घर निर्माणमा दोलखामा ९० लाख क्यूबिक फिट काठ आवश्यक पर्ने

 आवाज संवाददाता     २८ मंसिर २०७३, मंगलवार

भुकम्पले भत्केका घर पुर्ननिर्माणका लागि दोलखामा ९० लाख क्यूबिक फिट काठ आवश्यक पर्ने देखिएको छ । जिल्ला वन कार्यालय दोलखाले गरेको सर्भेक्षणका आधारमा उक्त तथ्याङ्क निकालेको हो ।
दोलखामा भुकम्पले भत्केका घरहरु मध्ये जिल्लाभर ४५ हजार घर ५ वर्ष भित्र बन्ने जिल्ला वन कार्यालयको अनुमान छ । ४५ हजार घरका लागि प्रति घर २ सय क्यूबिक फिट काठ प्रयोग हुन सक्ने जिल्ला वन कार्यालय दोलखाका प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
दोलखामा ५५ हजार घर भत्किए तापनि ४५ हजार जति घर बन्ला भन्ने अनुमान वनले गरेको छ । २ सय क्यूबिकफिट मध्ये १५ देखि २० क्यूबिकफिट पुरानो घरकै काठ प्रयोग गर्न सकिने उनले बताए । ‘हामीले २ एक घरका लागि अधिकतम २ सय क्यूबिकफिट राखेका हौं’ उनले भने ‘गाउँ घरमा त्यो पनि प्रयोग नगर्लान् तर हामी व्यवस्थापनका लागि तयारी अवस्थामा बस्नु पर्छ ।’
पुरानो काठ बाहेक नयाँ काठ सामुदायिक वन र निजी वनबाट व्यवस्थापन गर्ने जिल्ला वनको योजना छ । निजी तथा सार्वजनिक भवन पुननिर्माण ५ वर्षमा हुने भएकाले काठको प्रयोग पनि त्यही अनुसार हुने उनले बताए । पुरानो काठ बाहेक नयाँ काठ ८० लाख क्यूबिक फिटभन्दा बढी प्रयोग हुने वनको अनुमान छ । नयाँ काठ आधा निजी वन र आधा सामुदायिक वनबाट व्यवस्थापन हुने उनले बताए ।
जिल्ला भित्र आवश्यक काठ जिल्ला भित्रकै वनबाट व्यवस्थापन गर्न सकिने जिल्ला वन अधिकृत भण्डारीले बताए । ‘हामीसँग स्रोत छ, त्यसलाई सही ढंगले प्रयोग गर्न सके काठ बाहिरबाट ल्याउँनु पर्दैन ।’ उनले भने । सामुदायिक वनहरुको आफ्नो वार्षिक कार्ययोजना अनुसारको वैज्ञानिक व्यवस्थापन गर्दा नै काठ पुग्ने उनको भनाई छ ।
दोलखामा ४ सय ३१ सामुदायिक वन समूह छन् । त्यस मध्ये ५५ वटा सामुदायिक वन गौरीशंकर संरक्षण क्षेत्र आयोजनाभित्र पर्छ । एउटा उपभोक्ता एक भन्दा बढी सामुदायिक वन समूहको उपभोक्ता भएको धेरै छन् । उपभोक्ताले आफू सदस्य भएको समूहबाट काठ अलि अलि गरेर लिंदा पनि पु¥याउन सक्छन् ।
संरक्षण क्षेत्रभन्दा बाहिरका सामुदायिक वनबाट मात्र वार्षिक ४ लाख ६४ हजार ५ सय ३६ क्यूबिक फिट काठ पुरानो स्वीकृत वार्षिक कार्ययोजना अनुसार निकाल्न सकिने अवस्था छ । यसरी २३ लाख ५० हजार क्यूबिकफिट काठ ५ वर्षमा निकाल्न सकिन्छ । तर अहिले विशेष अवस्थामा अलि बढी काठ निकाल्न सकिने वन कार्यालयको अनुमान छ ।
जिल्ला वन कार्यालयले यस वर्ष प्रदर्शनीका रुपमा २ वटा सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापनको लागि काँटछाँट गर्ने योजना बनाएको छ । वन कार्यालयको योजनामा चरिकोट नजिकको खोर्थली सामुदायिक वन र थाङ्सादेउराली सामुदायिक वनलाई नमूनाको रुपमा व्यवस्थापन गर्ने कार्यक्रम छ ।
दोलखाको ६४ प्रतिशत वन क्षेत्र गौरीशंकर संरक्षण क्षेत्रमा पर्छ । जिल्ला वन कार्यालयले भुकम्पले भत्केका घरको तथ्याङ्क र आवश्यकता जिल्लाभरको गरे तापनि परिपूर्ती गर्ने संरक्षण क्षेत्रको तथ्याङ्क संलग्न गरेको छैन ।
जिल्ला वन कार्यालयका रेञ्जर शम्भु बराइलीले वनको पनि जीवनचक्त हुने भएकाले समयमा काँटछाँट नगरे वन विकास राम्रो नहुँने बताए । निजी वनमा पनि प्रशस्त काठ छन्, विगतका वर्षलाई हेर्दा कानुनी रुपमा पूर्जी लिएर कटान भएका काठ मात्र पनि वार्षिक रुपमा ४ लाखका हाराहारीमा छन् । व्यक्तिले गाउँमै प्रयोग गरेका काठ वनको अभिलेखमा नभएकाले घर निर्माणमा काठको अभाव नहुने उनले बताए ।
दोलखामा पाइने धेरै जस्तो काठ सल्लो, उत्तिस जस्ता काठहरु हुने । ति काठलाई कुकाठको रुपमा लिइन्छ । काँचै प्रयोग गर्दा धकिरा, सुइरे लगायतका किराले खाँदा चाँडै मक्काउने संभावना हुन्छ । तर त्यसलाई उपचार गरेर प्रयोग गर्दा साल जत्तिकै टिकाउ र बलियो हुने जिल्ला वन अधिकृत भण्डारीले बताए । पुर्ननिर्माणका लागि धेरै सहयोगी संघ संस्था जिल्लामा आएकाले कुनैले काठ उपचारका लागि केन्द्रहरु खोली दिए सबैलाई राहत हुने बताए ।
जिल्लाभरमा कुनै वन र क्षेत्रमा काठ बढी हुने तर कतै अभाव पनि हुन सक्छ । त्यसलाई सन्तुलन मिलाउन बढी काठ हुने समूहले वन पैदावर आपूर्ती गर्न डिपो समेत खोल्न सक्ने उनले बताए ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले संरक्षण क्षेत्रभित्रका घर पुर्ननिर्माणका लागि संरक्षण क्षेत्रबाटै परिपूर्ती गर्ने बताए । स्थानीय संरक्षण समितिको ५ वर्षे कार्ययोजना स्वीकृति भई सकेकाले भुकम्प पीडितका घर निर्माणका लागि काठको कुनै पनि अभाव हुन नदिने बताए । भुकम्प पीडितहरुका लागि व्यवहारिक रुपमा पनि काम गरिने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF