डा. भट्टराईले भने अब तीनै वटा चुनाव एकै पटक गरौं

 आवाज संवाददाता     २९ मंसिर २०७३, बुधबार
नयाँ शक्ति नेपालका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान बचाउन पनि यसको संशोधन अपरिहार्य रहेको तर्क गरेका छन् ।

नयाँ शक्ति पार्टीका ५ नंं. प्रदेशका केन्द्रीय परिषद सदस्यहरुको मंगलबार लुम्बिनीमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै संंयोजक भट्टराईले यस्तो तर्क गरेका हुन् । उनले पहाडे अन्ध राष्ट्रवाद र दक्षिणपन्थी अतिवादबाट जोगिएर सबै जाति, समुदाय र क्षेत्रका अधिकार सुनिश्चित हुने गरी सिमांकनको समस्या हल गर्नुपर्नेमा जोड दिए ।

संघीयतालाई स्वीकार गरिसकेपपछि फलानो अञ्चल वा फलानो जिल्ला टुक्राउन हुन्न भन्ने अडान प्रतिगामी हुने भन्दै भट्टराईले संविधान संशोधनविरुद्ध एमालेले अहिले गरिरहेको आन्दोलन चुनावी स्वार्थ मात्र भएको स्पष्ट पारे ।

संयोजक भट्टराईले तीनवटै तहको निर्वाचन एकैपटक गर्नुपर्ने तर्क अघि सारेका छन् । २०७४ माघ भित्र निर्वाचन हुन नसके संंविधान कार्यान्वयन हुन नसकी संवैधानिक संकट उत्पन्न हुने भएकाले स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव एकैपटक गर्नुपर्नेमा उनको जोड छ ।

निर्वाचन कानुनहरु बनी नसकेको र दलहरुबीच सिमांकन लगायतका विषयमा कुरा मिल्न बाँकी हुँदा तीन तहको चुनाव अलग–अलग गर्न गाह्रो पर्ने र आर्थिक हिसाबले पनि मुलुकलाई बोझ पर्ने हुँदा एकैपटक गर्नु उपयुक्त हुने तर्क गरे । ‘संविधान लागु गर्न ०७४ साल माघभित्र चुनाव नगरी हुंदैन,’ भट्टराईले भने, ‘त्यसैले तीनवटै तहको चुनाव एकैपटक गर्दा सजिलो र कम खर्चिलो हुन्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आर्थिक समृद्धि, सुशासन लगायत पाँच ‘स’ लाई व्यवहारमा उतार्न चुनावमा श्रेष्ठता हासिल गर्नुपर्ने भएकाले पार्टीको सम्पूर्ण शक्ति र ध्यान चुनावमा केन्द्रीत गर्न केन्द्रीय परिषद सदस्यहरुलाई निर्देशन दिए ।

पार्टीले लिएको आर्थिक समृद्धि लगायत समय सापेक्ष नीतिहरुका कारण पुराना पार्टीहरुप्रति जनताको आशा र विश्वास मरिसकेको र नयाँ शक्तिप्रति जनतामा आशा रहेको र विभिन्न पार्टीबाट ध्रुविकरण तीब्र भएको भट्टराईले बताए ।

६ महिनाभित्र पार्टी सदस्य संख्या तीन लाख पुर्‍याउने लक्ष्यसहित केन्द्रीय समितिले कार्ययोजना बनाएको जानकारी दिंदै उनले ‘घर–घरमा नयां शक्ति’ अभियानलाई तीब्रता दिन पनि निर्देशन दिए ।
मुलुकमा राजनीतिक स्थायीत्व र तीब्र आर्थिक विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने विषयलाई पार्टीले प्राथमिकताका साथ उठाउने र १० लाख हस्ताक्षर सरकारलाई बुझाउने पार्टीको तयारी रहेको पनि संयोजक भट्टराईले बताए ।

बैठकमा पार्टीकी सहसंयोजक दुर्गा सोब, पार्टीका प्रवास इन्चार्ज नवराज सुवेदी, ५ नंं प्रदेश संयोजक डा. सुरेन्द्र चौधरी, सहसंयोजक कर्णध्वज केसी, हालै मात्र फोरम लोकतान्त्रिकबाट नयाँ शक्तिमा प्रवेश गरेका पुर्वमन्त्री दानबहादुर चौधरी लगायत प्रदेश नंं. ५ का ११ वटै जिल्लाका संयोजकहरुले आ–आफ्ना भनाई राखेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।