हिमाल चिनाउने एप

 आवाज संवाददाता     २५ मंसिर २०७३, शनिबार

काठमाडौं, मंसिर २५

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’को नियमित श्रृंखला ‘नो योर हिमाल’ शीर्षकको हाजिरी जवाफ चलाउने पत्रकार कुन्द दीक्षित यस वर्ष काठमाडौंमै थिएनन्।

दसौं वर्ष बितिसकेको यो क्विज सेसनको विशेषता भनेकै दीक्षितले फिल्मको पर्दामा देखाएका देश–विदेशका अनेक फोटो हेरेर सहभागीले त्यो कुन ठाउँ हो, के चिन्नु हो। क्विजमा नेपालीले अक्सर देखिराखेकै नेपालका हिमालसम्बन्धि तस्बिर पनि हुन्छन्। देश–देशावरका अनेक जानकारी राख्ने दीक्षितले एकपटक त मंगल ग्रहको समेत फोटो देखाएर चिन्न लगाएका थिए। सही उत्तर मिलाए महोत्सवले दिलाउने टिसर्ट या अरु यस्तै केही उपहार पाइन्छ। तर, उपहार पाउने निकै कम हुन्छन्।

यसपटक पत्रकार दीक्षित रिपोर्टिङका लागि काभ्रे पुगेका थिए। रमाइलो के भने, यता आफैंले सुरु गरेको ‘हिमाल चिनाउने हाजिरी जवाफ’को प्रश्नोत्तर चलिरहँदा दीक्षित भने उता स्थानीयलाई नै हिमाल चिनाइरहेका थिए। देशका लगभग सबै हिमाल चिनेका दीक्षितले कुहिरो फाटेर मौसम छर्लङ्ग खुलेको बेला जब एक स्थानीयको आँगनबाट गौरिशंकर टल्किएको देखेपछि भने, ‘तपाईंको त आँगनबाटै यस्तो राम्रो गौरिशंकर देखिँदो रै’छ है।’

ती स्थानीयलाई त आफूले वर्षौंदेखि देखेको हिमालको नामै थाहा रहेनछ। उल्टै दीक्षितलाई सोधेछन्, ‘कुन हो गौरिशंकर हिमाल?’

‘हामी वर्षौदेखि आँखैमा ठोक्किरहने हिमाल नै चिन्दैनौं,’ शुक्रबार साँझ सेतोपाटीसँग दीक्षितले संयोग–अनुभव साटे, ‘देवी–देउताको नामबाट राखिएको हिमाल पनि चिन्दैनौं।’

यता, दीक्षितको सट्टामा हाजिरी जवाफ सम्हालेका अर्का पत्रकार केदार शर्मा र अदिती अधिकारीले पनि नेपालकै हिमालसम्बन्धि तस्बिर देखाउँदा निकै कमबाट मात्र सही जवाफ पाए।

जेहोस्, कुन्द दीक्षित नभएकै कारणले होइन, यस वर्षको क्विज अघिल्ला वर्षका तुलनामा निकै फरक रह्यो। किनकि, यसै दिन एउटा यस्तो एप सार्वजनिक भयो, जुन एपले अब हिमाल नचिन्नेको चिन्ता दुर गरिदिनेछ। त्यो पनि बिना इन्टरनेट।

हिमाल चिन्ने हाजिरी जवाफपछि किम्फ चलिरहेको कुमारी हलको पार्किङ क्षेत्रमा एप डेभलपर बिभुमान राजभण्डारीले एप खोलेर मोबाइलको लेन्स उत्तरतिर फर्काए, स्क्रिनमा काठमाडौं नजिकका हिमाल भर्रर उम्रिए। उनले जता लेन्स तेस्र्याएका थिए, त्यता अस्तिसम्म हिमाल टल्किरहेका देखिन्थे। अहिले त ती तुवाँलोभित्र कतै लुकिरहेका छन्।

महर्जनकाअनुसार हाललाई नेपालका ख्यातिप्राप्त ४१ वटा हिमाल देखाउने यो एपको मुख्य विशेषता भनेकै हिमाल चिनाउनु हो। नामले ‘सो मि माउन्टेन्स’ यो एपमा अबको एक महिनाभित्र नेपालका १६० हिमाल समेटिने बताउँदै उनले एप निर्माणको दुई वर्षे कथा सुनाउन थाले।

दुई वर्षअघि, पेशाले पर्यटन व्यवसायी उनका दुई साथी उज्वल कुँवर र प्रशान्तविक्रम थापा पुनहिल पुगेका थिए। त्यहाँबाट देखिने अन्नपूर्ण, माछापुच्छेलगायत हिमाल त जसले पनि चिन्ने भइहाले। तर, अरु हिमाल कसले चिन्ने? अलि बढी गाइडले चिन्थ्यो कि स्थानीयले। तर, सबैलाई सबै हिमालबारे थाहा थिएन।

काठमाडौं फर्किएपछि चिया गफमा दुई साथीले १२ वर्षदेखि सफ्टवयर तथा एप डेभलपमेन्टमा काम गर्दै आएका बिभुमान राजभण्डारीलाई सुनाए। भने, ‘नेपालीहरुलाई आफ्नै वरीपरीको कुरा नै थाहा छैन यार! यस्तो एउटा एप बनाउन सकिँदैन? जसले हिमाल चिनाओस्।’

उनलाई पनि लाग्यो, ‘गुगल म्यापले गल्ली–गल्ली देखाउँछ तर, मान्छेले आफ्नै ठाउँ चिन्दैन।’

लोडसेडिङ, क्यालेन्डरजस्ता १७ वटा मोबाइल एप बनाइसकेका राजभण्डारीले केहीबेर सोचे र भने, ‘एकचोटी ट्राइ मारौं न। १५÷२० दिन कुरौं है त, केही आइडिया निस्किएला कि।’

त्यसपछि उनको दिमाग रिङ्न थाल्यो। मुलतः नेपाली जनजीवनको सहजताका लागि एप्स बनाउन सौखिन बिभुका दिमागमा भर्रर आइडिया त आउन थाले तर, ती यथार्थभन्दा बढी जादुयी थिए। ‘आइडिया त यस्तो खत्राखत्रा आउँथ्यो कि, मोबाइल देखाउनेबित्तिकै संसारकै हिमाल देखियोस् भन्ने हुन्थ्यो,’ उनले सुनाए, ‘कहिले त यस्तोसम्म सोच पलाउँथ्यो, जुन जादुमा मात्र सम्भव हुन्छ होला। तर, केही काम गर्दा यस्तो सोच आउनुपर्छ किनकि, ठूल्ठूला सोचले नै काम गर्ने बल दिन्छ। सानो सोचेर त ठूलो काम नै बन्दैन।’

करिब एक हप्ता उनले यस्तै सोचमा नै बिताए। यसअघि १७ वटा एप बनाउँदा सोच्नका लागि मात्र यत्तिका समय उनलाई कहिल्यै लागेकै थिएन। ‘यो बनाउन किन पनि गाह्रो थियो भने यस्तोखाले एप संसारभर नै बनेको थिएन। भएको एउटा गुगल म्याप हो, त्यो पनि इन्टरनेटबिना चल्दैन। तर, हामीलाई इन्टरनेटबिना चल्ने बनाउनु थियो। रिफ्रेन्स नहुँदा आइडिया बनाउन गाह्रो पर्ने रहेछ,’ उनले थपे।

करिब एक हप्ताको सोचपछि उनले कम्प्युटरमा सरसर्ती खाका कोरे। भनेकै समयमा दुई हप्तापछि साथीहरुलाई खुसीको खबर दिए, ‘अलि मेहनत गर्नुपर्छ, बनाउन सकिन्छ।’

उनीसहित आठ जनाको टोलीले एप बनाउनकै लागि छुट्टै कम्पनी नै खोल्यो। सबैले आइडिया दिँदै जान्थे, बिभुले पनि अनुसन्धान गर्दै एपमा नयाँ–नयाँ फिचर थप्दै जान्थे।

बिभुका अनुसार यो काम उनका लागि निकै चुनौतिपूर्ण भएपनि यसले छुट्टै आनन्द दिन्थ्यो। किनभने यस्तोखाले काम उनका लागि काम नभइ मनोरन्जन हो, जुन कामबाट उनी नाफा–घाटा हेर्दैनन्। यसरी नै उनले यसअघि १७ वटा एप बनाएका थिए। टोलीको उद्देश्य नै पैसाका लागि नभइ हरेक नेपालीले आफ्नो हिमाल चिनुन् भन्ने थियो।

‘पैसाका लागि म छुट्टै काम गर्छु,’ उनी भन्छन्, ‘मेरो रुचीको काम भयो भने म जति पनि खट्न सक्छु। कस्तोसम्म भने, बिहान खाना खाएर श्रीमती अफिस गएर फर्किंदासम्म म एउटै काम गरिरहेको हुँदो रहेछु। मलाई कति बज्योसम्म मतलब हुँदैन। यस्ता काम गर्दाको फाइदा के हुन्छ भने हरेक दिन केही न केही नयाँ सोच आइरहेको हुन्छ। मन परेको सामान किनेको दिन निद्रा लाग्दैन भनेजस्तै नयाँ आइडिया आएको दिन निद्रा पर्दैन। राति १÷२ बजेसम्मै काम गर्ने त बानी नै परिसक्यो। राति सुत्ने बेला याद गर्छु, आज मैले नयाँ केही पत्ता लगाएँ कि लगाइनँ? यदि एउटा न एउटा नयाँ सोच आएको रहेछ हिसाब गर्न थाल्छु, वर्षमा ३ सय ६५ वटा हुन्छ। ती कुनै न कुनै दिन काम लाग्छ भन्ने भएपछि निद्रा लाग्छ।’

घुम्नका सोखिन उनी एप परिक्षणकै लागि कहिले काठमाडौंका डाँडाकाँडा पुग्थे त कहिले पोखरा कहिले कता। कसैले नयाँ ठाउँ सुनाउनेबित्तिकै परिक्षणका लागि दौडिहाल्थे। आफू नभ्याएको ठाउँमा ट्रेकिङ गाइड त कहिले घुम्न निस्केकाको मोबाइलमा एप राखेर परिक्षणका लागि पठाउँथे।

यसैक्रममा उनका बाबुलाई क्यान्सर भयो। अन्तिम अन्तिम अवस्थामा पुगेपछि मात्र पत्ता लागेको क्यान्सरको नेपालमा उपचार नहुने भएपछि दिल्ली जानुपर्ने भयो। करिब एक वर्ष दिल्ली–काठमाडौं गर्नमै बित्यो। यस्तो अवस्थामा कसको मनले फुक्काफाल भएर सोच्न पाउँथ्यो र? एपको काम करिब एक वर्ष लगभग ठप्प भयो। बाबुको उपचार पनि सम्भव भएन। बिते।

तर, बिभुका बाबुको शरीर मात्र नभइ प्रेरणा ढल्यो। किनकि, घुम्न प्रेरित गर्ने उनै बाबु थिए।

‘म तीन महिनाको छँदाखेरी बुबाले मलाई गाडीमा राखेर घुमाउन थाल्नुभएको रे,’ वरखी बारेको भेषमा भेटिएका उनी भावुक हुँदै भन्छन्, ‘बुबाले आफूले नचिनेको ठाउँ पनि सोध्दै–खोज्दै लैजानुहुन्थ्यो। बुबाकै प्रेरणाले मैले १४ वटै अन्चल घुमेको छु।’

उनका बुबा घुम्न मात्र प्रेरित गर्थेनन्। भन्थे, ‘जेसुकै होस् किताबचाहीँ पढ्नुपर्छ।’ बुबाकै कारणले उनी पढ्ने भए।

‘मलाई यस्तो–उस्तो किताब मन पर्छ भन्ने नै छैन,’ उनी भन्छन्, ‘जस्तोसुकै किताब भएपनि पढ्छु। जीवन भनेको समस्या र त्यसलाई समाधान गर्ने चक्रजस्तो लाग्छ। किताबले त्यो दिन्छ। आज पढेका किताबले आजै काम नदिएपनि वर्षौंपछि काम दिन्छन्। आइटी क्षेत्र भनेको पनि समस्या र त्यसलाई समाधान गर्न आइडिया निकाल्ने हो। किताब पढ्दा आइटीलाई निकै काम लाग्छ।’

मृत्यु संसारको रितै हो, उनका बाबु बिते। प्रेरणा दिने शरीर बिलायो। जसरी अरु थुप्रै शरीर बिलाउँछन्। बाबु बितेको वर्ष दिन नपुग्दै, बाबुकै प्रेरणाले जानेको काम बिभुले सफल पारेरै छाडे।

उनका बाबु संसारबाट बिलाएर त गए तर, बाबुसँगको भावना जोडिएको यो काम भने उनले अघिल्ला कामभन्दा लामो समयसम्म हुनेगरी बनाएका छन्। त्यो भनेको के भने, उनले यसअघि बनाएका एपले एउटा निश्चित सुविधा त दिन्छ तर ती सबै एकचोटी बनाएपछि त्यसमा बारम्बार थप काम गरिरहनुपर्दैन। सुविधा थपिरहनुपर्दैन। तर, यसमा भने सोचेका कुरा तुरुन्तातुरुन्तै बनाउन सम्भव छैनन्। उनले यस्तोसम्म सोचेका छन्, आज बाँकी रहेका, सोच्न नसकिएका, राख्न नभ्याएका सुविधा भोलि अर्को पुस्ताले थप्दै जानेछ। उनी भन्छन्, ‘यो मेरो मात्र होइन, हरेक नेपालीको साझा एप हो।’ तर, यसो भन्दैमा एपको एडमिन बन्ने अधिकार भने अरु कसैलाई छैन।

जस्तो कि, अहिले तपाईंले गुगल प्लेस्टोरबाट ‘सो मि माउन्टेन्स एप’ इन्स्टल गर्नुभयो। हिमाल देखिएकै बेला एप चलाउनुपर्छ भन्ने छैन। दिउँसो मात्र देखाउँछ भन्ने पनि होइन। साँझ, बिहान, राति जतिसुकै बेला, तुवाँलो लागोस् कि कुहिरो या बादल, हिमालतिर मोबाइल तेस्र्याउँदा जता–जता हिमाल छन्, एपमा राखिएका सबै हिमाल भर्ररै देखिन्छन्। राति सुत्ने बेला मोबालबाट कुन हिमाल कता, कुन दिशामा पर्छ हेर्नुस्, भोलिपल्ट बिहानै कताबाट सनराइज खिच्ने ओछ्यानबाटै थाहा पाइनेछ!

जिपिएसको सहायताले मोबाइलको क्यामरामा अहिले ४१ वटा हिमाल देखिन्छन्। ती हिमाल तपाईं भए ठाउँबाट कति टाढा छ, कति उचाइमा छ, वरीपरी अरु कुन हिमाल छन्जस्ता कुरा देखिन्छन्। कुनै एउटा हिमालमा क्लिक गर्दा ती हिमालका बारेमा छोटो जानकारी पनि पाइन्छन्। एक महिनाभित्रै एक सय ६० वटा हिमाल र केही वर्षभित्र तिब्बतदेखि पाकिस्तानसम्मका हिमाली श्रृंखलाका मुख्य–मुख्य हिमालबारे जानकारी थप्ने उनको योजना छ। तस्बिर कपिराइटका समस्या, सबै हिमालका बारेमा जानकारी नभएका कारण तस्बिर र सबै हिमालका जानकारी राख्न अप्ठ्यारो भएको उनको भनाइ छ। ‘यसमा जति पनि तस्बिर र जानकारी राख्न सकिन्छ,’ उनले भने।

तर, नाफा–घाटाको हिसाब नगरी, त्यसमाथि फ्री छोडेको एपमा यी सबै गर्न उनले मात्र सक्लान् त? पक्कै सक्दैनन्। त्यसैले जोकोहीले पनि यसमा सहयोग गर्न सक्छन्।

तपाईंसँग हिमालका तस्बिरहरु छन्, हिमालसम्बन्धि जानकारी दिने किताब छन्, कमैलाई थाहा भएका हिमालका बारेमा तपाईंलाई थाहा छ भने एप निर्मातालाई खबर गर्न सक्नुहुन्छ। त्यसले अरुलाई हिमाल चिन्न मद्दत पु¥याउँछ। त्यति मात्र होइन, परिक्षणमा पनि सघाउन सक्नुहुनेछ। जस्तो कि, काठमाडौंमा बसेर बनाइएको यो एपले अहिले तत्काल इलाम वा दार्चुलाबाट देखिने हिमाल ठ्याक्कै सही दिशामा नदेखाउन सक्छ। ‘यदि त्यस्तो भेटिएमा भन्नुहोस्, हामी मिलाउँदै जान्छौं,’ उनले भने।

अहिलेलाई नपाली या नेपाल घुम्न आउने पर्यटकलाई लक्षित गरिएको भएपनि यो एप संसारभरका हिमाल देखाउने सुविधा यसैमा थप्न मिल्ने बिभु बताउँछन्। त्यति मात्र होइन, क्यामराको लेन्स तेस्र्याउनेबित्तिकै जुनसुकै ठाउँ देखाउने एप बनाउने तयारीमा रहेको उनले बताए।

समुन्द्र राज घिमिरेले सेतोपाटीमा लेखेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।