम्रो लक्ष्य २०७५ असारबाट उत्पादन सुरु गर्ने हो । तर अवरोधहरु आएनन् भने २/४ महिना अगाडि नै पनि पूरा हुन सक्छ । व्यवहारिक रुपमा अवरोधहरु आए भने २/४ महिना पछि धकेलिन पनि सक्छ ।
यति ठुलो आयोजना बनाउँदा समस्याहरु पनि आए होलान् नि ! केके छन् ?
मुख्य समस्याहरु चाहिँ सक्किसके । लगानी जुटाउने कुरा, अन्य प्रशासनिक कुरा पूरा भइसके । स्थानीयको सेयरका कुरा थियो, त्यो पनि अब सेयरबारे स्थानीयले धेरै बुझे जस्तो लागेको छ । पछिल्लो बैठकमा यसबारे धेरै कुरा आएका छैनन् । अब भनेको कुनै नसोचेको समस्या आयो भने मात्र हो, नत्र समस्या खासै छैन ।
तामाकोसी आयोजनामा सेयर लगानी गर्नेले असाध्यै राम्रो प्रतिफल पाउँछन् भनिन्छ । खासगरी सेयरधनीहरुले प्रतिफल चाहिँ कहिलेदेखि पाउँछन् ?
प्रतिफल भनेको आयोजनाले उत्पादन दिन थालेपछि पाउने हो । अहिले आयोजना पूरा भएको भए अर्को वर्षदेखि सेयर हाल्नेले प्रतिफल पाउँथे । अब आयोजना २०७५ असारमा सकिने लक्ष्य राखेकाले त्यसको एक आर्थिक वर्ष पूरा भएपछि अर्थात २०७५/७६ देखि सेयर हाल्नेले प्रतिफल पाउँछन् ।
तामाकोसी आयोजनामा तपाईँको टिमले यत्रो समय काम गर्दा सम्झनालायक क्षणहरु के छन् ?
आयोजनामा मैले व्यक्ति विशेष भन्नु भएन, समग्र टिमले गरेको हो । मैले मात्र गरेर यहाँसम्म आउन सक्दैनथ्यो । तर मृगेन्द्र सर (मृगेन्द्रबहादुर श्रेष्ठ) लगायतका व्यक्तिहरुलाई सम्झनै पर्छ । भूकम्पले थला परेको आयोजना अहिले पुरानै लयमा फर्काउन सकियो, सबैभन्दा खुशी नै यही हो । बेलाबखत तितामिठा क्षणहरु पनि भए तर त्यसलाई कालकुट विष सम्झेर म आफैँ लिन्छु ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF