३१ वर्षपछि लामोसाँघु–जिरी सडक विस्तार

 आवाज संवाददाता     २० मंसिर २०७३, सोमबार

 

दोलखाः निर्माण भएको तीन दशकपछि लामोसाँघु–जिरी सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको छ । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको जिरीसम्मको ११० किमि सडक स्तरोन्नतिको काम एक वर्षदेखि भइरहेको छ ।

लामोसाँघु–जिरी सडक विस्तार आयोजनाले ४ प्याकेजमा सडक विस्तार तथा सुधारको काम अघि बढाएको हो । आयोजनाले खाडीचौरदेखि मुडेसम्मको २५ किमि र मुडेदेखि चरिकोटसम्मको ३० किमिको काम एक वर्षदेखि गराइरहेको छ ।

लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख केदार नेपालले दुवै प्याकेजको काम तीव्र रूपमा भइरहेको बताए । पहिलो प्याकेजको काम ३० प्रतिशतभन्दा बढी भएको उनले बताए ।

पहिलो प्याकेजको काम सिमाञ्जल–गौरीपार्वती–सुनौलो खिम्ती जेभीले गर्दैछ । त्यस्तै दोस्रो प्याकेजको काम सकिलहैदर–शंकरमाली–सुनौलो खिम्तीले गर्दैछ । पहिलो प्याकेज ३९ करोड र दोस्रो प्याकेज ७० करोडमा ठेक्का सम्झौता भएको छ ।

आयोजना प्रमुख नेपालका अनुसार काम सुरु गरेको मितिबाट २ वर्षमा पूरा गर्ने गरी ठेक्का सम्झौता भएको छ । एक वर्षमा ३० प्रतिशत प्रगति नभए ठेकेदारबाट हर्जना लाग्ने व्यवस्था सम्झौतामा छ । पहिलो प्याकेजको ३० प्रतिशत बढी र दोस्रोको पनि सन्तोषजनक रहेको उनले बताए । पहिलो प्याकेजको २०१५ अक्टोबरमा र दोस्रो प्याकेजको २०१६ को मार्चबाट काम सुरु भएको हो ।

सडक विभागअन्तर्गत सडक सुधार आयोजनाले ठेक्का बन्दोबस्ती लगायतको काम गर्छ । ११० किमि सडकमध्ये चरिकोटदेखि जिरीसम्मको ५५ किमिको पनि टेन्डर प्रक्रिया तयारी भइरहेको उनले बताए । बाँकी सडकको काम चालू आवभित्र ठेक्का लागिसक्ने उनले बताए ।

भारतीय सहयोगमा सडक विस्तार

लामोसाँघु–जिरी सडक स्विस सरकारको सहयोगमा बनेको हो । अहिले यो सडक भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा विस्तारको काम भइरहेको छ । भारतीय सहयोगमा विस्तार भइरहेकाले पनि ठेक्काको मुख्य ठेकेदार भारतीय कम्पनीको ५१ प्रतिशत सेयर छ ।

स्विस सरकारले जिरी बहुउद्देश्यीय विकास परियोजना लागू गरी विकास निर्माणका कार्य गर्ने क्रममा पूर्वाधारका रूपमा सन् १९६७ मा लामोसाँघु–जिरी ११० किमि सडक निर्माण कार्य थालनी गरी सन् १९८५ मा सम्पन्न गरेको थियो । यो सडक बनेपछि नै सिन्धुपाल्चोकको पूर्वीभेग, दोलखा, रामेछाप, ओखलढुंगा र सोलुखुम्बुमा विकासको अभियान सुरु भएको स्थानीयबासीको भनाइ छ ।

सडक मध्यमस्तरको बन्ने 

तीन मिटरमा बनेको सडक विस्तारपछि सात मिटरको हुनेछ । साढे पाँच मिटरसम्म कालोपत्रे र ७५÷७५ सेन्टिमिटर दुवैतर्फ सोल्जर बाटो हुने आयोजना प्रमुख नेपालले जानकारी दिए । सडक स्तरोन्नतिमा कालोपत्रे, ह्युममपाइप, कल्भर्ट, स्ल्याप कल्भर्ट, रिटेनिङ वाल, पक्की नालीलगायतका काम हुनेछन् । “सडक २ लेनको बन्नका लागि ७ मिटर पूरै कालोपत्रे हुन्छ” उनले भने, “तर यो सडक ५ मिटर मात्र कालोपत्रे हुन्छ । यसलाई मध्यमस्तरको भनिन्छ ।”

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF