कालिन्चोकमा शिक्षा पत्रकारिता पुरस्कार कोषको स्थापना

 आवाज संवाददाता     २ पुष २०७३, शनिबार

 

दोलखा, पुस २/कालिन्चोक माविमा अध्यापन गर्दै गर्दा दिवंगत भएका शिक्षक अमरबहादुर थापाको स्मृतिमा अमरबहादुर थापा स्मृति शिक्षा पत्रकारिता पुरस्कार कोषको स्थापना गरिएको छ ।
कालिन्चोक माविको ४६ औँ वार्षिक दिवसको अवसरमा आयोजित समारोहमा आज कोषको स्थापना गरिएको हो । पुरस्कारका लागि अक्षय कोष स्थापनार्थ स्वर्गीय थापाकी धर्मपत्नी अलैँची थापाले ५० हजार रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेलाई हस्तान्तरण गरिन् । कोषबाट वार्षिक रुपमा शिक्षा क्षेत्रमा उत्कृष्ठ कलम चलाउने एकजना पत्रकारलाई ५ हजार राशिको पुरस्कार प्रदान गरिने कोषका संस्थापक मध्येका पत्रकार लक्ष्मण खड्काले जानकारी दिए । उनले आगामी वर्षबाट पुरस्कार छनोट समिति बनाई पुरस्कार प्रदान गरिने बताए । उनले सुरुमा ५ हजार राशिको पुरस्कार प्रदान गरिने र क्रमश वृद्धि गर्दै लगिने समेत जानकारी दिए ।

विद्यालयको वार्षिक दिवसका अवसरमा समारोहका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशिछवाले पुरस्कार कोष स्थापनाको सराहाना गरे । उनले शैक्षिक विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकको समान सहभागिता आवश्यक हुने बताए । सिकाइ उपलव्धि वृद्धिका लागि सबै पक्ष लाग्नुपर्ने उनको धारणा थियो ।
समारोहमा २०७२ सालको प्रवेशिका परीक्षामा विद्यालयबाट र जिल्लाबाट उत्कृष्ट अंकसहित उत्तीर्ण हुने दीक्षान्त दुलाललाई प्रधानाध्यापक पुरस्कारबाट सम्मान गरिएको थियो । त्यसैगरी वार्षिक दिवसको अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद कायक्र्रमका विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै विद्यालयलाई भूकम्पपछि अस्थायी सिकाइ कक्ष निर्माण, शैक्षिक सामग्री तथा स्वास्थ्य सामग्री सहयोग गर्ने गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।
समारोहमा कालिन्चोक माविबाट राष्ट्रिय सेवा दलमा तालिमरत विद्यार्थीहरुले सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमका उत्कृष्ट प्रतियोगीहरुले समेत नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयको वार्षिक दिवसका अवसरमा प्रधानाध्यापक नवराज न्यौपानेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कालिन्चोक अगुवा स्रोतकेन्द्रका स्रोतव्यक्ति राजेन्द्रलक्ष्मी शिवाकोटी, गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख सुनिल आचार्य, कालिन्चोक विद्यार्थी समाजका उपाध्यक्ष मुरारि दुलाल, बुढाभीमसेन माविका प्रधानाध्यापक राजन कार्की, विद्यार्थी रोशन थापा, सहायक प्रधानाध्यापक गणेशकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थपन समितिका अध्यक्ष कृष्णबहादुर गौतमको अध्यक्षतामा भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF