तीनजना एसएसपी डिआइजी बढुवामा सिफारिस, लब विष्ट बाहिरिए

 आवाज संवाददाता     १ पुष २०७३, शुक्रबार

१ पुस, काठमाडौं । नेपाल प्रहरीका तीन जना एसएसपीहरु डिआइजीमा बढुवाका लागि सिफारिसमा परेका छन् ।

गृह सचिवको नेतृत्वमा बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपीहरु गणेश केसी, केदारमान सिंह भण्डारी र रमेश भट्टराईलाई डिआइजीमा बढुवा गर्न सिफारीस गरेको प्रहरी प्रधान कार्यलय स्रोतले जनाएको छ ।

आइजीपी उपेन्द्रकान्त अर्यालकै ब्याजी गोपाल भण्डारीले तीन महिना अघि अवकाश पाएपछि डिआइजीको एक पद खाली थियो । त्यसमा आकांक्षीहरु धेरै भएपछि बढुवा रोकिएको थियो । बढुवाका लागि गणेश केसी एक नम्बरमा भए पनि अन्यले पनि राजनीतिक लबिङ थालेपछि बढुवा प्रक्रिया नै रोकिएको थियो ।

चार दिन पछि डिआइजीहरु हेमन्त मल्ल र केशव अधिकारीले पनि पाँच वर्षे पदावधिका कारण अवकाश पाउँदै छन् । त्यसपछि तीन जना डिआइजी पद रिक्त हुनेछन् । रिक्त हुने पदहरुमा केसी, भण्डारी र भट्टराईलाई डिआईजी बढुवा गर्न सिफारिस गरिएको हो ।

यदि बढुवाका लागि केही दिन ढिला गरेको भए गणेश केसीसहित चार जना एसएसपीले ६ वर्षे पदावधिका कारण आगामी १५ गते अवकाश पाउँदै थिए ।

बढुवाको लागि सिफारिस भएको १५ दिनभित्र तीनै जनाले डिआइजीको फुली लगाउने छन् । बढुवा सिफारिसमा परेका तिनै जना एउटै ब्याजका हुन् ।

लब विष्ट बाहिरिए

एसएसपी रमेश भट्टराइलाई ल्याउनकै लागि लामो समयदेखि बढुवामा आइजीपी अर्याल र गृहमन्त्री बिमलेन्द्र निधिबीच कुरा मिलेको थिएन । एसएसपी भट्टराई गृहमन्त्री निकट मानिन्छन् ।

बढुवाकै दौडमा रहेका लब विष्ट भने बाहिरिएका छन् । डिआइजी बढुवाका लागि एसएसपी सर्वेन्द्र खनाल पनि प्रतिस्पर्धामा थिए । तर उनलाई मात्रै बढुवा दिँदा अर्का एसएसपी रमेश खरेललाई समेत ल्याउनु पर्ने भएपछि पछिल्लो ब्याजलाई नछोएको स्रोतको भनाइ छ ।

अनलाइनखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF