राष्ट्रिय सेवा दलकाे तालिमले फेरिएको विद्यार्थी दैनिकी (फाेटो फिचरसहित)

 आवाज संवाददाता     २१ मंसिर २०७३, मंगलवार

दोलखा, २० मंसिर । झरना थापा कालिन्चोक माविको कक्षा ९ मा पढ्ने छात्रा हुन् । उनी राष्ट्रिय सेवा दलको क्याडेट पनि हुन् । गत साउन महिनादेखि राष्ट्रिय सेवा दलको तालिम लिन थालेपछि उनको कार्यतालिका नै फेरिएको छ ।
दिनको दुई घण्टा तालिम र दुई घण्टा नाच सिक्नलाई समय दिनुपर्ने भएपछि झरनासँगै उनका साथीहरुको समेत दैनिकी फेरिएको हो । तालिम र नृत्य सिक्नलाई समय दिनुपर्ने भएपछि उनीहरुले सुत्ने समयसमेत घटाएका छन् । झरनाले भनिन्, ‘तालिमलाई समय दिनुपर्ने भएपछि पढ्नलाई समय पुगेन, अनि सुत्ने समय नै घटाएको छु ।’
तालिमका सहभागी एलेक्स श्रेष्ठ पनि तालिमबाट आफू सन्तुष्ट भएको बताउँछन् । तालिम र पढाइ दुवैलाई समय दिनुपर्दा उनलाई फुर्सद छैन । तर फुर्सद नभए पनि उनलाई आफूमा परिवर्तन आएको जस्तो लागेको छ । अहिले उनलाई मानिसहरुका अगाडि गएर बोल्न कुनै अप्ठेरो लाग्दैन ।
तालिमबाट समयको महत्व र अनुशासनको महत्व बुझेको बताउँछिन् स्मृति लामा । तालिममा समय दिनु परे पनि पढाइमा कुनै बाधा नपरेको उनलाई लागेको छ । श्रृष्टि दाहाललाई पनि तालिमपछि आफूमा सकारात्मक परिवर्तन आए जस्तो लागेको छ । भन्छिन्, ‘तालिमपछि सकारात्मक सोचको विकास भएको छ ।’
तालिमका सहभागी छात्रछात्राहरुका अभिभावक भने आफ्ना छोराछोरीले पढाइमा समय दिन नसकेर पढाइ नै बिग्रने हो कि भन्ने चिन्तामा छन् । तर झरना थापाकी आमा सावित्री भने तालिमपछि आफ्नो छोरी निकै मेहनत गर्न थालेको बताउँछिन् । ‘सिक्न खोज्छे, तर त्यसलाई समय अलि कम भएको छ ।, सावित्रीले भनिन् ।’
कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपाने पनि विद्यार्थीहरुमा आएको सकारात्मक परिवर्तन देखेर खुशी छन् । तालिममा सहभागी विद्यार्थीहरुमा आएको सकारात्मक परिवर्तनले अरु विद्यार्थीहरुमा पनि त्यसको प्रभाव पर्नेमा उनी विश्वस्त छन् ।
सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा यस वर्षदेखि राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम चलिरहेको छ । तालिममा छात्रा १८ र छात्रा १८ गरी ३६ जना सहभागी छन् । उनीहरु मास पीटी, खुकुरी ड्रिल, तेक्वान्दो पीटी, एरोविक्स सिकीरहेका छन् । यसका साथै उनीहरु सांस्कृतिक कार्यक्रम प्रस्तुतीका लागि नृत्य पनि सिकीरहेका छन् । जम्मा १०० दिनको तालिममध्ये ७९ दिन विद्यालयमा कक्षा लिँदै फुर्सदको समय मिलाएर तालिम लिन्छन् भने २१ दिन क्याम्पमै बसेर आफूले सिकेको तालिम र विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रममा अन्य क्याडेट टोलीसँग प्रतिस्पर्धा गर्छन्  । उम्दा विद्यार्थीहरुलाई विदेश जाने समेतको अवसर हुन्छ ।
आउँदो पुसको दोस्रो साताबाट मोरङमा हुने शिविरमा प्रस्तुतीका लागि उनीहरु लागिपरेका हुन् । यही क्रममा उनीहरुले लिँदै गरेको तालिमको निरीक्षण सहायक रथी जितबहादुर गुरुङले गरेका छन् । सो क्रममा क्याडेटहरुले मास पीटी, तेक्वान्दो पीटी, खुकुरी ड्रिल, एरोविक्स र नृत्य प्रस्तुत गरेका थिए । उनीहरुका प्रस्तुतिकाे निरीक्षण र अवलाेकन गर्दै सहायक रथी गुरुङले चरित्र निर्माण र सीप विकासको लागि विद्यालयका छात्रछात्राहरुलाई यसप्रकारको तालिम दिने गरेको बताए । तालिम जीवनोपयोगी हुने भएकोले लगनशीलताका साथ सिक्न सहभागीहरुलाई प्रोत्साहन पनि गरे । रणभीम गणका गणपति झविन्द्रबहादुर रेश्मीले तालिम कार्यक्रमबारे जानकारी दिँदै विद्यार्थीहरुलाई तालिमका साथै पढाइमा पनि ध्यान दिन प्रेरित गरे ।
सो अवसरमा सहभागी छात्रछात्राहरुको अभिभावकहरुको पनि उपस्थिति थियो भने आफ्ना छोराछोरीको प्रस्तुतीकरण देखर अभिभावकहरु हर्षित भएका थिए ।

img_3331

img_3081

img_3110

img_3144

img_3168

img_3180

img_3310

img_3211

img_3213

img_3296

img_3310

img_3231

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF