सुनकाेशीमा गाडी खस्दा मृत्यु हुनेको संख्या ७ पुग्यो (अपडेट)

 आवाज संवाददाता     ३ पुष २०७३, आईतवार

सिन्धुलीः सिन्धुलीको रत्नावती-३, घाटपाखाबाट स्कार्पियो जीप सुनकोसी नदीमा खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ। एक गम्भीर घाइते छन् भने एक बेपत्ता छन् ।

काठमाडौंबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको बा १२ च ८८९७ नम्बरको स्कार्पियो जीप आइतबार दिउँसो पौने तीन बजे मध्यपहाडी लोकमार्गबाट करिब दुई सय फिट तल सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशंकर पन्जियारले जानकारी दिए।

मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङ्गकट्टी ६ बस्ने ५० बर्षीय साङ्ग दोर्जे शेर्पा, सोही गाविस ७ बस्ने ५७ बर्षीय बाले शेर्पा, ५० बर्षीया निवुती शेर्पा र सर्किनी शेर्पा रहेका छन् ।

त्यस्तै जीपका चालक लमजुङ्ग सानीभज्याङका अन्दाजी ३५ बर्षीय झपटबहादुर गुरुङ्ग र काठमाडांै महानगरपालिका स्वयम्भू गोलढुंगा बस्ने ६० बर्षीय टुकुली शेर्पा रहेका छन् । अर्का अन्दाजी ४० बर्षीया पुरुषको भने सनाखत हुन नसकेको सिन्धुलीका प्रहरी प्रमुख एसपी पन्जियारले जानकारी दिए।

प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारको क्रममा घुर्मी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनाग्रस्त जीपमा सवार सिन्धुपाल्चोक फुल्पिङ्गकट्टी ६ बस्ने वर्ष ४५ को दानुर्ब शेर्पा बेपत्ता छन् । फुल्पिङ्गकट्टी ६ का ५० बर्षीय दाल्मु शेर्पा भने गम्भीर घाइते छन् । घाइते शेर्पाको उदयपुरस्थित घुर्मी अस्पतालमा उपचार भइराखेको छ । उनीहरु सबै खोटाङको हलेसी धामको तीर्थ हिँडेका थिए ।

प्रहरीले तिब्र गतिका कारण जीप दुर्घटना भएको अनुमान गरेको छ । स्कार्पियो जीप नदीमा बेपत्ता छ । दुर्घटना लगत्तै उद्धार हुन नसक्दा पानी खाएर धेरै यात्रुको मृत्यु भएको स्थानीयले बताएका छन् ।

अन्नपूर्ण पोष्टमा खबर छ

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।