हरेक परिवारलाई एक लाखको शेयर दिने ऊर्जा मन्त्रीको घोषणा

 आवाज संवाददाता     २ पुष २०७३, शनिबार

उर्जामन्त्री जनार्दन शर्माले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत भ्रमण गरेका छन् । ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित आयोजना पुगेका मन्त्री शर्माले आयोजनाको कामको स्थलगत रुपमा निरीक्षण गरेका हुन् ।
यसैवीच, उर्जामन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत जलविद्युत आयोजनाहरुमा हरेक घर परिवारलाई कम्तीमा एक लाख शेयर दिइने बताए । नेकपा माओवादी केन्द्रले सदरमुकाम चरिकोटमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा एक लाख रुपैयाँ बराबरको शेयर लगानी गर्ने कार्यविधि तयार भइरहेको जानकारी दिए ।
एक लाख रुपिँया एकै पटक चुक्ता गर्न नसक्नेहरुका लागि प्रतिवर्ष २० हजारको दरले पाँच बर्षमा भुक्तान गर्न सकिने गरी नीति बनाउन लागिएको उनले बताए । नेपालको पानी जनताको लगानी अन्र्तगत ठूला जलविद्युत आयोजनाहरुमा ३० प्रतिशत जनताको शेयर रहने नीति बन्ने र त्यसमा सबै नेपालीलाई सहभागिताका लागि आव्हान गरिने उनको भनाई छ ।
उर्जामन्त्री जनार्दन शर्मा लाई दोलखामा नागरिक अभिनन्दन गरिएको छ । नागरिक समाज सिँगटीले मन्त्री शर्मालाई आज सिँगटी बजारमा एक कार्यक्रमका वीच नागरिक अभिनन्दन गरेको हो । मन्त्री पद सम्हाल्ना साथ राजधानी काठमाण्डौंलाई लोडसेडिङ् मुक्त बनाएको भन्दै शर्मालाई नागरिक समाज सिँगटीका सँयोजक कृष्णवहादुर उप्रेति सहितका नागरिक अगुवा र बजारवासीले सम्मान गरेका हुन् ।
नागरिक समाजले उर्जा सचिव अनुपकुमार उपाध्याय र बिद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई पनि सम्मान पत्र प्रदान गरेको छ । सिँगटी बजार र उत्तरी क्षेत्रका बासिन्दाले माथिल्लो तामाकोसी आयोजनामा प्रभावित क्षेत्रका बासिन्दालाई बिशेष सेयरको व्यवस्था गर्न, सामाजिक विकासको बजेटलाई पारदर्शि रुपमा खर्च हुने व्यवस्था मिलाउन र जिल्लाका अन्य जलविद्युतआयोजनाहरुलाई समेत चाँडो निर्माणको वातावरण बनाउन मन्त्री शर्मालाई आग्रह गरेका छन् ।
शुक्रबार साँझ आयोजनास्थल लामाबगर पुगेका मन्त्री टोलीले शनिबार विहान आयोजनाको बाँधस्थल, प्रसारण लाइन, सुरुङ, विद्युत गृह लगायतका संरचनाको निरीक्षण गरे । आयोजनाको कामको गति अझ बढाउँदै समयमै आयोजना पूरा गर्न कर्मचारीलाई निर्देशन दिए । आयोजनाको स्थलगत निरीक्षणपछि आयोजनाको व्यवस्थापन पक्ष, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिहरुसँग छुट्टै छलफल समेत गरे ।
आयोजना लामाबगरमा निर्माणाधिन छ । ४५६ मेगावाट क्षमताको आयोजना हालसम्म निर्माणाधिन आयोजना मध्ये सबैभन्दा ठूलो आयोजना हो । आयोजना स्वदेशी लगानीमा निर्माणाधिन छ । आयोजनाको हालसम्म ८३ प्रतिशत भौतिक संरचनाको काम पूरा भएको छ ।
आयोजनाको सुरुको लगानी निर्माण अवधीको व्याज बाहेक ३५ अर्ब २९ करोड लागत अनुमान गरे तापनि अन्र्तराष्ट्रिय बजारमा डलरको मजबुती, बजार मूल्यमा भएको वृद्धि, भुकम्प र नाकाबन्दीले पारेको असर लगायतका कारण करिब १० अर्ब रुपैया बढ्न सक्ने आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । आयोजनामा हालसम्म साँढे ३१ अर्ब खर्च भएको छ ।
भौतिक संरचनाहरुको स्थलगत निरिक्षण गरी आयोजनाको काम छिटो, छरितो र पारदर्शि रुपमा सम्पन्न गर्न मन्त्री शर्माले निर्देशन दिए । मन्त्री शर्माले आयोजनाकै ७३ लाख १९ हजार लागतमा गोँगरमा निर्माण भएको लामावगर स्वास्थ्य चौकी भवनको पनि उद्घाटन गरे ।

आयोजना प्रमुखलाई ३ दिन भित्र स्पष्ट कार्यतालिका दिन निर्देशन

आयोजनाको स्थलगत निरीक्षणपछि मन्त्री शर्माले आयोजना प्रमुखलाई आयोजनाको स्पष्ट कार्यतालिका ३ दिनभित्र पेश गर्न निर्देशन दिएका छन् । आयोजना प्रमुख सहित परामर्शदाता र ठेकेदार सहित उपस्थित छलफल कार्यक्रममा आयोजनाको कुन काम कहिलेसम्म पूरा हुने हो स्पष्ट तालिका पेश गर्न भने ।
अन्र्तक्रिया कार्यक्रममा आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, परामर्शदाता र ठेकेदार कम्पनीले प्रस्तुत गरेको कार्यतालिका एक अर्कामा बाझिएपछि मन्त्री शर्माले स्पष्ट कार्यतालिका पेश गर्न निर्देशन दिएका हुन् । आयोजना प्रमुख श्रेष्ठले सन २०१८ को जुलाई अर्थात् २०७५ असारमसान्तसम्ममा सम्पन्न हुने बताए ।
छलफलमा उपस्थित छलफलको क्रममा परामर्शदाता कम्पनीका प्रतिनिधिले आयोजनाको निर्माण सक्न अझै ३ वर्ष लाग्ने बताए भने सिभिल वर्कका प्रतिनिधिले सन् २०१९ को मार्चमा मात्र आयोजनाको काम सकिने बताएको छलफलमा सहभागी एक कर्मचारीले बताए । “यो के भएको हो, तपाईहरु राम्रोसँग छलफल गर्नुस र मलाई तीन दिनभित्र रिपोर्ट दिनुस् ।” मन्त्री शर्माले प्रश्न गर्दै भने “आयोजनाको लक्ष्य गलत भयो कि, तपाईहरुको रिपोर्ट गलत भयो, यो अन्यौल तत्काल अन्त्य गर्नुस ।” छलफलका क्रममा सरकारको तर्फबाट गर्न सकिने काम तत्काल गरिदिने भन्दै निर्माणको कामलाई तीब्रता दिन आग्रह गरे ।
छलफलपछि मन्त्री शर्मा माओवादी पार्टी कार्यकर्ता प्रशिक्षणका लागि लगत्तै फर्के पछि ऊर्जा सचिव उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने थप छलफल गर्दै ३ घण्टापछि मात्र फर्केका थिए । आयोजनाको प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीका अध्यक्ष समेत रहेका कार्यकारी निर्देशक सहितको टोलीले मन्त्रीको निर्देशन बमोजिम स्पष्ट कार्यतालिकाको गृहकार्य समेत गरेको आयोजनाका एक अधिकारीले जानकारी दिए ।
आयोजनाको काम चार लटमा भइरहेको छ । आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकलमा टेक्सम्याको इण्डिया लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले काम गरिरहेका छन् । त्यसैगरी आयोजनाको परामर्शदाताको रुपमा नर्वेको नरकन्सल्ट र जर्मनीको ल्याह्मेरको जेभी रहेको छ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले छलफलका क्रममा प्रस्तुतीकरणमा फरक जस्तो भए तापनि आयोजना पूरा हुने अन्तिम लक्ष्य २०७५ असार मसान्त नै रहेको बताए । लक्ष्य अनुसार सकेसम्म अगाडी नै आयोजनाको काम पूरा गराउन कामलाई तिव्रता दिइएको बताए ।
डेढ महिना अघि प्रधानमन्त्री पुष्पकमल दाहालले समेत आयोजनाको स्थलगत निरीक्षण गरेका थिए । त्यस बेला प्रधानमन्त्री दाहालले आयोजनाको काम निर्धारित समयभन्दा ६ महिना अघि पूरा गरे सबै कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।