गुल्मी जिल्ला प्रशासन आन्दोलनकारीको कब्जामा सुरक्षाकर्मीसँगको झडपमा सांसद सहित २ दर्जन घाइते

 आवाज संवाददाता     १ पुष २०७३, शुक्रबार

प्रहरी र बन्दकर्ताबीच झडप भएपछि गुल्मी सदरमुकाम तम्घास बजार तनावग्रस्त भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला प्रहरीले खुलाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला विकसहित दुई दर्जन आन्दोलनकारी घाइते भएका संघर्ष समितिले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब दुई दर्जन अश्रुग्यास प्रहार गरेको छ । आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका छन् । बा १ झ ६६८१ नम्बरको जिल्ला विकास समितिको गाडी र वास प्रोजेक्टको ६६-१-०-७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी भएको हो ।

दमन गरेको भन्दै प्रजिअको सरुवा माग

आन्दोलनमा दमन गरेको भन्दै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, डिएसपी भोला रावलको सरुवा माग गरेका छन् । शुक्रबारको आन्दोलनको नेतृत्व गरेकी मालेकी सांसद विकले एक हप्ताभित्र सरकारले सरुवा नगरे थप आन्दोलन चर्काउने चेतावनी दिइन् । नेकपा एमालेका नेता एवम् गुल्मीका सांसद गोकर्ण विष्ट पनि शुक्रबारै जिल्ला सदरमुकाम आइपुगेका छन् । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको आज १७ औं दिन हो । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा सर्बसाधारण मर्कामा परेका छन् । उनीहरुले बन्दको विकल्प खोज्न आन्दोलनकारीलाई आग्रह गर्दै आएका छन् ।

के छ जिल्लाको स्थिति ?

–जिल्ला प्रशासनमा ताला ठोक्दै आन्दोलनकारीले एक जना कर्मचारी पनि छिर्न नदिई कब्जा जमाएका छन् । –यसैबीच आन्दोलनकारीलाई हटाउन सुरक्षा निकायले बल प्रयोग गरे पछि झडप शुरु भएको छ । – समाचार तयार पार्दा झडप जारी छ । सुरक्षा टोलीबाट अश्रुग्याँस प्रहार भई रहेको छ भने आन्दोलनकारीबाट ढुङ्गा हानहान भइरहेको छ । – पत्रकारले त्यसको दृश्य खिच्न सक्ने समेत सकेका छैनन् । – सदरमुकाममा भइरहेको झडपमा घाईतेको संख्या एकिन भइसकेको छैन् । – ५ नम्वर प्रदेशको जिल्ला घोषणा गरिएको वोर्ड हिजो सम्म गेटमा थियो भने आज प्रशासनको भित्रै अग्रभागमा लगेर टाँगिएको छ । – जिल्ला प्रशासनको प्रतिकृया माग्दा प्रजिअ कृष्णप्रसाद ढुङ्गनाले फोन उठाएका छैनन् । – ठूलो सख्यामा सुरक्षा निकाय थैनाथ गरिए पनि आन्दोलनकारीको घेरा तोडेर प्र.जि.अ. लगायतका कर्मचारी भित्र छिर्न सकेका छैनन् ।

आमहडतालको असर,

– यहाँका सवै शैक्षिक संस्था, यातायात सेवा, व्यापार व्यवसाय पुरै ठप्प पारिएको छ भने मेडिकलसमेत बन्द गरिएको छ । – आमहड्ताल आज देखि तीन दिनसम्मका लागि घोषणा गरिएको छ । – यसबाट पनि सुनुवाई नभए सरकार विरुद्ध यो भन्दा पनि कडा आन्दोलन घोषणा गरिने चेतावानी संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले दिएका छन् । – सदरमुकाम वाहिरको आन्दोलन पनि आक्रमक बन्दै गएको छ । सिमलटारी, मजुवा, वामीटक्सार, वलेटक्सार रिडी, पुर्कोटदह, ईस्मालगायतका प्रमुख स्थानहरुमा विशाल विरोध सभा भइरहेका छन् । – सिमलटारीमा बन्दको अवज्ञा गर्ने केहि व्यक्तिहरु संग हातपातसमेत भएको स्थानिय सञ्चारकर्मी खड्ग नेपालीले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF