एमालेको चुनाव केन्द्रित ४ महिने अभियानमा ११ टोली परिचालित

 आवाज संवाददाता     ३ पुष २०७३, आईतवार

दोलखा, पुस ३/नेकपा एमालेले संविधान कार्यान्वयनका लागि भन्दै ११ टोलीलाई गाउँ पठाएको छ । एमाले दोलखाले एक कार्यक्रम गरी आइतबार टोलीको विदाई गरेको हो ।
एमाले दोलखा अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार टोलीले गाउँगाउँमा पुगेर गाउँ कमिटी, वडा कमिटीको बैठक र अधिवेशन, पार्टी सदस्यता नवीकरण गर्ने छ । पार्टी केन्द्रीय नेताहरुको सहभागिता रहने हरेक टोलीले ११ इलाकाका लागि छुट्टाछुट्टै टोली बनाएको हो ।
टोलीले स्थानीय विकास निर्माणको अवलोकन र आर्थिक समृद्धिका बारेमा पनि अन्र्तक्रिया गर्ने उनले बताए । स्थानीय निर्वाचन लक्षित गरी सम्भावित उम्मेद्वार अन्तर्विरोधको बारेमा पनि छलफल हुने एमाले सचिव भरत दुलालले जानकारी दिए । उनले स्थानीयस्तरमा पुनर्निर्माणको अवस्था मतदाता नामावलीको अद्यावधिक र विश्लेषण समेत गर्ने बताए ।
सरकारले स्थानीय निर्वाचन घोषणा गरी हालेमा आफ्नो दलको उत्कृष्ट नतिजाका लागि पनि पार्टी सुदृढीकरण अभियान चलाएको उनले बताए । ४ महिने अभियानले एमालेमा नयाँ ऊर्जा थपिने उनले बताए ।
एमाले पोलिट्व्यूरो सदस्य पशुपति चौलागाईले संविधान कार्यान्वयनका लागि पार्टी केन्द्रदेखि नै अभियान सञ्चालन भएको बताए । अभियानले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनकै तयारी हुने उनले बताए । अभियानमा पुरानो सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र अन्य पार्टीबाट समेत एमाले प्रवेश गराउने योजना रहेको बताए ।
अभियान टोलीमा नेताहरु पशुपति चौलागाई, पार्वत गुरुङ, ईश्वरी रिजाल, शिव भण्डारी, रचना खड्का, आनन्दप्रसाद पोखरेल, लालकुमार केसी, ईश्वरचन्द्र पोखरेल प्रमुख अतिथिको रुपमा रहने छन् ।

अभियानमा एक दर्जन शिक्षक पनि परिचालन

एमालेले गाउँ अभियानमा एक दर्जन बढी बहालवाला शिक्षक समेत टोलीमा राखेर परिचालन गरेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वकै सरकारका पालामा संशोधन भएको शिक्षा ऐन २०२८ को आठौं संशोधनमा शिक्षकलाई राजनीतिक पार्टीको कार्यकारी पदमा बस्न रोक लगाए पनि एमाले दोलखाले भने त्यसको खिल्ली उडाउँदै शिक्षक प्रयोग गरेको हो ।
शिक्षा ऐन संशोधन भएपछि शिक्षकहरुले पार्टीका कुनै पनि पदमा नरहने गरी सामुहिक राजीनामाको घोषणा समेत गरेका थिए । तर तिनै शिक्षकहरु आइतबार पार्टी नेताबाट टीका लगाएर अभियानमा लागेका छन् । अभियान अनुगमन तथा समन्वय समितिमा शिक्षक शंकरलाल श्रेष्ठ छन् । त्यस्तै अभियान टोलीमा शुव शेर्पा, स्वयम्बहादुर खड्का, कुमार गुरुङ, आङपासाङ शेर्पा, कमल दाहाल, श्याम तमाङ, खिम्मक विक, जिवसराज खड्का, सञ्जिव खड्का, रामभरत तामाङ, ईश्वर न्यौपाने, गोमा केसी लगायत रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।