२० हजार परिवारलाई सोलार वितरणपछि अब दोलखाका सबै घर विजुलीमय

 आवाज संवाददाता     २१ मंसिर २०७३, मंगलवार

दोलखा, मंसिर २१/दोलखा जिल्लाका उत्तरी दुर्गम गाउँहरुमा सौर्य टुकी बत्ती वितरण गरेपछि अब दोलखाका सबै घरमा विजुली बलेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा दोलखाका उत्तरी दुर्गम गाविसका २० हजार घरमा सौर्य टुकी बत्ती वितरण गरिएपछि दोलखा जिल्ला विजुलीमय भएको हो । कार्यक्रमले उत्तरी क्षेत्रका २० हजार २ सय ४० घरलाई सौर्य टुकी वितरण गरेको हो । कार्यक्रमले ती दुर्गम गाउँमा १० वाट क्षमताको सौर्य टुकी वितरण गरेसँगै जिल्लाका शाप्रतिशत घरले विजुली बाल्न पाएका हुन् ।
जिल्ला विकास समिति दोलखाका ऊर्जा तथा वातावरण शाखाका इन्जिनियर श्यामकुमार यादवका अनुसार पछिल्लो समय १८ गाविसका १८ हजार घरधुरीलाई सौर्य टुकी वितरण गरिएको बताए । केही घरमा छिटफुट बाँकी भएकोमा सम्बन्धित गाविसलाई जिम्मा लगाए उनले बताए । पछिल्लो पटक लापिलाङका ७ वडा, बाबरे, खोपाचागू, विगू, आलम्पू, चिलंखा, लादुक, बुलुङ, ओराङ, लामाबगर, गौरीशंकर, खारे, मार्बू, चंखू, सुरी, झ्याँकू, जुँगू र मिर्गे गाविसमा सौर्य बत्ती वितरण गरिएको हो ।
भुकम्प लगत्तै गत वर्ष पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकै सहयोगमा जिविस ऊर्जा शाखाले १ हजार ५ सय सौर्य टुकी वितरण गरेको उनले बताए । उक्त सौर्य टुकी लामिडाँडा र लापिलाङका २ वटा वडालाई वितरण गरिएको इन्जिनियर यादवले बताए । गत वर्ष भुकम्पको राहतको कार्यक्रमसँगै कालिञ्चोक गाविसका ७ सय ४० घरलाई नाम्सालिङ सामुदायिक विकास केन्द्रले सौर्य र सुधारिएको चुलो वितरण गरेको थियो ।
पछिल्लो समयको सौर्य बत्ती वितरणको जिम्मा नेपाल रेडक्रस सोसाइटीले पाएको छ । रेडक्रस दोलखा शाखाका मन्त्री गोकर्णप्रसाद पोखरेलले भुकम्प पीडित परिचय पत्रका आधारमा सौर्य वितरण गरिएको बताए । उनले लामाबगर, गौरीशंकर, खारे चंखू र मार्बूमा २ हजार २ सय ८० सुधारिएको चुल्हो समेत वितरण गरेको बताए । ओराङ र बुलुङ गाविसका १ हजार ४ सय ८० घरमा भने अघिल्लो वर्ष नै सुधारिएको चुल्हो वितरण भैसकेको छ ।
सौर्य बत्ती वितरणसँगै दोलखाका उत्तरी क्षेत्रका सबै घर झिलिमिली भएका छन् । १० वाटको सौर्य प्यानलका साथमा २ वटा एलइडी बल्व समेत वितरण गरिएको छ । सानो र छरितो भएकाले गाउँका किसानहरुलाई गोठमा समेत राख्न सजिलो भएको लापिलाङका पुष्कर थामीले बताए ।
यस अघि विद्युतका राष्ट्रिय प्रसारण लाइन नपुगेका र लघुजलविद्युत आयोजनामार्फत विद्युतीकरण भएका घरहरुमा अहिले सौर्य बत्ती वितरण गरिएको हो । भुकम्पका कारण दोलखाका लघुजलविद्युत आयोजनाहरु प्रायः बन्द छन् । केन्द्रीय प्रसारण लाइन पुगे पनि भुकम्पका कारण अवरुद्ध भएका ठाउँलाई समेत सौर्य कार्यक्रममा समेटिएको इन्जिनियर यादवले बताए ।
वैकल्पिक ऊर्जा कार्यक्रमकै सहयोगमा संस्थागत रुपमा पनि ठुला क्षमताका सौर्य टुकी वितरण गरिएको छ । भुकम्पपछि १ किलोवाट क्षमताको ३२ वटा, ८ सय वाटको २ वटा, ३ सय वाटको १४ वटा सौर्य बत्ती वितरण गरिएको इन्जिनियर यादवले बताए । त्यस्तै गरी १२० वाटको १४ वटा १०० वाटको २४ वटा र ४० किलोवाटको २८ वटा सौर्य वितरण गरिएको उनले जानकारी दिए ।  ठुला क्षमताका सौर्य बत्ती स्वास्थ्य चौकी, विद्यालय, गाविस कार्यालयहरुलाई वितरण गरिएको छ ।
केही गैर सरकारी संस्थाहरुले समेत स्वास्थ्य चौकी र विद्यालयलाई सौर्य वितरण गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF