तोकिएकै समयमा स्थानीय निर्वाचन हुने मन्त्री लेखकको दावी

 आवाज संवाददाता     १८ मंसिर २०७३, शनिबार

दोलखा, मंसिर १८/भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले तोकेकै समयमा स्थानीय निर्वाचन हुने दावी गरको छन् ।
आफ्नो निजी भ्रमणमा दोलखा आएका मन्त्री लेखकले नेपाली कांग्रेस दोलखाले आयोजना गरेको कार्यक्रममा जसरी पनि स्थानीय चुनाव हुने दावी गरको हुन् । उनले भने, ‘स्थानीय तहको नयाँ संरचनाअनुसार हुन्छ कि पुरानै संरचनाअनुसार हुन्छ, तर चुनाव चाहिँ हुन्छ हुन्छ ।’ उनले चुनावका लागि अहिल्यैदेखि तयार गर्न पार्टीलाई निर्देशन पनि दिए ।
मुलुकमा अहिले दुईवटा अतिवाद रहेको र ती अतिवादीका कारण संविधान संशोधनमा समस्या आएको बताए । उनले अहिलेको संविधान कागजको खोस्टोबाहेक केही होइन भन्ने एउटा अतिवाद र वर्तमान संविधानमा कमा, पूर्णविरामसमेत फेर्नुहुँदैन भन्ने अर्को अतिवाद रहेको जिकिर गरे ।

20161203162652_img_3449
उनले सीमाङ्कनका विषयमा एमाले इमानदार नभएको जिकिर गरे । अहिले संशोधन गर्न खोजिएको सीमाङ्कन नेपाली कांग्रेस र एमालेकै एजेण्डा भएको उनले बताए । ‘नेपाली कांग्रेस र एमालेले ७ प्रदेशको नक्सा बनाएको थियो । त्यो दस्तावेजमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले एक ठाउँमा र एमाले अध्यक्ष केपी ओलीले पानैपिच्छे हस्ताक्षर गर्नुभएको छ ।’ उनले भने, ‘यदि त्यो राष्ट्रघाती हो भने उहाँले नै राष्ट्रघाती प्रस्ताव गर्नुभएको रहेछ भन्नुप¥यो ।’ उनले सीमाङ्कनको विषयमा साझा विन्दुमा पुग्न सक्छ कि भनेर प्रस्ताव गरेको बताए ।
मन्त्री लेखकले आफू ओलाङचुङ्गोलादेखि तिंकरसम्म पुग्दा उत्तर दक्षिण जोड्ने लामाबगर नाका सबैभन्दा छोटो पाएको बताए । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लामावगर नाका जोड्न आश्वासन दिनुभएकोले सो नाका खोल्न आफू अत्यन्त गम्भीर भएर सोचिरहेको बताए । ‘सुरुङ मार्ग बनाउन सके अझ सहज रुपमा अघि बढ्ने रहेछ, त्यसमा म अत्यन्त गम्भीर छु ।’ उनले भने ।
दोलखाका प्रमुख तीर्थस्थल कालिन्चोक पुगेर फर्किएका मन्त्री लेखकले कालिन्चोक जाने सडक स्तरोन्नतिका लागि बजेट थपिदिने आश्वासन समेत दिए । उनले भने, ‘कालिन्चोक जाने बाटोलाई केही पैसा थपेर अलि द्रुत बनाउन प्रयास गर्छु ।’ उनले दोलखाको कुनै राजमार्ग स्वर्गीय भीमबहादुर तामाङको नाममा नामाकरण गरिने बताए । त्यसका लागि कुनै सडक प्रस्ताव गर्न सुझाए । भने, ‘मलाई राम्रो बाटो छानेर दिनुस्, भीमदाइको नाममा नामाकरण गर्छु ।’

20161203162557_img_3446
शिक्षकहरुले अस्थायी शिक्षकहरुलाई सरकारी निर्णयले मार्का परेको गुनासो गरेपछि उनले पनि त्यसमा सहमती जनाए । उनले दुइटा मध्ये एउटा मात्रै छनोट दिनु अन्यायपूर्ण भएको स्वीकार गरे । उनले सबैलाई परीक्षाको अवसर दिने र परीक्षामा अनुत्तीर्ण भएकाहरुलाई गोल्डेन ह्याण्डसेक दिनुपर्ने उनको धारणा थियो ।
मन्त्री लेखकलाई कार्यक्रमका सहभागीहरुले कतिपय भूकम्प पीडितहरुले न्यानो कपडावापतको एक हजारसमेत नपाएको, दुई गाविसमा अनुदान सम्झौता हुन नसकेको, इन्जिनियरहरुले अनुगमन नगरिदिएको गुनासो गरेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF